
भारत, अहमदाबादको एक सिभिल अस्पताललाई धर्मको आधारमा बिरामीकोसमूह विभाजन र फरक फरक उपचार गरेको आरोप लागेको छ।
त्यहाँ भर्ना भएका बिरामीहरुका अनुसार अप्रिल १२ तारिखसम्म सबै कोरोना संक्रमितहरुलाई एउटै वार्डमा राखिएको थियो। तर हाल हिन्दु र मुसल्मान बिरामीहरुलाई फरक फरक वार्डमा सारिएको बीबीसी हिन्दीले जनाएको छ।
एक १९ वर्षीय संक्रमितले चार दिनअघिसम्म सबै बिरामीलाई ए४ वार्डमा राखिएपनि हाल हिन्दुहरुलाई मात्र त्यहाँ राखी आफूहरुलाई सी४ वार्डमा सारिएको आरोप लगाए। ए४ वार्ड तुलनात्मक रुपमा सुविधायुक्त छ। संक्रमितहरुले यस विषयमा अस्पतालका कर्मचारीसँग प्रश्न गर्दा उपयुक्त जवाफ नपाएको बताउँछन्।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जीएच राठौडले भने धर्मको आरोपमा संक्रमितको वार्ड विभाजन गरिएको आरोप निराधार रहेको बताए। उनले भने,'बिरामीको स्थिति हेरेर सल्लाह र आवश्यकता बमोजिम गरेका हौं।'
तर यसअघि डाक्टर राठौडले इन्डियन एक्सप्रेससँगको अन्तर्वातामा भनेका थिए,'सरकारी आदेशको अनुसार हिन्दु र मुस्लिम बिरामीलाई फरक फरक वार्डमा राखेका हौं।'
मुस्लिम कार्यकर्ता दानिश क़ुरैशीले सोही अस्पतालमा उपचाररत् एक बिरामीले दिएको जनाकारी अनुसार हिन्दु धर्म मान्ने संक्रमितले पनि आफू मुस्लिमहरुसँग बस्न तयार नरहेको गुनासो गरेका थिए।
मुस्लिम नेता इकराम मिर्जाले भने,'हिन्दु मानिस पनि हामीसँग बस्न चाहँदैनन् र सरकार असंवैधानिक ढङ्गमा उनीहरुको साथ दिन्छ।'
डाक्टर राठौडले भने यो निराधार आरोप रहेको बताए। गुजरातको स्वास्थ्य तथा परिवार कल्याण विभागले पनि ट्वीटरमार्फत् यस विषयमा खेद प्रकट गरेको छ। लेखिएको छ : संक्रमितहरुलाई चिकित्सकको सल्लाह बमोजिम उनीहरुको स्वास्थ्य स्थिति र लक्षण र उमेरको आधारमा अलग राखिएको हो।
गुजरातको स्वास्थ्य मन्त्री किशोर कणानीले बीबीसीसँग भने,'बिरामीलाई कुन वार्डमा राख्ने त्यो सबै डाक्टरको हातमा छ। सरकारले धर्मको आधारमा छुट्याउने आदेश जारी गरेर हुँदैन।'
उनले यस्ता विषयमा अल्झनुको सट्टा सबैलाई आफ्नो काम गर्न दिनु पर्ने तर्क राखे।
गुजरात सरकारले १२ सय शैय्यासहितको अहमदाबाद सिभिल अस्पताललाई कोभिड-१९ को उपचारका लागि विशेष अस्पताल घोषित गरेको छ।
स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार कोविड-१९ संक्रमितको तीन वर्गमा विभाजन गरेर उपचार थालिएको छ। लक्षण देखिएका, संक्रमित तर स्वास्थ्य अवस्था सामान्य भएका र संक्रमणकै कारण स्थिति गम्भिर बनेकाहरुलाई फरक फरक ठाउँमा राखेर उपचार गराइरहेको मन्त्रीको दावी छ।
बुधवार बिहान सम्ममा गुजरातमा कोरोना संक्रमितको संख्या ६ सय १७ पुग्यो। जसमध्य ५५ जनाको उपचार भइरहेको छ भने २६ जनाको मृत्यु भइसकेको छ। सरकारले त्यहाँ अहमदाबाद वल्ड सिटी क्षेत्रमा कर्फ्यु लगाएको छ।