- विक्रम गिरी -
काठमाडौं : पशुपतिनाथ मन्दिर मुन्तिर वाग्मती नदी छेउमा एक साधु 'तिर्खा लाग्यो कोही पानी त देउ' भन्दै कराउँदै थिए। वाग्मती किनारमा केही मानिस बसिरहेका देखिन्थे। उनीहरु पट्यार र दिक्क मानेर बसेझैँ लाग्यो। आपसमा भलाकुसारी गरिरहेका थिए उनीहरु। अलिक नजिक जाँदा नदी किनारमा शव राखेको देखियो। दुई तीन जनाले शवमाथि वाग्मतीको पानी छर्कँदै थिए। धेरै अनुमान गर्नै परेन, उनीहरु दाहसंस्कारको तयारीमा थिए। तिनै मलामीतर्फ हेरेर साधु पानीका लागि गुहार्दै थिए। तर, मलामी आफन्त गुमाएको पीडामा। यस्तोमा ती साधुतर्फ उनीहरुको ध्यानै गएन।
पशुपतिनाथ मन्दिर क्षेत्रमा पुग्दा सन्नाटा थियो। दर्शनार्थी कोही पनि थिएनन्। थिए त मलामी र तीन चार साधु। नदी किनारमा एउटा मात्र शव राखिएको थियो। किनारमा लहरै दाहसंस्कारका लागि बनाइएको स्थलमा दाउरा राखिएको थियो। अरु बेला दाउराका लागि कुर्नुपर्थ्यो। अहिले यहाँ लकडाउनमा दाहसंस्कार गर्न पहिलाको जस्तो शव ल्याइएको छैन। सरकारले दाहसंस्कारका लागि कुनै रोकटोक गरेको छैन। बरु दाहसंस्कारका लागि चाहिने स्रोधसाधनको पर्याप्त व्यवस्था गरेको छ।
'किन हो कुन्नि लडकडाउन सुरु भएयता दाहसंस्कार गर्न पहिलाको जस्तै शव ल्याएको पाइन्न,' पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशन डा घनश्याम खतिवडाले भने, 'हामीले दाहसंस्कारको सबै चाँजोपाँजो मिलाइदिएका छौं, कुनै कुराको कमी हुन दिन्नौं।'
वाग्मती पारी जान खोज्दा साँढेले बाटो छेक्यो। अजंगको साँढे पुलमा उभिएको। साँढेको हाल देख्दा निकै भोकाएको जस्तो। हत्तपत्त बाटो छोडेन। नदी पारी पनि साँढे यत्रतत्र। श्लेषमान्तक वनतर्फको बाटोमा गोबरैगोबर। लकडाउनयता उक्त क्षेत्रमा सरसफाइ गरेको रहेनछ। उकालो चढ्दा बाटोमा अर्का साधु भेटिए। उनले नेपालीमा कुरा गर्न सकेनन्। भारतबाट आएका साधुले हिन्दीमै जवाफ फर्काए। लकडाउनपछि बाहिरबाट आएका साधुले पशुपतिनाथ मन्दिर क्षेत्र छाडेको उनको भनाइ थियो। 'म पनि यहाँ धेरै बस्दैन, खानपिनको समस्या छ,' उनले भने।
मृगस्थली पुग्दा पनि बाटोमा साँढे नै थिए। साधु बस्ने कुटिया भित्र तीन साँढे भेटिए।
'लकडाउन सुरु भएपछि साँढे हामीसँगै कुटियामा बस्ने खाने गरेका छन्,' दिउँसोको भजनकिर्तनको तयारीमा रहेका योगी व्याघ्र वेदनाथले गुनासो गरे, 'भगवान शिवको बाहन साँढे (नन्दी)लाई नै पशुपतिनाथ मन्दिर पस्न मनाही गरिएको छ।' भगवान शिवको बाहन साँढेलाई पशुपति मन्दिर परिसरमा पस्न नदिएकामा वेदनाथ मात्र होइनन् त्यहाँ रहेका अरु साधु पनि खुशी थिएनन्। उनीहरुले साँढे सधैँ भगवान शिवको साथमा रहने धार्मिक कथन सुनाए।
'साँढेलाई भोकभोकै र यसरी अलपत्र पार्न हुँदैन,' योगी वेदनाथले भने, 'यो त सुहाउने काम भएन, मान्छेलाई पो रोक्ने हो, यी पशु कहाँ जान्छन?' उनले पशुपति क्षेत्र भित्रका साँढेलाई आहारको कमी भएको बताए। भोकका कारण पनि साधु भएको ठाउँमा तिनीहरु आउने गरेको उनको भनाइ थियो।
पशुपति क्षेत्रमा बस्दै आएका साधुसन्तलाई खाद्यान्न अभाव छ। उनीहरुले पशुपति क्षेत्र विकास कोषले आफूहरुको समस्याबारे चासो नदिएको गुनासो गरे।
'कोषले लकडाउनपछि एक बोरा चामल उपलब्ध गराएको छ,' योगी वेदनाथले भने, 'यतिका साधुसन्तलाई यसले पुग्छ?'
त्यही एक बोरा चामल पनि उनीहरुले प्रयोग गरेका छैनन्।
'हामी भिखारी होइनौँ, यो चामल प्रयोग गर्दैनौँ, कोषकै कर्मचारीलाई फिर्ता गछौँ, नभए परेवाले खान्छन्,' उनले भने। यहाँ बस्दै आएका साधुसन्तले पहिला दर्शनार्थीले ल्याइदिएको खाद्यान्न तथा अन्य सामग्रीले खानपिनको जोहो गर्दै आएका थिए। अहिले कोही पनि नआउँदा उनीहरुलाई समस्या भएको छ। पहिला देखिकै बचेको सामग्रीका भरमा उनीहरु बस्दै आएका छन्। यहाँका साधुसन्तले उल्टै भोकाएर आउनेलाई समेत खानाको प्रबन्ध मिलाउने गरेका छन्।
'दिनहुँ ५० जना भन्दा बढी भोकै छौँ भन्दै खाना खान आउँछन्,' योगी वेदनाथले भने, 'भोकै आउनेलाई खुवाएर पठाउनै पर्यो।'
मृगबाटिका भित्र ठूलो संख्यामा गृह राखिएका छन्। मृगबाटिका भित्रै बोकासमेत राखिएको छ। मृग र बोकालाई समेत आहारको अभाव भएको साधुहरुले बताए।
'हाम्रो त यो अवस्था छ, यिनलाई कसले हेर्ने?,' उनीहरु गुनासो गर्दै थिए। मृग र बोकाका लागि हरियो घाँसको ब्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो। 'मृगको खान्की नै हरियो घाँस हो, पिठो खुवाएर हुन्छ?' उनीहरुले कोषका कर्मचारीप्रति आक्रोश व्यक्त गरे। कोषका कर्मचारीहरु नियमित रुपमा रेखदेख तथा अनुगमनका लागि नआउने गरेको उनीहरुको दुःखेसो थियो।
बाटोभरी यत्रतत्र फोहरै फोहर देखिन्थ्यो। कुहेको केरा र चनामात्रै। राम मन्दिरबाट फर्कँदै गर्दा बाटोमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ९ का कैलाश खड्का भेटिए। उहाँ भोक मेटाउन मैतीदेवीबाट हिँडेरै पशुपति क्षेत्र पुगेका रहेछन्।
'डेरामा खानपिनको समस्या छ, खाना खान यतै आउँछौँ,' उनले भने। हिँडैरै घर जान पनि असहज भएको उनी बताउँछन्। गाउँलेको डरले घर नगएको खड्काको भनाइ छ।
'बाहिरबाट रोग ल्याएर आयो भन्लान भन्ने डरले गएको छैन,' उनले भने, 'बरु जसोतसो गरी लकडाउन यतै काट्छु।' खड्कासँगै काठमाडौँमा मजदुरी गरी जिविकोपार्जन गर्दै अन्य दुई जना पनि खाना खान साधुसन्तकहाँ जाँदै थिए।
पशुपति क्षेत्र विकाष कोषका कार्यकारी निर्देशक डा खतिवडाले साँढेलाई पशुपतिनाथ मन्दिर भित्र प्रवेशमा रोक लगाएको स्वीकार गरे।
'लकडाउनपछि साँढेलाई मन्दिर परिसरमा जान दिएका छैनौँ,' उनले भने, 'भित्र जताततै गोबर नै गोबर हुन्छ, फोहर सफा गर्न सकिन्न, यस्तो महामारीमा कर्मचारीलाई घरबाट बोलाउन पनि भएन।'
लकडाउन अघि साँढेलाई मन्दिर भित्र पस्नबाट नरोकेको खतिवडाले बताए। साँढेले दुबो र बगैँचा नाश गर्ने भएकाले पशुपतिका चारैतर्फका ढोका थुनेको उनको भनाई छ। सरसफाइलाई ध्यानमा राख्दै साँढेलाई बाहिरै राखिएको खतिवडाले बताए।
कार्यकारी निर्देशक खतिवडाले पशुपति क्षेत्रमा रहेका साधुसन्त, बाँदर, मृग, साँढे, बोकालगायतलाई खानपिनको प्रबन्ध मिलाइएको दावी गरे।
'मृगबाटिकामा रहेका १ सय ५७ मृगका लागि पर्याप्त खानेकुराको ब्यवस्था गरेका छौँ,' उनले भने, 'पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले छाडेर गएका बोकालाई पनि मृग बाटिकामै राखेका छौँ, उनीहरुलाई खानेकुराको कमी छैन।'
बाँदरका लागि पवन संघाइले एक दशकदेखि खानेकुराको व्यवस्था गर्दै आएको उनले जानकारी दिए। 'उहाँले नियमित बाँदरको रेखदेख गर्दै आउनुभएको छ,' खतिवडाले भने। पशुपति क्षेत्रमा झण्डै ४० हजारको संख्यामा परेवा रहेको उनले जानकारी दिए। 'दैनिक ३० पाथी जति चामल र मकै परेवालाई खुवाउने गरेका छौँ,' खतिवडाले भने। लकडाउनपछि पशुपति क्षेत्रको सरसफाइमा १० जना कर्मचारी खटाइएको छ। उनीहरुले पालैपालो काम गर्ने गरेको उनी बताउँछन्।
'पाँच पाँच जनाको समूहले काम गर्ने गरेको छ, लकडाउनका कारण कर्मचारी कटौती गरी काम चलाएका छौँ,' डा खतिवडाले भने। उनले दैनिक ३०० देखि ५०० जनालाई खाना खाने प्रबन्धसमेत मिलाइएको बताए।