नेपालगञ्ज : भेरी अस्पतालमा कोभिड—१९ को परीक्षणका लागि काठमाडौँबाट विज्ञसहितको टोली आज यहाँ आउने भएको छ। विज्ञको टोलीले पिसिआर(पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम दिएपछि सम्भवतः शुक्रबारदेखि परीक्षण शुरु हुने अस्पतालले जनाएको छ।
अस्पतालका प्रमुख डा प्रकाशबहादुर थापाका अनुसार कोरोना परीक्षण गर्ने पिसिआर मेशिन एक साताअघि नै अस्पतालमा जडान भइसके पनि सञ्चालनविज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाइ भएकाले तत्काल परीक्षण शुरु हुन सकेको थिएन। नेपालगञ्जमा परीक्षणको शुभारम्भपछि टोली सुदूरपश्चिमको सेती अञ्चल अस्पताल जाने कार्यक्रम रहेको डा थापाले बताए।
प्रदेश नं ५ सरकारले भेरी अस्पतालबाट कोरोना भाइरसको पिसिआर परीक्षण गर्ने निर्णय गर्नासाथ यसको तयारी शुरु गरिएको थियो। त्यसका लागि अस्पतालले एक माइक्रोबायोलोजिष्ट र अन्य ल्याब टेक्निशियनलाई तयारी अवस्थामा समेत राखिसकेको छ।
डा थापाका अनुसार अस्पतालमा रु २५ लाख मूल्यको पिसिआर परीक्षणको मूल यन्त्र र अन्य सहायक उपकरण जडान गरिएका छन्। आवश्यक जनशक्ति र पर्याप्त किट्स भएमा दिनमा १०० भन्दा बढी नमूना जाँच गर्न सकिने अस्पतालले जनाएको छ।