
काठमाडौं : विश्वमा देखिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नका लागि सीमा नाकामा थप सुरक्षाकर्मी खटाइएको छ।
शुक्रवार गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बढेको बैठकले सीमा आवजावत गर्नेमाथि निगरानी गर्ने सुरक्षाकर्मीलाई निर्देशन समेत दिएको थियो। त्यसै अनुसार थप ८ हजार सुरक्षाकर्मी व्यवस्थापन गरी खटाइएको छ। करिव ५ हजार सशस्त्र प्रहरीले सीमा नाकामा सुरक्षा दिदैँ आएका थियो। त्यस्तै ८७ वटा 'बोर्डर आउट पोष्ट' (बिओपी)को सङख्या थप गरेर १ सय २२ पुर्याइएको छ।
सशस्त्र प्रहरी बलको बराह बाहिनी मुख्यालय सुनसरीबाट १५ सय ४९ जना, छिन्नमन्ता बाहिनी महोत्तरीबाट ३२ सय ६२, गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट १९ जना, मुक्तिनाथ बाहिनी कास्कीबाट १८ जना, विन्ध्यवासीनी बाहिनी रुपन्देही २४ सय २० र वैद्यनाथ बाहिन मुख्यालय कैलालीबाट ११ सय १५ जना सशस्त्र प्रहरी खटाइएको हो।
शुक्रवार बसेको बैठकले नेपाल प्रहरीलाई समेत थप जन शक्ति सीमामा खटाउन निर्देशन दिएको थियो। पहाडी र हिमाली जिल्लामा भएका सुरक्षाकर्मीलाई आवश्यकता अनुसार तराईमा खटाउन गृहमन्त्री थापाले निर्देशन दिएका थिए। त्यस्तै ,गृहमन्त्री थापाले भिआइपी व्यक्तिका सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कटौती गरेर सीमामा खटाउन निर्देशन दिएका थिए।