PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

जाँच कडाई नहुँदा जोखिममा वीरगंज भन्सार, सेनीटाइजबिनै सवारी चालक र कामदारको प्रवेश



राधेश्याम पटेल

जाँच कडाई नहुँदा जोखिममा वीरगंज भन्सार, सेनीटाइजबिनै सवारी चालक र कामदारको प्रवेश

वीरगंज : नेपाल–भारतमा करीब तीन साताको लकडाउन जारी छ। कोरोना जोखिम कम गर्न यस्तो प्रयास जारी रहे पनि भन्सार नाकामा भने गतिलो जाँच छैन।

वीरगंज भन्सारकैं भन्सार अधिकारीका अनुसार भन्सारमा नाकामा गर्नुपर्ने कडाइ र उच्च सतर्कता सन्तोषजनक छैन।

मंगलवार भारत बिहारको रिगाबाट दाल बोकेर आएका एकजना भारतीय चालकको स्वास्थ्य अवस्था कोरोनासँग मिल्दोजुल्दो देखिएपछि जीतपुरसिमरा–२३ भलुहीका स्थानीयहरूले उनलाई अस्पतालमा उपचार गराउन भनेर आग्रह गरे।

वीरगंजका व्यवसायी मुकेश अग्रवालको नितनपुरमा रहेको तिरूपति मैदा मिल र विनय इन्टरप्राइजेजको गोदाममा खाद्यान्नका मालवस्तुहरू भण्डारण भइरहेको छ। चना, केराउ लिएर हप्तामा दुई–तीनवटा भारतीय गाडीहरू भारतको कानपुर, उत्तरप्रदेश, बिहार, नागाल्यान्डलगायत ठाउँबाट आइरहेको स्थानीय बताउँछन्।

करीब आधा दर्जन भारतीयहरू पनि उक्त अवधिमा भारतबाट आएको उनीहरुले बताए। यस विषयमा भन्सार अधिकारी र प्रहरी प्रशासन पनि मौन रहेको भलुहीका ताहिर अन्सारीले गुनासो गरे। भने, 'उद्योगको गोदाममा सामान अनलोड गर्ने भारतीय सँगसँगै भलुहीका पनि केही स्थानीयहरू छन्। उनीहरूलाई पनि क्वारेन्टाइनमा स्वास्थ्य उपचार गर्नुपर्छ र एकजना भारतीयमा उच्च ज्वरो देखिएको र त्यसपछि उनी बेपत्ता भएका छन्। तिनको पनि खोजी कार्य हुनुपर्छ।'

वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहका प्रमुख उमेश श्रेष्ठले भारत तथा तेस्रो मुलुकबाट मालसामान बोकेर आउने कन्टेनरहरूलाई सेनिटाइज गर्न व्यवस्था नरहेको बताए। उनले भने, 'हामीले महानगरपालिकासँग यस विषयमा सहयोग मागेका हौं। तर अहिलेसम्म कन्टेनर अथवा रेललाई विसङ्क्रमित गर्न कुनैपनि पहल नभएको चर्चा गर्दै अहिलेको परिप्रेक्ष्यमा भारतबाट आउने मालसामान र रेललाई पनि उच्च सतर्कताका साथ हेर्नुपर्ने सरोकारवाला निकायले ध्यान दिनुपर्छ।'

सुक्खा बन्दरगाहमा सामान लिन आउने व्यवसायी तथा क्लियरिङ एजेन्ट र चालकहरूको थर्मल गनबाट ज्वरो परीक्षण भइरहेको उनले भने। 'उच्च ज्वरो देखिएपछि हामीले फर्काइरहेका छौं। भारतबाट आउने रेल र कन्टेनरको सवालमा सावधानी अपनाइएको छैन,' उनले भने। त्यसैगरी वीरगंज भन्सारको दुईवटा नाकामध्ये वीरगंज भन्सार नाकामध्ये पुरानो वीरगंज भन्सारबाट रक्सौलमा ओसारिएको टिपरले कोइला मात्र ल्याइरहेको छ भने भारत तथा तेस्रो मुलुकको आउने औषधि, दाल, चामल, चना, तरकारी, ग्यास, पेट्रोल, डिजेललगायतको सामान आइसिपी भन्सारबाट आइरहेको वीरगंज भन्सारले जनाएको छ।

वीरगंज भन्सारको दुईवटा नाकाबाट अहिले ५ सय हाराहारीको गाडी नेपाल भित्रिरहेको वीरगंज भन्सारका प्रशासक ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनका अनुसार आइसिपीबाट आउने गाडीहरूको टायरमा विसङ्क्रमित गर्ने स्प्रे गरेर गाडीहरू जाँचपास गरिरहेको तर त्यो पर्याप्त नभएको बताए। भन्सार कर्मचारीहरूको लागि ग्लोब्स र पञ्जाको अभाव भएपछि भन्सार विभागबाट आफूहरूले मगाएकोमा स्थानीय स्तरमा कोरोनासँग लड्न सर्ककता अपनाउने सुरक्षा सामग्रीको अभाव देखिएकोले व्यवस्थापन गर्न गाह्रो भइरहेको बताए। उनले भने, 'सरकारले भनेको छ अति आवश्यक सामाग्री रोक्नु हुँदैन तर हामी बाध्य छौं। ग्रीन र रेड च्यानलबाट आउने सबै सामग्रीहरू जाँच पास भइरहेको छ। वीरगंजमा ब्लिचिङ पाउडर पाइरहेको छैन। विसङ्क्रमित गर्ने स्रोत साधनको अभाव छ। यस विषयमा म आफै सरकारलाई १३ बुँदे समस्या समेटेर जानकारी गराउँदैछौं। भोलिदेखि के कसरी गर्ने भन्ने निर्देशन आएपछि गर्ने छौं।

वीरगंज भन्सारले ग्रीन च्यानलबाट आउने सामानमात्र पास गर्ने र रेड च्यानलबाट आउने सामानलाई तीनचार दिन क्वारेन्टाइनमा राखेर मात्र पठाउने तयारी गरिरहेको छ भने भारतबाट भित्रिने गाडी चालक तथा सहचालकहरूलाई आइसिपी नाकामा स्थापना गरिएको हेल्पडेस्कले स्वास्थय परीक्षणपछि मात्र भित्रिन दिन नियम लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell