PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

सनसिटीमा संक्रमित देखिएपछि प्रहरीले खोज्न थाल्यो चैत ५ मा नेपाल आएको विमानका यात्रु, हिँडेरै नेपाल आएकाको ट्र्याकिङ कसरी?



सविन ढकाल

सनसिटीमा संक्रमित देखिएपछि प्रहरीले खोज्न थाल्यो चैत ५ मा नेपाल आएको विमानका यात्रु, हिँडेरै नेपाल आएकाको ट्र्याकिङ कसरी?

काठमाडौं : प्रहरीले अहिले धुइँधुइँती लगाएर विदेशबाट आएका मानिसहरु खोजी गरिरहेको छ। दुईसाता बितिसक्यो विदेशबाट आएका मानिसको नाम ठेगाना लिएर खोजी गर्न थालेको। तर, अझै पनि तीन वटा विमानबाट नेपाल आएका ४ सय ४० जना मध्ये २० जना फेला परेका छैनन्।

कतार एयरलाइन्सका २ जना, एयर अरवियाका २ र भिस्तराका १६ जना यात्रुको पहिचान भइसकेको छैन। बाँकी पनि प्रहरीको सम्पर्कमा आफैं आएका होइनन्। प्रहरीले उनीहरुको ठेगना पहिल्याएर क्वारेन्टाइनमा राखेको हो। रोचक त के भने, स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्ने ब्रिफिङमा आएका जति सबैको ट्र्याकिङ भइसकेको दावी गरिरहेको छ।

प्रहरीको तथ्याङ्कअनुसार विमानमा आएका विदेशी कहाँ गए पत्तो छैन। अनुमान मात्र छ - उनीहरु आफ्नै देश फर्किए। यता स्वास्थ्य मन्त्रालयले भने सबै मानिस ट्रेसिङ भएको दाबी गरिरहेको छ। चैत ४, ५ र ७ गते विमानबाट आएका यात्रुमा कोरोना संक्रमण देखिएपछि विमानमा रहेका अन्य यात्रु कहाँ छन् भन्ने खोजी सुरु भएको हो।

मंगलवार पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्डमा भेटिएका संक्रमित आएका विमानका यात्रुको पनि ट्रेसिङ गर्नुपर्ने जिम्मेबारी प्रहरीलाई थपिएको छ। संक्रमित दुई जना चैत ५ गते नेपाल ओर्लिएका थिए। उनीहरु बेलायतबाट दोहा हँदै आएका थिए। कतार एयरलाइन्सको क्युआर ६४४ विमानमाबाट उनीहरुसँगै १ सय ५३ भन्दा बढी यात्रु आएको बुझिएको छ। अहिले उनीहरुको खोजीमा प्रहरी लागेको छ।

'हामीले खोज्न थालिसकेका छौं। सबै जना सम्पर्कमा आउनु भए राम्रो हुन्थ्यो,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले भने।

विदेशबाट आएका सम्पर्कमा नआए कारबाही र प्रोहोत्सानको लोभ तथा डर देखाउँदा समेत सबै मानिस सम्पर्कमा आएका छैनन्। हवाइ मार्गबाट आएका मानिसको विवरण हुँदा त ट्रेसिङ गर्न यति कठिन परिरहेको छ भने भारतबाट अनियन्त्रित हिसाबले प्रवेश गरेकाहरुको अवस्था के होला? आतंकित हुने बाहेक सरकारसँग यसको तथ्याङ्क छैन।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी ५२ वर्षीया महिलामा सोमवार कोरोना संक्रमण देखिएको थियो। वीरगंजमा परिवारसहित चिया पसल संचालन गरेर बस्दै आएकी उनी चैत १८ गते विहान त्यहाँबाट कैलाली आइपुगेकी थिइन्।

उनको अहिलेसम्म कुनै ट्राभल हिस्ट्री (देशबाहिर नगएको) छैन। संक्रमित महिला अहिलेसम्म नेपाल छोडेर बाहिर गएको नदेखिनुले उनी पनि लोकल ट्रान्समिसन भएको संकेत गर्छ। उनलाई अरुबाट नै कोरोना संक्रमण फैलिएको हुनसक्छ। कसबाट कोरोना भाइरस सर्‍यो, खुल्न सकेको छैन। उनीबाट अरु कति संक्रमित भएका छन्, त्यो पनि भन्न सकिन्न किनकि उनी चिया पसल संचालन गर्दै बसेकी थिइन्।

अब उनी कहाँ गइन्? कस कसलाई भेटिन्? उनलाई कस कसले भेट? यसको जवाफ सहजै भेटिँदैन। अनि खोज्ने कसले? कसरी खोज्ने? वीरगंजबाट कैलाली उनी विमान विमाना गएकी होइनन्। गाउँको चिया पसलमा को को पुगे, कसकसले चिया पिए? अहिले उनीहरु कहाँ छन्? पत्तो पाउने आधार छैन।

उनीसँग सम्पर्कमा आएका सबैलाई संक्रमण फैलिन्छ भन्ने होइन तर सचेत हुनुपर्ने चाहिँ निश्चित हो। यसले भोली झन् विकराल समस्या नदेखिएला भन्न सकिँदैन।

किनकि यसमा पहिले विमानबाट आएजस्तो न त अध्यागमनसँग तथ्याङ्क छ न त प्रहरीसँग नै।

'यो पहिलेजस्तो ट्र्याक गर्न ग्राहो छ। सबैभन्दा उत्तम उपाय उनीसँग सम्पर्क भएका मानिस आफै सम्पर्क आउनु राम्रो देखिन्छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले भने।

कैलालीमा संक्रमण देखिएकी महिला मात्र होइन, वीरगंजमा संक्रमण भेटिएका तीन भारतीय नागरिकको अवस्था पनि उस्तै छ। एक जना दिल्ली र दुई जना उत्तर प्रदेशका बासिन्दा हुन् उनीहरु। उनीहरु बिहार हुँदै पुस २ गते नेपाल आएको खुलेको छ। उनीहरु ट्रेनबाट १० जना भन्दा बढीको समूहमा नेपाल आएका थिए।

जोगवनी नाका हुँदै सप्तरीमा आयोजित मुस्लिम सम्मेलनमा उनीहरु पुगेका थिए। उनीहरुले सार्वजनिक सवारी साधन नै प्रयोग गरेको देखिन्छ। सप्तरीमा मुस्लिम धर्मावलम्बीहरुको धार्मिक सम्मेलन ईस्तमामा सहभागी हुन नेपाल आएका उनीहरुले सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बाराको यात्रा गरेको देखिन्छ। त्यसपछि वीरगंजको छपकैयामा रहेको जामे मस्जिदमा पुगेका हुन्।

यो अबधिमा उनीहरुले कस कसलाई भेट? कहाँ कहाँ बसे? ट्र्याक गर्नुपर्ने देखिन्छ। तर, यो पनि सहज छैन। अब आफै सचेत नबन्ने हो भने यसको महँगो मूल्य आफैले चुकाउनु पर्छ।

त्यसो त संक्रमण देखिएको ठाउँबाट मानिस भाग्ने गरेका समचार नआएका पनि होइन। तर, भागेर के गर्ने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell