PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सनसिटी अपार्टमेन्टमा भएको के हो? अर्थमन्त्री गएको हल्ला कसरी फैलियो?



कमलराज भट्ट

सनसिटी अपार्टमेन्टमा भएको के हो? अर्थमन्त्री गएको हल्ला कसरी फैलियो?

सोमबार कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा कोरोना भाइरसको र्‍यापिड डाइगोनेस्टिक टेस्ट (आरडीटी) गर्दा एकै परिवारका तीन जनामा पोजेटिभ देखियो। नगरपालिकाको समन्वयमा तीनै जनालाई एम्बुलेन्समा राखेर लगनखेलस्थित पाटन अस्पताल लगियो। स्वाब संकलनपछि परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो। यति बेलासम्म सनसिटीमा कोरोनाको संक्रमण देखियो भनेर उपत्यकाभर सूचना पुगिसकेको थियो। अर्कोदिन मंगलबार परीक्षणको रिपोर्ट दुई जनाको पोजेटिभ आयो। एक जनाको नेगेटिभ आएको छ।

तर, केही सञ्चारमाध्यमले भर्खरै भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटी चुनावको विषयलाई लिएर सोमबार साझ नै समाचार बनाउन भ्याए। चुनावबाट अर्थमन्त्री युवराज खतिवडाका छोरा तिलक खतिवडा सचिव पदमा निर्वाचित भएका थिए। छोरा तिलकसँगै अर्थमन्त्री पनि यो प्रकरणमा जोडिए। चैत ८ गते भएको चुनावबाट निर्वाचित भएका छोरा तिलकसहित नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन अर्थमन्त्री खतिवडा सोही दिन अपार्टमेन्ट पुगेको समाचारहरु प्रकाशित भए। केहीले वेलफेयर सोसाइटीका पूर्वअध्यक्ष प्रवीण झाको कोट राखे। केहीले भने कुनै स्रोत उल्लेख नगरी लेखे।

समाचारमा तिलकले अर्थमन्त्री भेटेको र अर्थमन्त्रीले प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सदस्यसम्म भेटेकाले सबै संक्रमणको जोखिममा रहेको उल्लेख गर्दा पाठकसहित सबैलाई चिन्तित पार्ने नै भयो। तर, यसमा कुनै कोट उल्लेख गरिएको थिएन। कोट नभए पनि विषय गम्भीर थियो। प्रधानमन्त्रीसहित पूरै मन्त्रिपरिषद उच्च जोखिममा भनेपछि पत्याए। धेरैले अर्थमन्त्रीको नमूना परीक्षण गर्नुपर्ने धारणासमेत राखे। आम मानिसमा अर्थमन्त्रीले छोरा भेटिसकेको र पूरै मन्त्रिपरिषदमा जोखिममा रहेको धारणा बन्यो। साथै अपार्टमेन्टबाट कोरोना सारिएको भन्दै उपत्यकावासी चिन्तित बने। भोलिपल्ट दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि चिन्ता अझै बढ्यो। एकातिर अपार्टमेन्ट सिल गरियो भने अर्कोतिर अर्थमन्त्रीमाथि प्रश्न उठ्यो।

अपार्टमेन्टमा भएको के हो?

कागेश्वरी मनाहरी नगरपालिकाका प्रमुख कृष्णहरि थापाका अनुसार चैत ५ गते आमा छोरा र बुहारी तीन जनाको परिवार बेलायतबाट अपार्टमेन्टमा आएको थियो। लगत्तै सो परिवार क्वारेन्टाइनमा पनि बसेको थियो। ए ब्लकमा बस्ने सो परिवारको बाहिर कसैसँग सम्पर्क थिएन।

कोरोनाको कहरबीच अपार्टमेन्टमा चैत ८ गते वेलफेयर सोसाइटीको निर्वाचन थियो। अर्थमन्त्रीका छोरा तिलक खतिवडा सचिव निर्वाचित भए। नयाँ कार्यसमिति आयो। पुरानो समिति हट्यो।

अहिले दुई जनामा संक्रमण पुष्टि भएपछि खतिवडा चुनावको साँझ झण्डावाल गाडीमा अपार्टमेन्ट गएको खबरहरु आइरहेका छन्। साथै खतिवडामा कोरोनाको जोखिममा रहेको हल्ला फैलियो।

दुई जनामा संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले अपार्टमेन्टमा बस्ने ११ सय जनाको र्‍यापिड टेस्ट सुरु गरेको छ। कागेश्वरी मनहरा नगरपालिकाकी उपमेयर विन्दु पुडासैनीका अनुसार बुधबार ए ब्लकमा बस्ने २९८ जनाको परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ।

कसरी फैलियो अर्थमन्त्री गएको हल्ला?

अर्थमन्त्रीका छोरा तिलकले बुवासँग लकडाउनयता एकपटक पनि भेट नभएको दावी गरेका छन्। त्यसैगरी अपार्टमेन्ट पुगेको हल्ला फैलिएकोमा टेलिफोनमा बुवासँग कुरा भएको तर के कुरा भएको खुलाउन भने मानेनन्। चुनावका समयमा पनि बुवा नआएको दावी तिलकले गरे।

सनसिटी आन्तरिक व्यवस्थापनको चुनावमा बाहिरिएका समूहले उक्त मिथ्या प्रचार गरेको तिलकको भनाई छ।

छोरा तिलक भन्छन्, 'अपार्टमेन्टभित्र आन्तरिक व्यवस्थापन समिति छ। त्योमध्ये केहीलाई यसपटक समितिबाट हटायौँ। म योपटक आफैं पनि समितिमा आएँ। एउटा प्रपोगाण्डाजस्तो बनाउनलाई उनीहरुले भए/नभएको कुरा गरे। बुवा प्रायः यता आउनुहुन्न। दुइटा मन्त्रालयको जिम्मेवारी भएकाले बिहान र दिउँसो खाना खानबाहेक अरु समय हुन्न बुवालाई। उहाँ यहाँ आउने भन्ने सम्भावना नै छैन। यो बीचमा मेरो भेट पनि भएको छैन।'

तिलकले सामाजिक दूरी कायम गरेर नै चुनाव गरिएको पनि बताए। प्रहरीको समेत उपस्थितिमा लकडाउनभन्दा अगाडि नै चुनाव भएको उनको भनाई छ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले पनि अर्थमन्त्री आएको कुरा थाहा नभएको बताए। 'चुनावको दिन आउनुभएको थिएन भन्ने कुरा अध्यक्षले ग्यारेन्टी लिनुभएको छ। ८ गते चुनाव भएको थियो। त्यो दिन आएको छैन भन्ने छ। अरु कुरा पत्ता लगाएर भन्छौं,' उनले भने।

अपार्टमेन्टमा बस्दै आएका स्थानीय शंकर बञ्जाडेले पनि चुनावमा अर्थमन्त्री आएको नदेखेको बताए। 'अर्थमन्त्री आउनुभएको छैन। उहाँजस्तो लेभलको मान्छे यहाँ आएर सानो चुनावमा सहभागी हुने, बधाई दिएको भन्ने मिडियामा पढेँ। त्यो हुँदै नभएको कुरा हो। हामी यहीँ छौँ। उहाँ आउनुभएको छैन,' उनले भने,  'भोट गर्दा पनि डिसटेन्स मेन्टेन गरेरै गरेको हो। त्यो बेला कोरोनाको हल्ला चलिसकेको थियो। हुल गर्ने, भिड गर्ने छँदै थिएन। यहाँ ११ सय जना बस्छन्।'

अपार्टमेन्टको अहिलेको अवस्थाबारे उनी भन्छन्, 'पहिला किनमेल गर्न बाहिर जान दिन्थ्यो विहानको समयमा। अस्ती दुईटा पोजेटिभ देखिएपछि गेटबाहिर जान दिएको छैन। आजबाट यहाँ सबैको र्‍यापिड टेस्ट सुरु भएको छ। आजभोलिमा सकिएला सबै जनाको टेस्ट।'

अपार्टमेन्टमा बस्ने अर्का स्थानीय मुकुन्द देवले अर्थमन्त्री आएको भनेर हल्ला फैलाएको र अपार्टमेन्टको बदनाम गरेको भन्दै आक्रोश पोखेका छन्। उनले ट्वीटरमा यो प्रकरणलाई विभिन्न प्रमाणसहित प्रष्ट्याउन खोजेका छन्।

सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष तिलक बस्नेतले अर्थमन्त्री आएको कुरा ठाडै अस्वीकार गरे। अर्थमन्त्रीलाई बोलाउने खालको चुनावै नभएको र त्यति सानो फङ्सनमा अर्थमन्त्री आउन पनि पदले नमिल्ने उनले तर्क गरे।

'यहाँ अरु पनि प्रबुद्ध मानिसहरु बस्छन्। कसैले प्रभावित गर्न सक्दैन। पहिलो त चुनावको विषयमा यहाँ आएर उहाँले कसैलाई केही भन्ने कुरा मर्यादाले मिल्दैन। पदले दिँदैन। सनसिटीमा बस्ने एउटा मान्छेले भन्यो भन्दैमा, कसैले प्रभावित गरेको भन्दैमा हुन्छ। स्वविवेकले मतदान गर्छन भन्ने पनि बुझ्नुपर्छ। यहाँ प्रबुद्ध व्यक्तिहरु बस्छन्।'

यता अर्थमन्त्री खतिवडाको सचिवालयले पनि सहभागी नभएको बताएको छ। 'पछिल्ला समयमा उहाँले कुनै पनि सार्वजनिक कार्यक्रम तथा भेलाहरुमा समेत सहभागी हुनु भएको छैन। उहाँ निवास, सिंहदरबार र बालुवाटारमात्र काममा व्यस्त हुनुभएको छ,' सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मन्त्री खतिवडा आफैंमा मुटुको विरामी भएकाले स्वास्थ्यका विषयमा सजग रहेको र निर्वाचित समितिलाई बधाई दिन गएको विषयमा कुनै सत्यता नभएको सचिवालयको दावी छ।

अर्थमन्त्रीका चालक हरिलाल बञ्जाराले पनि अर्थमन्त्री सनसिटीतिर नगएको बताए। 'हामीलाई गाडी चलाउँदा त मन्त्रीज्यूले स्यानिटाइजर छर्किन, मास्क लगाउने, पञ्जा  लगाउने, स्प्रे छर्किंन लाउनुहुन्छ,' उनले भने, 'गाडीमै हुने हामीलाई त त्यति कडाईं गर्ने मन्त्रीज्यू सनसिटी भन्ने ठाउँमा गएको, चुनावमा गएको, हात मिलाएको, अंकमाल गरेको, भोज खाएको यस्तो गलत कुरा हो।'

यसबारे अपार्टमेन्ट वेलफेयर सोसाइटीका पूर्वअध्यक्ष प्रवीण झासँग फोनमार्फत बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell