PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

यी हुन् कोरोनाको नमूना परीक्षण गर्ने देशभरका १३ वटा प्रयोगशाला : कुन प्रदेशमा कहाँ?



कमलराज भट्ट

यी हुन् कोरोनाको नमूना परीक्षण गर्ने देशभरका १३ वटा प्रयोगशाला : कुन प्रदेशमा कहाँ?

काठमाडौं : सरकारले कोरोना भाइरसको पिसीआर विधिबाट नमूना परीक्षणका लागि देशभरका १३ वटा प्रयोगशाला सञ्चालनमा ल्याएको छ। ५५ जिल्लामा र्‍यापिड डायग्नोस्टिक किट टेस्टबाहेक देशका १३ ल्याबबाट नमूना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमवार सार्वजनिक गरेको 'कोभिड १९ सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य' प्रतिवेदनमा ७ वटै प्रदेशमा १३ वटा प्रयोगशाला सञ्चालनमा आएको जानकारी दिएको छ।

प्रतिवेदनअनुसार उपत्यकामा टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालमा नमूना परीक्षण भइरहेको छ।

उपत्यकामा पाटन अस्पताल, शसस्त्र प्रहरी बल अस्पताल, टेकु अस्पतालमा कोरोना देखिएका विरामीको उपचार भइरहेको छ।

त्यसैगरी उपत्यकाबाहिर १० वटा प्रयोगशाला सञ्चालनमा छन्। प्रदेश १ मा दुई प्रयोगशाला सञ्चालनमा छन्। यहाँ कोशी अस्पताल विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको नमूना परीक्षण भइरहेको छ।

प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा प्रयोगशाला सञ्चालनमा आएको छ। यहाँको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा विरामीको उपचार भइरहेको छ।

प्रदेश ३ मा कुल ६ वटा प्रयोगशाला सञ्चालनमा छन्। काठमाडौं उपत्यकाका तीन वटाबाहेक प्रदेश राजधानी हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, काभ्रेको धुलिखेल अस्पताल, चितवनको कोभिड १९ डायग्नोस्टिक प्रयोगशाला, भरतपुर सञ्चालनमा छन्।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना परीक्षण भइरहेको छ। यहाँ धौलागिरी अस्पतालमा विरामीको उपचार भइरहेको छ। यहाँ २ जना संक्रमित छन्।

प्रदेश ५ मा राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाको ल्याबबाट नमूना परीक्षणको व्यवस्था गरिएको छ।

कर्णाली प्रदेशमा प्रादेशिक अस्पताल सुर्खेतबाट नमूना परीक्षणको प्रबन्ध मिलाइएको छ। दैलेख अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ।

सुदूरपश्चिम प्रदेशमा भने धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा परीक्षण भइरहेको छ। यहाँ हालसम्म ५ जना संक्रमित देखिएका छन्।यहाँको महाकाली अञ्चल अस्पतालमा विरामीको उपचार गर्ने व्यवस्था मिलाइएको छ।

क्वारेन्टाइन कुन प्रदेशमा कति? २ नम्बर प्रदेशमा छैन एउटै पीपीई

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर २९ हजार ८ सय २० वेडसंख्याको क्वारेन्टाइन सञ्चालनमा छन्। प्रदेश एक मा ४ हजार १७९, प्रदेश दुईमा ३ हजार ३९०, बागमती प्रदेशमा ४ हजार ४१५, गण्डकी प्रदेशमा ४ हजार ६५, प्रदेश पाँचमा ६ हजार २४३, कर्णाली प्रदेशमा २ हजार ८७९, सुदूरपश्चिम प्रदेशमा ४ हजार ६४९ वेड क्षमताको क्वारेन्टाइन छन्। जसमा चैत ३० सम्म कुल ७ हजार १६६ जना बसेका छन्।

सोमवारसम्मको तथ्यांकअनुसार देशभर साढे ५ हजार भन्दा बढीको ल्याब परीक्षण र ५५ जिल्लामा ५ हजार २ सय ९१ जनाको आरडीटी परीक्षण गरिएकोमा प्रदेश २ मा आवश्यक पीपीई सामग्री शून्य छ। स्वास्थ्य मन्त्रालयको प्रतिवेदनमा पीपीई सेट प्रदेश १ मा ६९, प्रदेश २ मा शून्य मौज्दात रहेको देखाइएको छ। त्यसैगरी वाग्मती प्रदेशमा १ हजार ७४, गण्डकी प्रदेशमा ४ सय, प्रदेश ५ मा १७४, कर्णाली प्रदेशमा ५० र सुदूरपश्चिम प्रदेशमा ४ सय ९४ सेट मौज्दात छ।

कोरोना भाइरस संक्रमणको जोखिमका हिसाबले सम्वेदनशील एवं भारतसँग घनिष्ठ सम्बन्ध रहेको प्रदेश २ पछिल्लो समय ४ जना संक्रमित फेला परेका छन्। यस्तो बेला यस प्रदेशमा पीपीई सेट नै छैन।

प्रतिवेदनमा चैत ३० सम्मको परीक्षणमा पीसीआर विधिबाट २ हजार ४०२ को रिपोर्ट नेगेटिभ आएको छ। त्यसैगरी आरडीटीमा ५ हजार २ सय ८७ नै नेगेटिभ देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell