PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कोभिड-१९ को पछिल्ला घटनाक्रम : विश्वभर १ लाख २६ हजार बढीको मृत्यु, लकडाउन फुकुवा गर्दै युरोपेली देशहरु



पहिलोपोस्ट

कोभिड-१९ को पछिल्ला घटनाक्रम : विश्वभर १ लाख २६ हजार बढीको मृत्यु, लकडाउन फुकुवा गर्दै युरोपेली देशहरु

काठमाडौं : कोरोना भाइरस डिजिज (कोभिड-१९)को प्रभाव विश्वका करिब १८५ देशमा फैलिएका छन्। पान्डेमिकको रुपमा देखिएको कोभिड-१९ का कारण विश्वभर नै विभिन्न क्षेत्र प्रभावित भएका छन्।

यस्ता छन् कोभिड-१९ को विकसित मुख्य घटनाक्रम :

विश्वभर १ लाख २६ हजार बढीको मृत्यु

जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार हालसम्म कोभिड-१९ बाट विश्वभर १९ लाख ८० हजार ३ जना मानिस संक्रमित भएका छन्, जसमध्ये १ लाख २६ हजार ५३९ जनाको मृत्यु भएको छ।

युनिभर्सिटीले आधिकारिक तथ्यांक र मिडिया रिपोर्टको आधारमा संख्या निर्धारण गर्ने गरेको छ। केही देशहरुबाट फरकफरक संख्या रिपोर्ट गरिएकाले यो तथ्यांक वास्तविक भन्दा केही फरक हुनसक्छ।

डब्लुएचओको फन्ड रोक्न ट्रम्पले दिए निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिइने अनुदान रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन्।

डब्लुएचओले बेलैमा कोरोना भाइरस पान्डेमिकको बारेमा सचेत नगराएको आरोप ट्रम्पले लगाउँदै आएका थिए। उनले मंगलवार डब्लुएचओले डाटा लुकाउने कार्यमा चीनलाई सहयोग गरेको आरोप लगाउँदै अनुदान रोक्न निर्देशन दिएको बताएका हुन्।

फ्रान्सद्वारा चिनियाँ दूतसँग स्पष्टीकरण माग

कोरोना भाइरस संकटको व्यवस्थापन बारे आलोचना गरेपछि फ्रान्सका परराष्ट्रमन्त्री जिन-यभेस ले ड्रियनले चिनियाँ दूतसँग स्पष्टीकरण माग गरेका छन्। दूतावासले आफ्नो वेबसाइटमा पश्चिमी राष्ट्रको कोरोना भाइरस संकटको व्यवस्थापन बारे आलोचना गर्दै आर्टिकल प्रकाशन गरेपछि मन्त्रीले यस्तो माग गरेका हुन्।

क्यानडामा अझै केही हप्ता लकडाउन

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लकडाउन अझै केही हप्ता लम्बिने बताएका छन्। क्यानडामा संक्रमण बढ्दै गइरहेका बेला उनले यस्तो बताएका हुन्।

‘अर्थतन्त्र जारी राख्नु महत्वपूर्ण कुरा हो तर पनि कोरोनाको खोप पत्ता नलाग्दासम्म हामी सतर्क रहनु पर्छ,’ उनले भने।

विश्वव्यापी एयरलाइन्स राजस्व आधाले गिरावट

यो वर्ष विश्वव्यापी एयरलाइन्स राजस्व आधा भन्दा बढीले गिरावट आउने बताइएको छ। एयरलाइन्सको अवस्था नाजुक बन्दै गएको अवस्थामा राजस्वमा करिब ३१४ बिलियन डलरले गिरावट आउने बताइएको छ।

बेलायतमा मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो

बेलायतमा मंगलवार ७७८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कुल संख्या १२ हजार १०७ पुगेको त्यहाँको स्वास्थ्य सेवा विभागले जनाएको छ।

अस्पताल बाहेकका हेरचाह केन्द्रमा मृत्यु भएकाहरुको तथ्यांक आइनसकेकोले यो संख्या बढ्न सक्ने बताइएको छ।

लकडाउन फुकुवा गर्न युरोपेली देशहरुको पहिलो कदम

इटाली, स्पेन र अस्ट्रियाले आंशिक रुपमा उद्योग व्यवसाय खोलेका छन्। युरोपमा नयाँ संक्रमितको संख्या घट्न थालेपछि उद्योग व्यवसाय आंशिक रुपमा खोल्न थालिएको हो। लकडाउनका कारण शिथिल बनेको अर्थतन्त्र पुनर्जीवित पार्न यस्तो गरिएको बताइएको छ।

भारतमा ३३९ जनाको मृत्यु

भारतमा कोरोना भाइरसका कारण मंगलवार ३१ जनाको मृत्यु भएसँगै कुल संख्या ३३९ पुगेको छ। त्यहाँ मंगलवार १ हजार २११ नयाँ संक्रमित देखिएका थिए। हालसम्म भारतमा १० हजार ३६३ जनामा संक्रमण देखिएको छ।

नेपालमा ६ हजार २९९ मा गरियो परीक्षण

नेपालमा हालसम्म ६ हजार ३९९ जनामा कोरोना भाइरसको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १६ जनामा कोरोना पोजिटिभ देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell