नयाँ वर्ष आउन लाग्दा बुद्धकृष्ण बाग श्रेष्ठ निकै व्यस्त हुन्थे। चैतको अन्तिम सातादेखि वैशाख २ गतेसम्म निराहार बस्थे। अन्न मुखमा राख्दैनन् थिए। पानीमात्रै पिउँथे। जिब्रोमा स्वाद बस्न नदिन र जिब्रोलाई नरम बनाउनु जो थियो।
नयाँ वर्षको भोलिपल्ट अर्थात वैशाख २ गते बोडेमा हुने 'मे प्वा खनिउ जात्रा' (जिब्रो छेड्ने जात्रा) का लागि तयारी थियो यो।
गत वर्ष सातौँ पटक जिब्रो छेडाएका श्रेष्ठले यसपटक पनि जिब्रो छेडाउने तयारीमा थिए।
पेशाले एम्बुलेसन चालक श्रेष्ठ। २० वर्ष हुन लाग्यो एम्बुलेन्स चलाउँदै बिरामीलाई अस्पताल पुर्याउँदै आएका। बोडेमा जात्रा हुँदा चाहिँ विदा लिन्थे।
तर यसपटक उनको एम्बुलेन्समा विदाको ब्रेक लागेन। ब्रेक लाग्यो त उनको आठौंपटक जिब्रो छेड्ने अठोटमा।
कोरोना भाइरसको संक्रमणको कारण देशभर लकडाउन गरिएसँगै बोडेको जिब्रो छेड्ने जात्रा पनि रोकियो।
लकडाउनले गर्दा जात्रा त रोकियो। तर श्रेष्ठको एम्बुलेन्स भने निरन्तर चलिरहेको छ। कोरिया मैत्री अस्पतालमा कार्यरत उनी दैनिक काममा गइरहेका छन्।
**
लकडाउन सुरु भएसँगै एम्बुलेन्स नपाएको, चालक आउन नमानेको, विरामी लिन जाँदा भागेको जस्तो समाचारहरु आइरहे। भक्तपुर एम्बुलेन्स चालक संघको संरक्षक समितिको अध्यक्षसमेत रहेका श्रेष्ठलाई भने यी समाचारले दु:खी बनायो।
'अहिले देशको सेवा गर्ने बेला हो। ज्वरो आएको, रुखाखोकी लागेको, सिकिस्त बिरामीहरु बोक्न एम्बुलेन्स चालकहरु नमानेको सुन्दा दुख लाग्छ।' बुद्धकृष्णले भने।
त्यसैले लकडाउन सुरु भएको केही समय पछाडी नै उनले घोषणा गरे, 'जिब्रो नछेड्ने - एम्बुलेन्स चलाउने।'
कसैलाई कोरोनाको लक्षण देखिएमा र एम्बुलेन्स नआएमा आफूलाई सम्पर्क गर्न भन्दै उनले सामाजिक संजाल र संचारमाध्यमबाट आग्रह पनि गरे। लक्षण देखिएका भनिएको केही विरामीलाई पाटन अस्पताल समेत पुर्याए।
'रुघाखोकी लाग्दैमा, ज्वरो हुँदैमा कोरोना लाग्ने होइन। यो सबैले बुझ्नुपर्छ। हामी एम्बुलेन्स चालकले पनि। आफू सुरक्षित हुँदै यो देशको सेवा गर्ने समय हो,' श्रेष्ठले भने।
सुरुसुरुमा त बिरामी बोक्दा डर पनि लाग्यो। को बिरामी कस्तो, एम्बुलेन्स चलाउनेलाई थाहा हुने कुरा पनि भएन। तर पनि एम्बुलेन्स रोकेनन्।
त्यही एम्बुलेन्स चलाउँदै गत साता उनी कीर्तिपुरस्थित राष्ट्रिय आविस्कार केन्द्र पुगे। महावीर पुनले उपत्यकाका एम्बुलेन्स चालकलाई एक थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहयोग गरेका थिए। एम्बुलेन्स चालकहरुको सुरक्षाको चिन्तामा रहेका उनले कीर्तिपुर पुगेर भने,' एम्बुलेन्स चालकहरुसँग पीपीई सेट नहुँदा धेरै समस्या थियो। सबै संस्थाहरुले पीपीई दिन सकिरहेका थिएनन्। यसबाट चालकहरुलाई काम गर्ने वातावरण बन्छ।'
कीर्तिपुर पुगेर पीपीई लगाएर फर्किए उनी। केही विरामीको उद्धार गर्दै अस्पताल पनि पुर्याए।
महावीर पुनलाई पीपीई दिएको धन्यवाद दिँदै उनले भने, 'लकडाउनको समयमा काम गर्न निकै गाह्रो छ। अरु गाडी चल्दैन। फोन आउने बित्तिकै कुद्नुपर्छ। अस्पतालले पीपीई मास्क दिएको छ। एम्बुलेन्स चालकहरुको सुरक्षाको बारेमा ध्यान दिन आवश्यक छ।'
**
बोडेको लाकुछेंका नकर्मीहरु सयौं वर्षदेखि जात्राका लागि फलामे नटुचा (मुलु-सुइरो) बनाउँदै आइरहेका छन्। यो वर्षका लागि पनि ११ इन्चको नटुचा तयार अवस्थामा छ। स्थानीय धर्मलाल नकर्मीको घरमा खाने तेलमा डुबाएर राखिएको छ फलामको नटुचा।
सबै ठीक भएको भए आज त्यही नटुचा बुद्धकृष्णको जिब्रोमा छेडिएको हुन्थ्यो। विगत २५ वर्षदेखि जात्राका लागि नटुचा बनाउँदै आएका उनी यो पेशा बाजेबुबाहरुको पालादेखि नै आफ्नो परिवारले गर्दै आएको बताउँछन्। तर कोरोनाको कहरका कारण जात्रा सुरु भएयता सम्भवत पहिलोपटक बोडेमा जिब्रो नछेडिएको स्थानीय बताउँछन्।
२०६२ सालदेखि लगातार चारपटक उनैले जिब्रो छेडाएका बुद्धकृष्णले। तर २०६५ सालमा आमाको निधन भएकोले जिब्रो छेड्न सकेनन्। २०६६ मा बोडे विष्णुघाटका जुजुभाइ बाँस श्रेष्ठ जिब्रो छेडाउन तयार भए। त्यसपछि लगातार आठ वर्ष जिब्रो उनैले छेडाए। तर जुजुभाइपछि जिब्रो छेडाउन नयाँ कोही अगाडि आएनन्। तयसयता बुद्धकृष्णले नै बोडेको परम्परा धान्दै आएका थिए।
बोडेका केही स्थानीय यसपटक भव्य रुपमा मनाउन नमनाए पनि जिब्रो छेड्ने पक्षमा देखिए। तर जिब्रो छेड्ने भनेपछि मान्छेहरुको भीड हुने भन्दै जात्रा स्थगित गरिएको बुद्धकृष्णले बताए।
भने, 'अवस्थाको गम्भीरतालाई बुझेर अहिले जात्रापर्वलाई अत्यावश्यक पूजामा सीमित राख्ने निर्णय गर्यौं।'
उनले यसो भनिरहँदा यसपटक जात्राका लागि बनाइएको सुइरो तेलमा डुबिरह्यो। श्रेष्ठ भने एम्बुलेन्सको स्टेरिङ सम्हाल्दै थिए।
बोडेको जात्रा हेर्ने मानिसको संख्या बढ्दै गएको भन्दै उनले गत वर्ष पहिलाभन्दा केही 'प्रेसर' बढी भएको सुनाएका थिए। आफूलाई जिब्रो छेड्दा कति दुखेको छ भन्ने बारेमा आफूलाई मात्रै थाहा हुने भन्दै उनले जात्रा हेर्न आउनेहरुका अगाडि पीडा व्यक्त गर्न जायज नहुने बताएका थिए।
यसपटक परिस्थिति फेरिएको छ। उनलाई जात्राको भन्दा बिरामीहरुले एम्बुलेन्स नपाएर ज्यान गुमाउँलान् कि भन्ने चिन्ता छ। र अवस्थाको मूल्यांकन गर्दै एम्बुलेन्स चलाउने प्रेसर पनि। यद्यपि, आधा जीवन एम्बुलेन्स चलाउँदै बिताएका उनी कोरोनाको त्रासबीच अभावको पीडा सबैलाई व्यक्ति गर्दै हिँड्ने पक्षमा छैनन् उनी।
भन्छन्,'देश र जनता रहे फेरि जिब्रो छेडौंला। देश र जनता नरहे जिब्रो छेडेको के अर्थ लाग्यो र। अहिले विरामीहरुको सेवा नै गर्ने हो। कोरोनालाई मिलेर हराउने हो। सबैजना घर भित्रै बसिदिनु होला। अस्पताल जानु परे फोन गर्नुस्।'