
काठमाडौं : कोभिड-१९ को संक्रमण फैलिँदै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शंकास्पद व्यक्तिहरुको कोभिड-१९ को परीक्षणलाई अगाडि बढाएको छ।
सातै प्रदेशमा गरी १३ वटा स्थानमा कोभिड-१९ को संक्रमण पत्ता लगाउन १३ वटा स्थानमा प्रयोगशाला निर्माण भएका छन्। यसरी निर्माण भएका प्रयोगशालामा पोलिमर चेन रियाक्सन (पीसीआर) पद्धतीबाट परीक्षण भइरहेको छ।
यो परीक्षणले भाइरसको उपस्थितिलाई परीक्षण गर्छ। यो परीक्षणले शरीरमा भाइरसको प्रवेश भएसँगै पत्ता लगाउँछ। त्यस्तै देशैभर तथा संक्रमित भएको आशंका गरिएका सम्भावति क्षेत्रमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट परीक्षणलाई अगाडि बढाइएको छ। देशभर सबै जिल्लामा यसको परीक्षण थालिएको छ।
यसको परीक्षणबाट शरीरमा भाइरस प्रवेश गरेसँगै भाइरस विरुद्ध लड्नका लागि शरीरले उत्पादन गर्ने एन्टिबडीको परीक्षण गर्छ। यस आधारमा शरीरमा भाइरस छ/छैन वा थियो/थिएन् भन्ने प्रष्ट हुन्छ।
क-कसलाई हुन्छ परीक्षण?
हालसम्म नेपाल मास परीक्षणमा भने गएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणका लागि निर्देशिका तयार गर्दै परीक्षण गर्ने व्यक्तिहरुको वर्गीकरण गरेको छ। मन्त्रालयले तयार पारेको फ्लो डायग्राम अनुसार विदेशबाट फर्किएका नेपालीहरुको परीक्षण गर्ने उल्लेख छ। तर, पछिल्लो समय स्थानीय रुपमा संक्रमित पनि देखिएपछि यसको दायरालाई भने बढाइएको छ।
विदेशबाट फर्किएर होम क्वारेन्टाइन वा क्वारेन्टाइन सेन्टरमा बसेकाहरुको स्वास्थ्य परीक्षण आरडीटी वा पीसीआरबाट गरिन्छ।
यसरी परीक्षण गर्दा नेगेटिभ आएमा २१ दिनसम्म नियमित क्वारेन्टाइनमा राखिन्छ। त्यस अवधिमा कुनै लक्षण देखा परेमा अस्पतालमा पुर्याइन्छ र पुन: परीक्षण गरिन्छ।
यदि परीक्षण पोजेटिभ आएमा त्यस्ता व्यक्तिलाई आइसोलेट गरी अस्पतालमा उपचारका लागि भर्ना गरिन्छ। यस्ता व्यक्तिलाई पुन: परीक्षण गरिन्छ। यसरी उनीहरुको नेगेटिभ नतिजा नआउँदासम्म परीक्षण गरिन्छ।
यसरी कोभिड-१९ को पोजेटिभ नतिजा आएमा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरिन्छ।
यदि आरडीटीबाट परीक्षण गर्दा पोजेटिभ आएमा पुन पीसीआरबाट परीक्षण गरिन्छ। आरडीटीबाट पोजेटिभ देखिए पनि पीसीआरबाट नेगेटिभ देखिन्छ।
यदि आरडीटीबाट नेगेटिभ आए पनि मानिसमा लक्षण देखिएको छ भने पनि रिभर्स ट्रान्सक्रिप्सन-पोलिमर चेन रियाक्सन (आरटी-पीसीआर)बाट परीक्षण गरिन्छ।
कुनै व्यक्तिमा लक्षण पनि देखिएको छैन। आरडीटीबाट नेगेटिभ देखिएको छ भने पनि त्यस्ता व्यक्तिको पनि पीसीआर परीक्षण हुन सक्छ। तर, सबैको होइन।
स्वास्थ्य मन्त्रालयको फ्लोचार्ट अनुसार आरडीटीबाट परीक्षण गरिएका कुल ब्यक्ति मध्ये १० प्रतिशतको रेन्डमली पीसीआरबाट परीक्षण गरिन्छ।