PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि एम्बुलेन्स चालकले टेरेनन् अनि आफैँ मोटरसाइकलमा हानिए धादिङका युवक...



नेत्र तामाङ

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि एम्बुलेन्स चालकले टेरेनन् अनि आफैँ मोटरसाइकलमा हानिए धादिङका युवक...

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकावडा ३ का एक २७ वर्षीय युवकको मंगलवार र्‍यापिड टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखायो। उनी फागुन २० गते दक्षिण कोरियाबाट फर्किएका थिए।

स्वदेश फर्किएको ४२ दिनपछि गाउँपालिकाले गरेको र्‍यापिड टेस्टमा उनको परीक्षण भएको थियो। आरडीटी परीक्षणबाट युवामा कोरोना पोजिटिभ देखिएपछि साँझ एम्बुलेन्सको खोजी भयो।

तर, कुनै पनि एम्बुलेन्स चालक उनलाई लैजान तयार भएनन्। गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत तार्केश्वर पटेलले पनि एम्बुलेन्स चालकलाई मनाउने प्रयास गरे। तर, कतैबाट केही सीप चलेन।

त्यसपछि ती युवक आफैं बाइक चलाएर धादिङ अस्पताल धादिङबेसीस्थित क्वारेन्टाइनस्थलमा आइपुगे। उनै युवकसँग गरिएको कुराकानीको सम्पादित अंश:

बल्लबल्ल मिल्यो बाइक

हिजो दिउँसो जाँच गरेको हो। ४ बजेतिर रिपोर्ट आयो। त्यसपछि चारैतिर एम्बुलेन्सको खोजी भयो। वडा अध्यक्ष र सारा गाउँलेले सहयोग गरे एम्बुलेन्स खोजीमा। एम्बुलेन्स आउन मानेन। सरकारले भनेपछि एम्बुलेन्सले मान्नुपर्ने हो। तर कति कुर्दा पनि चालकहरु तयार भएनन्।

त्यसपछि बाइक खोजी गरियो। बाइक दिन पनि गाह्रो माने। बल्ल नजिकै दाइ पर्नेले बाइक दिने भए। बाइक कन्डिसनमा छैन रहेछ। अगाडि पछाडिको बत्ती पनि नबल्ने। अगाडि चलाइदिने मान्छे पनि भएन। मसँग लाइसेन्स पनि थिएन। तर, चलाउन राम्रैसँग जान्छु। प्रहरीलाई पनि यो कुरा जानकारी गराएँ। उहाँहरुले बाइक नम्बर टिपाएर यो टोलीलाई नरोक्नु भनेर खबर गरेछन्। त्यसैले त्यही बाइकमा साँझ ८ बजे आउने तयारी गरेँ। त्यही बेला झमझम पानी पर्‍यो। पानी परेपछि रोकिएँ।

पानी रोकिएपछि धादिङबेसी झरेँ। पानी परेकाले बाटो अलि अप्ठेरै भयो। कन्फिडेन्स अलि घट्दो रहेछ नि। अगाडि पछाडि वडाका साथीहरुको बाइक थियो। एकजना वडा सदस्य पनि आउनुभएको थियो। उहाँहरुले बालेको लाइटको साहरामा क्वारेन्टाइनमा आइपुगेँ। यहाँ आइपुग्दा साढे ११ बजेको थियो। यहाँ आइपुगेपछि नर्सहरुले ज्वरो र प्रेसर जाँच गर्नुभयो। एकदमै ठीक छ, नअत्तिनु भन्नुभयो।

परीक्षण गर्न नमानेको होइन

अहिले सबैतिर कोरोना संक्रमण बढिरहेको छ। यस्तो बेला परीक्षण नगर्नु भनेको गल्ती नै हुन्छ भन्ने मलाई लाग्छ। मलाई केहीले परीक्षण गर्न मानेनन् भनेर लेख्नुभएको रहेछ।

म फेब्रुअरी २ मा एउटा कन्फ्रेन्समा भाग लिन भिजिट भिसामा कोरिया पुगेको थिएँ। कोरोनाका कारण कन्फ्रेन्स केही छोटियो। अनि मार्च ३ मा नेपाल फर्केँ। अनि गाउँ गएँ। म आउने बेला कोरियमा भाइरसको संक्रमण र्‍यापिड्ली वृद्धि हुन लागिसकेको थियो। युथहरुको कन्फ्रेन्समा भाग लिएर आएको हो म।

आजभन्दा १० दिन अघि रुघाखोकी र ज्वरो आयो। वडा अध्यक्षलाई यो कुरा सेयर गरेँ। उहाँले पनि जाँच गर्न सल्लाह दिनुभयो। मैले पनि कहाँ जानुपर्छ? तयार छु भनें। तर, पछि स्वास्थ्यकर्मीले ४ हप्ताभन्दा अघिकालाई खासै चेक गर्नुपर्दैन भन्ने कुरा टेकु अस्पतालबाटै जानकारी आएको बताए।

त्यसपछि मलाई घरमै बस्न भन्नुभयो। म त्यही भएर घरमै बसेँ। ढाँटेको नि छैन, भागेको पनि छैन। म डाक्टरहरुको सल्लाहमै घरमै बसेको हो।

अहिले त स्वस्थ छु। टाउको दुख्ने, श्वासप्रश्वासमा केही समस्या छैन। खासै केही भएको जस्तो लाग्दैन। टेस्ट गलत नै हुन्छ भन्नेमा म विश्वस्त छु। मलाई पनि अचम्म लाग्छ कसरी देखियो भन्ने कुरा। भए पनि कोरोनासँग फाइट गर्न मानसिक रुपमा तयार छु।

चेतनाको कमीले डराए एम्बुलेन्स चालक

मलाई लिन एम्बुलेन्स चालकहरु आउन नमानेकोमा मलाई कुनै चित्त दुखाई छैन। किनभने उहाँहरुलाई पनि मानसिक तनाव होला। उहाँहरु डराउनु पनि स्वभाविक हो। असुरक्षित मान्नुभएको होला। परिवारको दबाव होला।

सरकारप्रति पनि कुनै गुनासो छैन। किनभने सरकारले आफ्नो तवरले सेवा दिइरहेकै छ। जाँच गराउनु मेरो पनि जिम्मेवारी हो। यसमा अलिकति एम्बुलेन्स चालकहरुलाई सुरक्षा र आवश्यक सामग्री भने अभाव देखेँ। अर्को कुरा चेतनाको अभाव भएर पनि यस्तो भएको होला। यसमा सरकारले सुरक्षाको कुरा व्यवस्था गरिदिए राम्रो हुन्थ्यो।

टेकुमा आज स्वाब पठाउने कुरा छ। परिवारका सदस्यहरुले केही नहोस् भनिरहेका छन्। उनीहरुमा खासै त्यस्तो कुनै लक्षण देखिएको छैन। मेरोमा पीसीआर टेस्टमा पोजेटिभ देखिएपछि मात्र हो उनीहरुमा परीक्षण गर्नुपर्ने। नत्र अहिले डराउनुपर्ने अवस्था छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell