काठमाडौं : नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या १६ पुगेको छ। मंगलबार थप दुई जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएसँगै यो संख्या १६ पुगेको हो।
पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरु चैत पहिलो हप्ता लण्डनबाट आएका थिए।
सोमवार एकै परिवारका तीन जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट परीक्षण गर्दा पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइएको थियो। पीसीआर पद्धतिबाट परीक्षण गर्दा दुई जनामा पोजेटिभ देखिएको छ। ५८ वर्षीय पुरुष, ८१ वर्षीया महिलामा कोभिड-१९ को परीक्षण पोजेटिभ देखिँदा अर्का एक जनामा भने नतिजा आउन बाँकी छ। वाग्लुङका एक अर्का आरडीटीबाट पोजेटिभ देखिएका व्यक्तिको पीसीआर परीक्षण गर्दा भने नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आरडीटी टेस्ट गर्दा चारवटा परीक्षण नतिजा आँउछ। जसलाई वैज्ञानिक भाषामा ट्रु पोजेटिभ, ट्रु नेगेटिभ, फल्स पोजेटिभ र फल्स नेगेटिभ भनेर वर्गीकरण गरिएको छ।
आरडीटी परीक्षणमा पोजेटिभ आए पनि पीसीआर पद्धतिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको केसमा पहिलो नतिजालाई फल्स पोजेटिभमा राखिन्छ।
आरडीटीबाट परीक्षण गर्दा पोजेटिभ आए पनि कोभिड- १९ को पीसीआर परीक्षण नेगेटिभ देखिएको यो केस ‘फल्स पोजेटिभ’ हो। बाँकी दुई केस ‘ट्रु पोजेटिभ’। यही अवस्थालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आरडीटी टेस्टको नतिजालाई क्लिनिकल प्रयोजनका लागि प्रयोग नगर्न सुझाव दिएको हो।
डब्लुएचओले अप्रिल ८ मा चिकित्सकहरुका लागि भन्दै कोभिड-१९ को इम्युनो डाइग्नोस्टिक टेस्टका विषयमा ‘साइन्टिफिक ब्रिफ’ गरेको छ। कोभिड-१९ को महाव्याधि बढ्दै जाँदा प्रयोशालामा आधारित मलिक्युलर टेस्ट र रिएजेन्टको अभाव हुँदै गएको छ।
यही अभावलाई मध्यनजर गर्दै विश्वभरका कम्पनीहरुले र्यापिड टेस्ट किट उत्पादन गरिरहेका छन्। यसले प्रयोगशाला बाहिर परीक्षणलाई सहज बनाएको छ। विश्व स्वास्थ्य संगठनले यसबाट आउने नतिजालाई अध्ययन अनुसन्धानका लागि मात्र प्रयोग गर्न सकिने भन्दै 'क्लिनिकल डिसिजन मेकिङ' का लागि प्रयोग गर्न नहुने बताएको छ।
'हाल, अहिलेका प्रमाणहरुका आधारमा डब्लुएचओ इम्युनो डाग्नोस्टिक टेस्ट अनुसन्धानका लागि मात्र प्रयोग गर्न सुझाव दिन्छ। यसको प्रयोग क्लिनिकल डिसिजन मेकिङ सहितका अन्य प्रयोजनका लागि प्रयोग गर्नु हुँदैन,' डब्लुएचओले भनेको छ। उसले अन्य सहयोगी प्रमाणविना यसको प्रयोग उपचारका लागि गर्न नहुने बताएको हो।
डब्लुएचओका अनुसार यी टेस्ट किटहरु कोभिड-१९ बाट श्वास प्रश्वासका नमूना (थुक, थ्रोट स्वाब) मा देखिएका प्रोटिनको पहिचान अथवा संक्रमणका कारण मानव शरीरमा उत्पादन हुने एन्टीबडीको पहिचान तथा सेरमबाट पहिचानका लागि प्रयोग हुन्छन्। डब्लुएचओले ठूलो जनसंख्याका लागि आवश्यकता अनुसार टेस्ट किटको विकास गर्ने उत्पादकहरुको प्रशंसा पनि गरेको छ।
उसले यसको भ्यालिडेसनका लागि आवश्यक जनसंख्यामा भ्यालिडेट हुनुपर्ने बताएको छ। डब्लुएचओले यसको असावधानीपूर्ण प्रयोगले गतल नतिजा दिन सक्ने तर्फसमेत सचेत गराएको छ।
डब्लुएचओले उपलब्ध कोभिड-१९ को इम्युनो डाइग्नोस्टिक टेस्टको विषयमा मूल्याङ्कन गरिरहेको समेत बताएको छ। उसले यस सम्बन्धी वैज्ञानिक सुझाव प्रकाशित गर्दै जाने पनि उल्लेख गरेको छ।
डब्लुएचओका अनुसार एक प्रकारको आरडीटीले मानिसको श्वास प्रणालीबाट निकालिएको नमूनामा कोभिड १९ ले उत्पादन गरेको भाइरल प्रोटिन (एन्टीजीन) को उपस्थितिलाई पहिचान गर्छ।
यदि लक्षित एन्टीजीन नमूनामा पर्याप्त उपस्थिति देखिएमा यसले विशेष एन्टीबडीलाई प्लास्टिकले छोपिएको पेपर स्ट्रिपमा टाँसिन्छ जुनबाट प्रष्ट रुपमा संकेत देखिन्छ। यो परीक्षण ३० मिनेटमा पूरा हुन्छ।
यस्तो टेस्ट तीव्र वा प्रारम्भीक संक्रमणको पहिचानका लागि उत्तम हुने डब्लुएचओको ब्रिफिङमा उल्लेख छ।
परीक्षणको प्रभावकारितालाई धेरै कारकहरुले असर पार्छन्। जस्तो कि बिरामीको अवस्था बिरामी भएको समय, भाइरसको कन्सन्ट्रेसन, संकलित नमूनाको गुणस्तर र संकलन गरिएको तरिका र टेस्ट किटमा रिएजेन्टको फर्मुलेसनले परीक्षणको प्रभावकारीलाई असर पार्छ।
वैज्ञानिक अनुभवका आधारमा एन्टीजीनमा आधारित आरडीटीमा कोभिड-१९ को नतिजाको सेन्सेटिभिटी ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म हुने गरेको छ।
डब्लुएचओले 'फल्स पोजेटिभ रिजल्ट' आउन सक्नेतर्फसमेत सचेत गराएको छ। यस्तो अवस्था यदि टेस्ट स्ट्रिपमा रहेका एन्टीबडीले भाइरसको एन्टीजीन पहिचान गर्छ। ती कोभिड-१९ बाहेक अन्य संक्रमणका पनि हुन सक्छ।
यस्तो परीक्षण कोभिड-१९ वा कोभिड-१९ जस्तै संक्रमणको पहिचानका लागि प्रयोग गर्न सकिन्छ। जसले महँगो मलिक्यूलर कन्फर्ममेटरी टेस्टको प्रयोगलाई घटाउन सहयोग गर्छ।
त्यस्तै अर्को आरडीटी होस्ट एन्टीबडी डिटेक्सनका आधारित हुन्छ। कोभिड-१९ मा सामान्य रुपमा प्रयोग हुँदै आएको छ।
यसले कोभिड-१९ को संक्रमण हुनसक्ने आशंका गरिएका व्यक्तिको रगतमा भएको एन्टीबडीको उपस्थितिलाई पहिचान गर्छ।
भाइरसको संक्रमण भएको एकदेखि साता दिनसम्ममा यस्ता एन्टीबडीहरु उत्पादन हुन्छन्।
एन्टीबडीको रेस्पोन्सलाई पनि धेरै कारणहरुले प्रभाव पार्छ। जस्तो व्यक्तिको उमेर, पोषणको स्थिति, रोगको गम्भीरता, औषधिको प्रयोग, एचआइभी लगायतका मानिसको प्रतिरक्षा शक्तिमा प्रभाव पार्ने संक्रमणलगायतले एन्टीबडीको रेस्पोन्समा प्रभाव पार्छ।
कोभिड-१९ सहितका केही मानिसमा मलिक्यूलर टेस्टिङ (रिभर्स ट्रान्सक्रिप्सन पोलिमर्स चेन रियाक्सन : आरटी-पिसिआर) एन्टीबडी नदेखिन पनि सक्ने रिपोर्टहरुले देखाएको छ।
कोभिड-१९ लाई लक्षित गरी गरिने एन्टीबडी डिटेक्सन टेस्टले अन्य प्याथोजनहरु जस्तै ह्युमन कोरोना भाइरसलाई पनि डिटेक्ट गर्ने गर्छ। जसले 'फल्स पोजेटिभ रिजल्ट' दिन्छ।
डब्लुएचओले रोगको निगरानीलाई बढाउन तथा इपिडिमियोलोजीक अनुसन्धानका लागि प्रयोग गर्न सकिने सुझाव दिएको छ।
डब्लुएचओले मलिक्यूलर टेस्ट (पीसीआर) लाई प्रभवकारी मान्दै कोभिड-१९ को संक्रमण पहिचानमा यही पद्धतिलाई जोड दिएको छ।
आरडीटीबाट परीक्षण गर्दा आउने अन्य दुई नतिजा ट्रु नेगटिभ र फल्स नेगेटिभ हुन्। आरडीटीबाट परीक्षण गर्दा नेगेटिभ देखिएको पीसीआरबाट परीक्षण गर्दा पनि नेगेटिभ देखियो भने यसलाई ट्रु नेगेटिभ भनिन्छ। तर, आरडीटीबाट परीक्षण गर्दा नेगेटिभ र पीसीआरबाट परीक्षण गर्दा पोजेटिभ आए अघिल्ल परीक्षणको नतिजालाई ‘फल्स नेगेटिभ’ भनिन्छ।
भाइरस शरीरमा प्रवेश गरेको केही समयसम्म कोभिड-१९ नदेखिन सक्छ। यसले एन्टीबडी नबनाउँदासम्म आरडीटीमा नेगेटिभ आउँछ। यस्तो अवस्थामा पीसीआर पद्धतिले भाइरस शरीरमा प्रवेश गरेकै अवस्थामा पनि नतिजा देखाउन सक्छ। त्यसैले पनि पीसीआर पद्धतिबाट परीक्षणलाई नै विश्व स्वास्थ्य संगठनले जोड दिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार अहिले उठेका प्रश्नहरु पनि यस्तै किसिमका हुन्।
पीसीआरमा नेगेटिभ देखियो, आरडीटीमा पोजेटिभ देखियो वा आरडीटीमा नेगेटिभ देखियो पीसीआरमा पोजेटिभ देखियो भन्ने प्रश्न आउनुका पछाडि यस्तै कारण छन्।
'पीसीआरमा भाइरसको जेनेटिक मेटेरियलको परीक्षण गरिन्छ। यस परीक्षणले नमूना लिएको समयमा भाइरस थियो कि थिएन भन्ने हुन्छ,' उनले भनिन्, 'पीसीआर परीक्षण जटिल र समय लाग्ने तथा परीक्षण गर्ने व्यक्ति पनि विज्ञता हासिल गरेको हुनुपर्छ। त्यसैले परीक्षणका अरु विकल्प खोजिएका हुन्।'
अहिले संसारका विभिन्न देशहरुमा प्रयोग भइरेहेको आरडीटी परीक्षणमा शरीरले भाइरसविरुद्ध लड्न तयार पारेका एन्टीबडीको परीक्षण गर्ने बताइन्।
'अन्य रोगसँग लड्न शरीरले उत्पादन गर्ने एन्टीबडीका आधारमा हामीले यो भन्न सक्छौँ कि हाम्रो शरीरले दुई वटा एन्टीबडी तयार गर्छ, एउटा आइजिएम (इम्युनोग्लोवुलिन-एम) र अर्को आइजीजी (इम्युनोग्लोवुलिन-जी),' उनले भनिन, 'आइजिएम शरीरमा भाइरस प्रवेश गरेको साताभित्र तयार हुन्छ भने आइजीजी दुई सातापछि तयार हुन्छ। आइजिएम भाइरसको संक्रमण हटेसँगै हराउन सक्छ भने आजीजी शरीरमा महिनौँसम्म रहन सक्छ।'
पीसीआरले भाइरस शरीरमा प्रवेश गरेसँगै भाइरस छ छैन भन्ने पत्ता लगाउँछ। आरडीटीले एन्टीबडीका आधारमा पत्ता लगाउने उनले बताइन्।
पीसीआरमा पोजेटिभ देखिएर आरडीटीमा नेगेटिभ देखिए संक्रमणको सुरुवाती चरण बुझ्न सकिन्छ। आरडीटीमा पोजेटिभ र पीसीआरमा नेगेटिभ देखिए संक्रमण थियो तर शरीरबाट परास्त भइसक्यो भन्ने बुझिने निर्देशक डाक्टर झाले बताइन्।
आरडीटीले लक्षण नदेखिई संक्रमण निको भइसकेका विरामीको सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ गर्न मद्दत पुग्ने उनको भनाइ छ।