
काठमाडौं : सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका नेपाल नागरिकको फिर्ताको प्रक्रिया प्रारम्भ गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। कोरोनाको उच्च जोखिममा रहेका देशबाट फर्कन चाहने नागरिकलाई फिर्ता तथा उद्दारको प्रक्रिया अघि बढाउन सर्वोच्चले आदेश गरेको हो।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बिहीबार आवश्यक प्रक्रिया अघि बढाउन आदेश गरेको हो।
नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै सुक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले बिना भेदभाव, बिना स्वच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने÷उद्दारका लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न विपक्षीहरुका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ।’ सर्वोच्चको आदेशमा भनिएको छ।
अदालतले कोरोना जोखिम रहेका देशमा कार्यरत नेपाली श्रमिकको अवस्था तत्काल यकिन गर्न दूतावास र श्रम सहचारीमार्फत प्रतिवेदन बनाउन अदालतले सरकारलाई आदेश गरेको छ । श्रमिकहरुको भेदभावरहित तरिकाबाट स्वास्थ्य उपचारको प्रबन्धका लागि कूटनीतिक रुपमा समन्वय गर्न पनि आदेशमा भनिएको छ ।