PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

क्वारेन्टाइन बसेकामा बिना लक्षण कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्यकर्मी त्रसित, ‘हामी असुरक्षित भयौँ’



प्रकाश भण्डारी

क्वारेन्टाइन बसेकामा बिना लक्षण कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्यकर्मी त्रसित, ‘हामी असुरक्षित भयौँ’

काठमाडौं : भारतबाट आएका रौतहटका एक १९ वर्षीय किशोरमा सोमवार कोरोना पोजिटिभ देखियो। कोरोनाको लक्षण नै नदेखिएका उनको रिपोर्ट भने पोजिटिभ आयो। संख्या थपिएसँगै धेरैमा कोरोनाको डर पनि थपियो।

सबैभन्दा धेरै डराए उनको रेखदेखमा खटिएका स्वास्थ्यकर्मी। उनलाई कोरोनाको लक्षण नदेखिएकोले रिपोर्ट पोजेटिभ आउला भन्ने कुनै आशंका गरेका थिएनन् उनीहरुले।

रौतहटको इशनाथ नगरपालिकाको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा २५ जना राखिएको छ। जसमध्येका एक संक्रमित हुन् भारतबाट आएका किशोर। उनी भारतको दिल्लीमा झोला कारखानमा काम गर्थे। भारतमा पनि लकडाउन भएपछि कारखाना बन्द भयो।

कारखाना बन्द भएपछि खान बस्नको ब्यवस्था भएन। त्यसैले उनीहरु नेपालको यात्रामा निस्के। हिँडेरै रौतहट आइपुगे। चैत १७ गते उनीसहित ३ जनालाई क्वारेन्टाइनमा राखियो।

६ जना स्वास्थ्यकर्मीलाई ३ जना राति र ३ जना दिउँसो गरी ड्युटीमा खटाइएको छ। उनीहरुमध्येका एक हुन् क्वारेन्टाइनका संयोजक इशरुजुल खान। चैत १३ गते क्वारेन्टाइन तयार पारेदेखि नै उनी खटिएका छन्।

खान इशनाथ नगरपालिकाको स्वास्थ्य शाखामा स्वास्थ्य संयोजकका रुपमा कार्यरत थिए। हरेक दिन भाइटल साइन लिने जिम्मा दिइएको छ स्वास्थ्यकर्मीहरुलाई। २५ जना क्वारेन्टाइनमा बसेकाको रेखदेखमा खटिएका ६ जनाको लागि क्वारेन्टाइनमा बस्ने व्यवस्था भने छैन। उनीहरु घरदेखि नै आउजाउ गरिरहेका छन्। घरमा भने छुट्टै बस्ने व्यवस्था मिलाइएको छ।

‘घरबाटै क्वारेन्टाइनमा आउने जाने हो। घरमै जानुपर्ने भएकाले एकदमै अप्ठ्यारो भइरहेको छ। घरमा छुट्टै बस्ने व्यवस्था गरेको छु,’ खानले भने।

खानले क्वारेन्टाइनमा बसेकामा कोरोना संक्रमण पुष्टि भएको सुन्ने बित्तिकै क्वारेन्टाइनमा खटिएकालाई सबैभन्दा धेरै डर लागेको बताए।

उनी असुरक्षित महसुस गर्दै भन्छन्, ‘अब त हामी हन्ड्रेड पर्सेन्ट असुरक्षित भयौँ नि।’

कोरोनाको लक्षण कसैलाई पनि नदेखिएकाले सबैको रिपोर्ट नेगेटिभ आउने आशावादी थिए, खान। क्वारेन्टाइनमा बसेका २४ जनाको नेगेटिभ रिपोर्ट आउँदा एक जनाको भने पोजिटिभ आयो।

खान संक्रमितको रेखदेखमा रात दिन खटिएकाले अहिले आफूलाई पनि कोरोनाको परीक्षण गर्नुपर्ला कि भन्ने मनस्थितिमा छन्। भन्छन्, ‘हामी पनि सुरक्षित भएनौँ। यो पिपिई पनि के कसो हो। त्यसैले विचार गर्दै छौं, हाम्रो पनि परीक्षण गर्नु पर्ने हो कि?’

उनका अनुसार स्वास्थ्यकर्मीलाई दिइएको सुरक्षा उपकरण भरपर्दो छैन। पिपिई भएपनि सबै सुरक्षा उपकरण नभएको खानको गुनासो छ। सरकारले क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीलाई पूर्ण रुपले सुरक्षित भएको महसुस गराउनुपर्ने उनको माग छ।

‘हामी त आफ्नो बालबच्चा केहि नभनी काम गरिरहेका छौँ। असुरक्षित भएर हामीलाई नै कोरोना लागिहाल्यो भने के होला? त्यसैले सबै सुरक्षाका उपकरण दिनुपर्छ,’ उनी भन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell