
काठमाडौं : सरकारले तत्कालीन अवस्थालाई मध्यनजर गरेर 'लक डाउन'को अवधि फेरि बढाएर वैशाख १५ पुर्याएको छ। हालसम्म १६ जनामा कोरोनाको संक्रमण देखिएको छ। कोरोना संक्रमित हो, होइन जाँच गर्नका लागि आवश्यक स्वास्थ्य सामाग्री सबै प्रदेश पुर्याई तीब्र गतिमा जाँच भइरहेको छ।
त्यस्तै, स्थानीय सरकारसँगको समन्वय र अगुवाईमा विभिन्न गैह्रसरकारी संस्थाहरुले स्वास्थ्य सामाग्री तथा राहत वितरण कार्य गरिरहेको छ। डेनमार्कको गैह्र सरकारी संस्था डिसिए नेपालले स्थानीय संस्थाहरुको सहकार्यमा विभिन्न जिल्लामा लगभग ६५ लाख बराबरको राहत तथा स्वास्थ्य सामाग्रीको वितरण गरेको छ।
हाल सम्म कंचनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली र डोटी जिल्ला गरी १५६६ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिमको खाद्य सामाग्री वितरण गरिसकेको छ। त्यस्तै विभिन्न पालिकाहरुको समन्वयमा क्वारेन्टाइनका लागि १४० बेड बनाउन पुग्ने सामाग्री, ५७ पीपीई सेट, १२ थर्मल गन, २७१ लिटर ‘स्यानिटाइजर’, १६१ प्याकेट चिकित्सा ग्लोभ्स, १७६३ स्यानेटरी प्याड, १०६२० साबुन तथा १०० सेट बाल्टिन र जग वितरण गरिसकेको छ ।
यी सबै सामाग्री आवश्यकता अनुसार विभिन्न समूदाय, क्वारेन्टाइन सेन्टर तथा स्वास्थ्य संस्थाहरुमा पुगिसकेको छ।
'हामीले सरकारले तोकेको एकद्धार प्रणालीमार्फत् नै सबै सामाग्री पालिकाहरुलाई हस्तान्तरण गरेका हौं,' डिसिए नेपालका ‘मानवीय सहायता तथा विपद् जोखिम न्युनिकरण म्यानेजर, दिनेश गुरुङले भने, 'पहिलो चरणमा पालिकाहरुको अनुरोध र माग अनुसार नै सहयोग गरेका छौं। आवश्यक परे थप सहयोग पनि सोही अनुसार गर्नेछौं।'