काठमाडौं : विश्व कोभिड-१९ महाव्यादी विरुद्ध लडिरहेको बेला विश्वभर दादुराको प्रकोप बढ्न सक्ने युनिसेफले चेतावनी दिएको छ। कोभिड-१९ महामारीमा विश्व लडिरहेका बेला नेपालसहितका देशहरुमा दादुरा विरुद्ध बालबालिकालाई दिइने खोप समयमै दिन नसक्दा यसको प्रकोप बढ्न सक्ने चेतावनी युनिसेफले दिएको हो।
नेपालसहित विश्वका ३७ देशका ११ करोड ७० लाख बालबालिकाले समयमा दादुराविरुद्ध खोपबाट टाढा हुनसक्ने युनिसेफले जनाएको छ।
'कोभिड-१९ को संक्रमण विश्वभर फैलिँदै गर्दा ३७ देशका ११ करोड ७० लाख बालबालिकाले जीवन जोगाउने दादुरा विरुद्धको खोप पाउनबाट वञ्चित हुन सक्छन्। दादुरा विरुद्धको प्रतिरक्षा अभियान २४ देशमा ढिलो भइसकेको छ; अरु मा पनि स्थगित हुनेछ,' युनिसेफले भनेको छ।
विश्व स्वास्थ्य संगठनले कोभिड-१९ महाव्यादीको समयमा बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउने अभियानका लागि भन्दै गाइडलाइन नै सार्वजनिक गरेको छ। गाइडलाइनमा नियमित रुपमा खोप अभियानलाई अगाडि बढाउन भनिएको छ।
त्यसका लागि खोप अभायनमा सहभागी हुने स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउन पनि भनिएको छ। त्यस्तै, डब्लुएचओले विश्वका सरकारहरुलाई 'जोखिम तथा फाइदा'को पर्याप्त मूल्याङ्कन गर्न भनेको छ। उसले कोभिड-१९ को जोखिम बढी भए खोप अभियान पछाडि छाड्ने सक्ने सुझाव दिएको छ।
'डब्लुएचओले सहयोगी तथा वैज्ञानिकहरुसँग कोभिड-१९ को भ्याक्सिनको विकासका लागि निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको छ। तर, अहिले भ्याक्सिनको विकास भइसकेका रोगहरुबाट मानिसलाई जोगाउने विषयमा पनि हामीले ध्यान दिनुपर्छ,' डब्लुएचओका इम्युनाइजेसन कार्यक्रमका निर्देशक क्याथरिन ओ ब्रायनले भनेका छन्, 'सन्देशमा स्पष्ट भनिएको छ कि देशहरुले रोग प्रतिरोधी क्षमता बढाउनका लागि आवश्यक कदम चाल्नुपर्छ। कि मानिसले अकालमै ज्यान नगुमाउन्।'
युनिसेफले कोभिड-१९ को संक्रमण फैलिएकै कारण खोप अभियान रोक्ने जस्तो अप्रिय निर्णय लिए पनि सरकारलाई खोप नपाएका बालबालिकाहरुको लगत राख्न सुझाव दिएको छ। उसले यस्तो तथ्यांकले आवश्यक जोखिमपूर्ण समुदायमा छिट्टै सेवा प्रदान गर्न सकिने बताएको छ।
युनिसेफको तथ्यांक अनुसार ५० वर्षदेखि निरन्तर खोप अभियान चलाए पनि २०१८ मा एक लाख ४० हजार बालबालिकाले ज्यन गुमाएका थिए, यसैका कारण। यद्यपि, उनीहरुको ज्यान जोगाउन सक्ने अवस्था भने थियो। १२ महिनाभन्दा कम उमेरका बालबालिका यसको संक्रमणबाट मर्न सक्ने सम्भावना बढी हुन्छ।
युनिसेफका अनुसार नेपाल सहित वंगलादेश, ब्रजिल, बोलिभिया, कम्बोडिया, चाड, चिले, कोलम्बिया, जिबुटी, द डोमिनिकन रिपब्लिक, डीआर कङ्गो, इथियोपिया, होन्डुरस, कजाकस्तान, किर्गिजस्तान, लेबनन, माल्दिभ्स, मेक्सिको, नाइजेरिया, पाराग्वे, सोमालिया, दक्षिणी सुडान, युक्रेन र उज्बेकिस्तानसमेत २० देशमा पनि दादुरा तथा रुवेला विरुद्धको खोप प्रभावति हुनसक्छ।
एमएमआर खोप प्रयोग गर्ने दर कम रहेका युरोपका थुप्रै देशमा ठूलो स्तरमा प्रकोप फैलिएको बीबीसीले जनाएको छ।
सम्भावित घातक सङ्क्रमणको घटनामा वृद्धि देखिएपछि यूकेले दादुरामुक्त देशको हैसियत गुमाइसकेको छ।
रुघाखोकी, ज्वरो र दाग गराउने यो रोगबाट एमएमआर खोप दुई पटक दिएर जोगिन सकिन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाँच वर्ष उमेरका ९५ प्रतिशतले पहिलो खेपको खोप लगाएका छन् भने ८७.४ प्रतिशत दोस्रो खेप लिएका छन्।
दादुरा उच्च सङ्क्रामक रोग भएकोले खोप प्रयोग गर्ने दरमा सामान्य कमी आउँदा पनि त्यसको प्रभाव पर्न सक्छ।
नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्न लक्ष्य लिएको थियो तर सफल हुन सकेन। विश्व स्वास्थ्य संगठनले नेपालमा केही वर्षदेखि दादुराको संक्रमण बढ्दै गएको देखाएको थियो।
नेपालमा सन् २०१८ मा झन्डै साढे दुई सय जनालाई दादुरा भएको पुष्टि भएको थियो भने यस वर्ष तीन महिनाभित्र ३७२ मा यो रोग लागेको पुष्टि भइसकेको छ। सन् २०१७ मा जम्मा ७७ जनामा दादुरा भएको पाइएको थियो।
विश्व स्वास्थ्य संगठनको प्रारम्भिक तथ्यांक अनुसार सन् २०१९ को नोभेम्बरसम्ममा चार लाख १३ हजार बालबालिकामा दादुराको संक्रमण देखिएको थियो। कंगोमा मात्र दुई लाख ५० हजार बालबालिकामा यसको संक्रमण देखिएको बताइएको छ।