PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पूर्वप्रधानमन्त्री भट्टराईले गरे प्रत्यक्ष निर्वाचित राष्ट्रपति र जनलोकपालको माग



पहिलोपोस्ट

पूर्वप्रधानमन्त्री भट्टराईले गरे प्रत्यक्ष निर्वाचित राष्ट्रपति र जनलोकपालको माग
फाइल फोटो।

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले जनलोकपालको माग गरेका छन्।

भट्टराईले समस्या उठाएर मात्र आफू पानीमाथिको ओभानो बन्न नमिल्ने धारणा राख्दै समस्या समाधानका लागि ४ सुझाव समेत दिएका छन्।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, जनलोकपाल र चुनावी खर्च राज्यद्वारा तिर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

उनले ट्विट गर्दै भनेका छन्, ‘समाधानका निम्ति मैले निरन्तर उठाएका यी चार कुरा पूरा गरौं-१. प्रत्यक्ष निर्वाचित राष्ट्रपति; २. पूर्ण समानुपातिक संसद; ३. जनलोकपाल; ४. चुनावी खर्च राज्यद्वारा। यो नमरेसम्म भनिरहन्छु! जो विचार!’

 

भट्टराईले संसदमा पनि बेलाबेलामा प्रधानमन्त्री तथा प्रधानन्यायाधीशको सम्पत्ति छानबिनका लागि जनलोकपाल आवश्यक भएको तर्क गर्ने गरेका छन्।

बाबुराम भट्टराईको ट्विटमा धेरैले प्रतिकृया दिएका छन्। कतिले उनको मागको समर्थन गरेका छन्, भने केहीले विरोध पनि गरेका छन्।

निर्मल त्रिपाठीले भट्टराईलाई व्यंग्यात्मक रुपमा ४ प्रश्न सोधेका छन्।

त्रिपाठीले लेखेका छन्, ‘१) प्रत्यक्ष राष्ट्रपति ट्रम्पजस्तै महामुर्ख छान्न हो? २) पूर्ण समानुपातिक प्रत्यक्षमा सिट जित्ने ठाउँ नदेखेर हो? ३) जनलोकपाल आम आद्मी पार्टि जस्तो बन्न सकिएला कि भन्ने अन्तिम प्रयास? ४) हिसिला म्याडमको पैसा जोगाएर अब राज्यकै पैसाले चुनाव लड्ने त अब डा. साव?’

 

यस्तै मदन ढुंगानाले भट्टराईको माग सान्दर्भिक नभएको उल्लेख गरेका छन्।

‘हैन सरकारमा हुँदा अनि प्रधानमन्त्री हुँदा चाहि यो देशका नेताका दिमागमा केहि हुदैन कि के हो? देश संकटमा छ थाहा होला नि डाक्टर सा'ब। बेला न कुबेला यस्ता कुरा किन आउछ?’, ढुगांनाले भट्टराईलाई प्रतिकृया दिँदै लेखेका छन्।

 

श्याम दाहालले भने भट्टराईको मागमा समर्थन जनाएका छन्। उनले भट्टराईको मागमा आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell