PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिँदै दीर्घरोगका बिरामी



रासस

काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिँदै दीर्घरोगका बिरामी
फाइल फोटो।

काठमाडौं : काठमाडौं महानगरपालिकाले लकडाउन अवधिभर दिएको निःशुल्क एम्बुलेन्स सेवामा दुई दिनमै ५० जनाले सेवा लिएका छन्। महानगरपालिकाले संयुक्त  एम्बुलेन्स चालक संघ नेपालसँगको गहकार्यमा लामो समयदेखि औषधि प्रयोग गरिरहेका दीर्घ रोगका बिरामीका लागि अस्पतालसम्म आउन र जानका लागि निःशुल्क सेवा प्रदान गरेको थियो।

उक्त सेवाबाट दुई दिनमा ५० जनाले सेवा प्रदान गरेका महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। त्यस्ता बिरामीलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इायलासिस सेन्टरलगायतमा लैजाने गरिएको पनि महानगरपालिकाले जानकारी दिएको छ।

कामपा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (काठमाडौं जिल्ला कार्यसमिति)सँग सम्झौता गरी लकडाउन अवधिभर २४सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको थियो। सोही सम्झौताअनुसार पाँच वटा एम्बुलेन्सले लकडाउनको समयमा हृदयघात, मिर्गौला रोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवा दिइरहेको छ। आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएको प्रवक्ता डङ्गोलको भनाइ छ।

लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने त्यस्ता बिरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान ल्याउन समस्या भए महानगरपालिकाले हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न पनि उनले आग्रह गरे।

महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिन महानगरले एम्बुलेन्स सेवालाई यसअघि नै तयारी अवस्थामा राखेको छ। उक्त सेवा लिनका लागि १०२ नम्बर मा सम्पर्क गर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell