वीरगंज : सरकारले वीरगंजको नारायणी र जनकपुरको प्रादेशिक अस्पताललाई प्रदेश २ को कोरोना उपचारको डेडिकेटेड अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अस्पताललाई कोराना संक्रमितको मात्र उपचार गर्नेगरी परिपत्र भएको हो। सबै अस्पतालमा कोरोना उपचारका नाममा कतिपयले अन्य बिरामी लिने नमानेपछि मन्त्रालयले हालै सेवा वर्गीकरण गरेको थियो।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्ययाले कोरोनामात्र उपचार गर्नेगरि मन्त्रालयको परिपत्र प्राप्त भएको जानकारी दिए।
‘सरकारले कोरोना अस्पतालका रुपमा नारायणी अस्पताललाई लेभल २ को अस्पताल बनाउने भनेको छ', उनले भने, ‘हामीले सुरुदेखि सेवा दिइरहेका छौँ। अब थप उच्च सतर्कता र आवश्यक स्रोतसाधनको व्यवस्थापन मिलाई कोराना अस्पतालका रुपमा सेवा दिनेछौँ।’
मन्त्रालयको परिपत्रपछि हाल भर्ना भई उपचार गराइरहेका बिरामीहरुलाई रेफर गरिएको अस्पतालका कोरोना विभाग प्रमुख डा. उदयनारायण सिंहले जानकारी दिए। मंगलबारदेखि नै रेफर गरिएको र बुधबारसम्म बिरामीलाई अन्यत्र सारिसक्ने सिंहले बताए।
अस्पतालले दुई सय ५० शय्या व्यवस्थापन गरी कोरोना उपचारका लागि तयारी थालेको छ।
नारायणीसँगै जनकपुरको प्रादेशिक अस्पताललाई पनि कोरोना उपचारको अस्पताल तोकिएको छ।
कोरोना बाहेक शल्यक्रियासहितका अन्य उपचार नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई जिम्मा दिन सरकारले निर्णय गरेको छ।
यसैबीच कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगंज महानगरपालिकाले ब्याकअपका रुपमा कोरोना अस्पतालको तयारी गरेको छ। महानगरका निमित्त प्रमुख अरुणकुमार महतोका अनुसार वीरगंजका निजी अस्पतालमध्ये कम्तीमा ५० शय्या, आइसियु तथा भेन्टिलेटर सुविधा भएको अस्पताललाई ब्याकअप अस्पताल छनोट गरिनेछ। यसका लागि तीन दिनको सूचना जारी भएको छ।
अस्पतालसँग सेवा सम्झौता गरेर कोभिड अस्पताल बनाउने महानगरको रणनीति रहेको छ।
वीरगंजका नेशनल मेडिकल कलेज, गण्डक अस्पतालले निःशुल्क रुपमा कोरोना उपचार सेवा दिने घोषणा गरे पनि कोरोनासँग लक्षण मिलेका बिरामी भर्ना लिन नै अस्वीकार गरेका थिए। जसका कारण उपचार समयमा हुन नसक्दा एक जनाको मृत्यु नै भएको थियो।
नारायणी बयोधा अस्पतालले चारवटा आइसोलेसन वार्ड रहेको जनाए पनि हालसम्म एकजना पनि बिरामीलाई उपचार गरेको छैन्। गत आइतबार जिल्ला प्रशासन कार्यालयमा डाकिएको बैठकमा निजी अस्पताल सञ्चालकहरुले कोरोना उपचार गर्न अस्वीकार गरेका थिए।