
कोभिड-१९ बाट इटालीमा मृत्यु हुनेको संख्या बुधवार अबेरसम्म २१ हजार ६ सय ४५ पुगिसकेको छ। इटालीको सिभिल प्रोटेक्सन डिपार्टमेन्टका अनुसार बुधवारसम्ममा इटालीमा एक लाख ६५ हजार १ सय ५५ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ।
बुधवार इटालीमा संक्रमित हुनेको संख्या घट्दै गएको छ। बुधवार अस्पताल भर्ना हुनेको संख्या २७ हजार ६ सय ४३ छ। जुन अघिल्लो दिनभन्दा तीन सय ६८ ले कमी हो। त्यस्तै आइसियुमा उपचार गराउनेहरुको संख्या पनि घट्दै गएको छ। यहाँ आइसियुमा उपचार गराउनेको संख्या तीन हजार ७६ छ। जुन अघिल्लो दिन भन्दा एक सय ७ ले कम हो। त्यस्तै इटालीमा ७४ हजार ६ सय ९६ जना आफ्नै घरमा आइसोलेसनमा रहेका छन्। जुन संक्रमितको ७१ प्रतिशत हो। उनीहरुमा कोभिड-१९ को लक्षण देखिएको छैन वा सामान्यमात्र देखिएको सिभिल प्रोटेक्सन डिपार्टमेन्टका प्रमुख एंगेलो बोरेलीले बताए।
अघिल्लो दिनमात्र इटालीमा ५ सय ७८ जनाको मृत्यु भएको उनले जानकारी दिए। इटालीमा हाल एक लाख पाँच हजार ४ सय १८ एक्टिभ केस रहेको छ। बुधवार एक्टिभ इन्फेक्सन एक हजार एक सय २७ ले बढेको उनले जानकारी दिए।
यता बर्लिनमा सामाजिक दुरी कायम गर्ने नीतिलाई थपिएको छ। जर्मन चान्स्लर एन्जेला मर्केलले बुधवार सामाजिक दुरीको नीतिलाई मे ३ सम्म थपेकी हुन्। जर्मनमा सार्वजनिक रुपमा दुई भन्दा बढी मानिसहरु भेला हुन रोक लगाइएको छ। भने १.५ मिटरको दुरी कायम गर्न तथा अनावश्यक व्यवसाय सञ्चालनमासमेत रोक लगाइएको छ।
जर्मनमा कन्ट्र्याक्ट ट्रेसिङका लागि डिजिटल प्रविधिको प्रयोग गरिएको छ। जर्मनीमा हालसम्म एक लाख ३४ हजार ७५३ जना संक्रमित भएका छन्। जसमध्ये तीन हजार आठ सय ४ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये ६६ हजार एक सय ६९ जना उपचारपछि घर फर्किएका छन्।
यता फ्रान्समा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १७ हजार एक सय ६७ पुगेको छ। जसमध्ये १० हजार ६ सय ४३ जना अस्पतालमा उपचारका क्रममा मृत्यु भएका हुन् भने ६ हजार पाँच सय २४ जनाको घरमै मृत्यु भएको हो।
मंगलवारको तुलनामा बुधवार मृतकको संख्या एक्कासी बढेको छ। मंगलवार सम्म यहाँ मृत्यु हुनेको संख्या १५ हजार सात सय २९ थियो।
बेलायतमा पनि मृतकको संख्या सात सय ६१ ले बढेको छ। यहाँ मृतकको संख्या १२ हजार आठ सय ६८ पुगेको छ। बुधवार बिहानसम्म बेलायतमा संक्रमितको संख्या ९८ हजार ४ सय ७६ पुगेको छ।