PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

पर्साका क्वारेन्टाइनमा रहेका १८१ जनाको र्‍यापिड टेस्ट,जालिम मियाँको कोभिड १९ परीक्षण नेगेटिभ



राधेश्याम पटेल

पर्साका क्वारेन्टाइनमा रहेका १८१ जनाको र्‍यापिड टेस्ट,जालिम मियाँको कोभिड १९ परीक्षण नेगेटिभ

वीरगंज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य विभाग र प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयको समन्वयमा पर्साका विभिन्न स्थानीय तहमा क्वारेन्टाइनका बसिरहेका व्यक्तिहरूको र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरू गरिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरू र स्वास्थ्य शाखाको समन्वयमा पर्साको १४ वटा पालिकामध्ये ११ वटामा रहेका १८१ जनाको परीक्षण गरिएको स्वास्थ्य विभागका प्रतिनिधि डा नरेन्द्र खनालले जानकारी दिए। परीक्षण गरिनेमा भारतीय नागरिक समेत रहेका छन्।

खनालका अनुसार पर्सा जिल्लाको अधिकांश स्थानीय तहमा प्रारम्भिक चरणमा र्‍यापिड टेस्ट नतीजा नेगेटिभ आएको छ। बिहीवारदेखि परीक्षण कार्यलाई तीव्रता दिएको उनले बताए।

पर्साको विभिन्न पालिकामा भएको र्‍यापिड टेस्टको नतीजा नेगेटिभ आएको छ। पकाहामैनपुरको ५, छिपहरमाईको ३, कालिकामाईको ३, पटेर्वासुगौलीको १२ गरी २२ वटा रिपोर्ट नेगेटिभ आएको छ।

वीरगंजको छपकैयाको दुईवटा मस्जिद, वीरगंज–२६ सुगौलीको दुईवटा टोल र विभिन्न जमाती र जालीम मियाँको परिवारजनको गरी ७४ वटा रिपोर्टहरू नेगेटिभ आएको छ।

प्रदेश सरकार मातहतको स्वास्थ्य कार्यालय, वीरगंजका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार वीरगंज महानगरपालिकामा ७७ जना पुरूष र २ जना महिला गरी ७९ जना क्वारेन्टाइनमा रहेका छन्।

जीराभवानी गाउँपालिकामा २० शैयाको क्वारेन्टाइनमा ८ जना पुरूष, ५ जना महिला गरी १३ जना, विन्दवासिनीमा १५ शैयाको क्वारेन्टाइनमा २ जना पुरूष, पर्सागढीमा ३ शैयाको क्वारेन्टाइनमा ३ जना पुरूष, छिपहरमाई गापामा २५ शैयाको क्वारेन्टाइनमा १९ पुरूष, ५ महिला गरी २४ जना, पकाहामैनपुर गापामा १५ शैयाको क्वारेन्टाइनमा १२ जना पुरूष, २० शैयाको  पोखरिया नपाको क्वारेन्टाइनमा ८ पुरूष, ५ महिला गरी १३ जना रहेका छन्। 

यस्तै,  २० शैयाको क्वारेन्टाइन रहेको पटेर्वासुगौलीमा १३ जना पुरूष, ३ जना महिला गरी १६ जना, कालिकामाईमा १२ शैयाको क्वारेन्टाइनमा ६ जना पुरूष, सखुवाप्रसौनीमा १० शैयाको क्वारेन्टाइनमा २ पुरूष, २ महिला गरी चारजना र २० शैयाको क्वारेन्टाइन रहेको धोबिनीमा ९ जना पुरूष मात्र गरी कूल पर्सामा ३०८ शैयाको क्वारेन्टाइन क्षमता रहेको छ भने १५९ पुरूष, २२ महिला गरी कूल १८१ जना क्वारेन्टाइनमा रहेका छन्।

यसैगरी नारायणी अस्पतालका आइसोलेसनमा ३ भारतीय र एक रौतहटका गरी चारजना कोरोना संक्रमितको उपचार भइरहेको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell