PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

घर जान पाउनुपर्ने माग गर्दै क्वारेन्टाइनमा बसेकाले गरे बसमा तोडफोड



रासस

घर जान पाउनुपर्ने माग गर्दै क्वारेन्टाइनमा बसेकाले गरे बसमा तोडफोड
Photo: google.com/maps

राँझा : बाँकेको जमुनाह नाकास्थित दशगजा क्षेत्रको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकले घर जान पाउनुपर्ने माग गर्दै आज बसमा तोडफोड गरेका छन्। पन्ध्र दिन क्वारेन्टाइनमा रहेका सबै जनाको कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ आए पनि थप केही दिन क्वारेन्टाइनमै बस्नुपर्ने भएपछि उनीहरु आक्रोशित भएका हुन्। आज गरिएको स्वास्थ्य परीक्षणमा क्वारेन्टाइनमा रहेका १८१ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

रिपोर्ट नेगेटिभ आएपछि नेपालगञ्ज उपमहानगरपालिकाले दशगजा क्षेत्रमा बस पुर्‍याएर सबैलाई घर पठाउने तयारी गरिरहेका बेला बाँके प्रशासन र गृहमन्त्रालयले उनीहरुलाई तत्काल घर पठाउन नमिल्ने भन्दै रोक लगाएको थियो। घर जाने तयारीमा रहेका उनीहरुलाई गृहमन्त्रालयको आदेशअनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले क्वारेन्टाइन नछोड्न निर्देशन दिएपछि उनीहरु आक्रोशित भएका थिए।

उनीहरुले उपमहानगरपालिकाद्वारा क्वारेन्टाइन स्थलमा पुर्‍याएका तीन बसमा तोडफोड गरी ढोका र झ्यालको सिसा फुटाइदिएका छन्। गाडीमा तोडफोड गर्न लागेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका १८१ जनालाई विगत १५ दिनदेखि दशगजा क्षेत्रमा अस्थायी क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा दाङका ३१, बाँकेका २७, जुम्लाका १५, बर्दियाका १४, रोल्पाका १३, रुकुमका १०, दैलेखका १०, सल्यानका नौ, सुर्खेतका सात, अछामका पाँच, झापाका पाँच, डोल्पाका तीन, प्यूठानका दुई, स्याङ्जाका दुई, नवलपरासीका दुई, मुगुका दुई, सप्तरीका एक, उदयपुरका एक, रुपन्देहीका एक र अर्घाखाँचीका एकलगायत छन्।

गाउँपालिका उपाध्यक्षसहित २० जना क्वारेन्टाइनमा

प्यूठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष तुलसी सुनारलाई क्वारेन्टाइनमा राखिएको छ। काठमाडौंबाट आज घर आएकी सुनारलाई वडा नम्बर ५ सालिबिसौनामा रहेको पूर्ण आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए।

उनसहित आएका चार जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने अध्यक्ष गिरीको भनाइ छ। चौध दिन क्वारेन्टाइनमा बसेकाको द्रुत परीक्षण (आरडिटी) गरिनेछ। आरडिटीमा पोजेटिभ रिपोर्ट आएमा थप जाँचका लागि पठाइने र नेगेटिभ रिपोर्ट आएमा घर पठाइने बताइएको छ।

आज जिल्ला भित्रिएका २० जनालाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाका मुख्य सडक तथा भित्रिबाटोमार्फत भित्रिएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने सर्तसहित सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा ल्याएर राखिएको हो। स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा ६४ जना रहेका छन्। उनीहरु जिल्ला बाहिर दाङ, काठमाडौं, भारत र विदेशबाट आएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell