भरतपुर : चितवनमा बुधवार एउटा गैंडा मृत अवस्थामा भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैंडा मृत भेटिएको हो।
उक्त भाले गैंडाको खाग र खुर भने सुरक्षित रहेको छ। दिउँसो १ बजेको समयमा उक्त गैडा मृतावस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए। उनले भने, 'बुढो अवस्थाको गैंडा घोलमा डुबेको रहेछ, उद्धार गर्न पुग्दा मृत्यु भइसकेको रहेछ।'
गैंडा मृत भेटिएको क्षेत्र गैडाको पकेट क्षेत्रजस्तै हो। धेरैजसो निकुञ्जको गैंडा सुखीभार क्षेत्रमै छन्।
चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा हाल २४ गैंडाको मृत्यु भएको छ।