PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

लक्षणबिनाका संक्रमितको पहिचान गर्न इपिडिमियोलोजिकल सर्वे गर्दै चीन, मंगलवार ३६ ‘इम्पोर्टेड केस’सहित ४६ जनामा संक्रमण



विधुर ढकाल

लक्षणबिनाका संक्रमितको पहिचान गर्न इपिडिमियोलोजिकल सर्वे गर्दै चीन, मंगलवार ३६ ‘इम्पोर्टेड केस’सहित ४६ जनामा संक्रमण
Photo: chinadaily.com.cn

मुख्यभूमि चीनमा मंगलवार कोभिड-१९ का ४६ जना संक्रमित फेला परे। जसमध्ये ३६ वटा ‘इम्पोर्टेड केस’ हुन्। चीनको जनस्वास्थ्य आयोगका अनुसार यसबीच ५७ जना लक्षण नदेखिएका कोभिड-१९ का शंकास्पद बिरामीहरु दर्ता भएका छन्

योसँगै चीनमा ८२ हजार दुई सय ९५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जसमध्ये तीन हजार तीन सय ४२ जनाको मृत्यु हुनुका साथै ७७ हजार आठ सय १६ जना उपचारपछि डिस्चार्ज भएका छन्।

चीनमा संक्रमण नियन्त्रण तर्फ जाँदै गर्दा रुससँग सीमा जोडिएको पूर्वोत्तर क्षेत्रमा स्थानीय संक्रमण देखिएसँगै चिन्ता थपिएको छ। पूर्वोत्तर प्रान्त हइलोङचियाङमा मंगलवार मात्र ८ स्थानीय संक्रमण देखिएका छन्। त्यस्तै यहाँ १४ इम्पोर्टेड केस दर्ता भएकोमा १२ जना रुसबाट आएका हुन्। त्यस्तै एक जना इटाली र एक जना जापानबाट आएका व्यक्तिमा संक्रमण देखिएको छ।

बुधवार दर्ता भएका केसमध्ये सांघाइमा ४ वटा इम्पोर्टेड केस पनि छन्। उनीहरु रुसबाट आएको बताइएको छ। योसँगै सांघाइमा २८३ वटा इम्पोर्टेड केस दर्ता भएका छन् भने उनीहरुको नजिकको सम्पर्कमा रहेका ७६ जनालाई पनि क्वारेन्टाइनमा राखिएको स्थानीय अधिकारीहरुले जनाए।

संक्रमण रोकिने क्रममा रहेको अवस्थामा रुससँग सीमा जोडिएका क्षेत्रमा स्थानीय संक्रमण देखिँदा चीनलाई चिन्ता बढेको हो

रुससँग सीमा जोडिएको हइलोङचियाङ पछिल्लो समय इम्पोर्टेड केसको आउटब्रेक बन्दै गएको छ। चीनले रुससँगको सीमा नाका हइलोङचियाङको एक सुइफनहलाई बन्द गराएको छ।

त्यहाँ मात्र नभई अन्य स्थानमा देखिएका इम्पोर्टेड केस पनि रुससँग जोडिएका छन्। चीनको विशेष स्वशासित क्षेत्र भित्रि मंगोलिया र सांघाइमा पनि रुससँग जोडिएर इम्पोर्टेड केसहरु देखा परेका छन्।

जसमध्ये केही संक्रमितहरु लक्षणबिनाका छन्। हइलोङचियाङमा देखिएका दुई केसमा संक्रमितहरुमा कुनै पनि लक्षण देखिएको थिएन। योसँगै लक्षण नदेखिएका संक्रमितको संख्या हइलोङचियाङमा ५२ पुगेको छ।

लक्षण नदेखिएका केसहरु मंगलवार ५७ पुगेका छन्। जुन सोमवार ५४ थियो। हाल चीनले लक्षण नदेखिएकाहरुलाई प्रमाणित केसमा राख्न छाडेको छ।चीनले ९ वटा क्षेत्रमा इपिडिमियोलोजिकल सर्वे चलाएको छ। कोभिड-१९ को आउटब्रेक इपिसिन्टर हुवेइ प्रान्त र यसको राजधानी वुहानसहितका क्षेत्रमा सर्वेक्षण शुरु गरिएको चाइना डेलीले जनाएको छ

यस सर्वेक्षणबाट लक्षण नदेखिएका संक्रमितमा रहेको रोग प्रतिरोधी क्षमताको पहिचान गर्ने बताइएको छ। बुधवार वुहानको एक रंगशालामा त्यहाँका मानिसहरुलाई ‘र्‍यान्डम्ली’ छनोट गरी रगत र थ्रोट स्वाब संकलन गरिएको छ।

थ्रोट स्वाबको न्युक्लिक एसिड टेस्टले लक्षणबिनाका संक्रमितको पहिचान र रगतमा रहेको एन्टिबडी टेस्टले अनुसन्धानकर्तालाई उनीहरुको रोग प्रतिरोधी क्षमताको पहिचानमा सहयोग पुग्ने छ।

‘यसको लक्ष्य भनेको समुदायमा रहेको एन्टिबडीको पहिचान गर्दै भविष्यमा रोग नियन्त्रणका लागि रणनीति बनाउन सहयोग पुगोस भन्ने हो,’ चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको पोषण तथा स्वास्थ्य सम्बन्धी इन्स्टिच्युटका प्रमुख दिङ काङछीयाङले भने।

त्यस्तै, यो सर्वे बेइजिङ, सांघाइ, छोङछिङ महानगरसहित लिआओनिङ, जिआङसु, जचियाङ, क्वाङदोङ र सिचुवान प्रान्तमा सर्वे थालिएको छ। वुहानबाट एक करोड १० लाख जनसंख्यामध्ये ११ हजारलाई नमुनाका लागि छनोट गरिएको छ।

नमुना संकलनको काम बिहीवार सकिने बताइएको छ। सर्वेक्षणमा सहभागीहरु स्थानीय बासिन्दा हुन्। कोही भने कोभिड-१९ विरुद्धको अभियानमा सहभागी सुरक्षाकर्मी, स्वयंसेवकहरु पनि छन्। यो सर्वेक्षणले लक्षणबिनाका संक्रमितहरुको संख्या पहिचानमा सहयोग पुग्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell