PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

धादिङमा र्‍यापिड टेस्टबाट एक युवामा देखियो कोरोना पोजिटिभ, कोरियाबाट फर्केपछि मानेका थिएनन् परीक्षण गर्न



फूलमाया पुरी

धादिङमा र्‍यापिड टेस्टबाट एक युवामा देखियो कोरोना पोजिटिभ, कोरियाबाट फर्केपछि मानेका थिएनन् परीक्षण गर्न

काठमाडौं: धादिङको ज्वालामुखी गाउँपालिका ३ का एक २७ वर्षीय युवामा र्‍यापिड टेस्टका क्रममा कोरोना भाइरस संक्रमण देखिएको छ।गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत तार्केश्वर पटेलले संक्रमण देखिएको पुष्टि गरे।

पटेलका अनुसार ती युवा फागुन २० गते दक्षिण कोरियाबाट फर्किएका थिए। स्थानीय सुरक्षाकर्मीले स्वास्थ्य परीक्षण गराउन सुझाव दिए पनि आफूमा कुनै समस्या नभएको भन्दै घरमै बसेका थिए।

दक्षिण कोरियाबाट फर्किएको एक महिना दश दिनपछि आज गाउँपालिकाले कोरोना भाइरसको परीक्षणका लागि गरेको र्‍यापिड टेस्टबाट उनको परीक्षण भएको हो। वडाध्यक्षले जँचाउन आग्रह गरेपछि ती युवा स्वास्थ्य चौकी पुगेका थिए।

‘हामीले भारतबाट आएका ७ र हेटौँडाबाट आएका दुई र उनी समेत गरी जम्मा दश जनाको परीक्षण गरेका थियौँ। त्यसमध्ये एकमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो,’ पटेलले भने।

गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनको स्वाब काठमाडौंस्थित टेकु अस्पताल पठाएको छ। ती युवालाई जिल्लास्थित आइसोलेसनमा राख्ने तयारी भइरहेको पनि पटेलले जानकारी दिए।

कोरोनाको लक्षण नदेखिएका ती युवालाई जिल्लासम्म लैजान एम्बुलेन्स चालकले नमानेको उनले बताए।

‘सुरक्षित उपकरण नभएको भन्दै स्वास्थ्य चौकीका एम्बुलेन्स चालकले मानेका छैनन्,’ उनले भने।

पूर्ण रुपमा सुरक्षित भए जान्छु नत्र जान्न भनेकाले अर्को एम्बुलेन्सको तयारी गरिरहेको पटेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell