PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फूलमतीको लकडाउन डायरी : कोरोना कहर काटेर आउने पर्यटकका लागि बनाउँदैछिन् किम्बुको परिकार



पहिलोपोस्ट

फूलमतीको लकडाउन डायरी : कोरोना कहर काटेर आउने पर्यटकका लागि बनाउँदैछिन् किम्बुको परिकार

  • विष्णुकान्त घिमिरे

तनहुँ बन्दिपुरकी फूलमती थापा ५० वर्षकी भइन्। उनले पर्यटकीय स्थल बन्दिपुरमा होटल सञ्चालन गरेको चाहिं ८ वर्ष भयो।  

उनको सौर्य होटलमा चैत ९ गतेसम्म दर्जन पाहुना थिए। कोरोना भाइरस संक्रमणको त्रास बढेपछि १० गते प्राय पाहुना निस्किए। धन्न त्यही दिन साँझ लकडाउन घोषणा भयो।

त्यसयता फूलमती फुर्सदिली छिन्। सुरुवाती एक दुई दिन त काम नगरी बस्न उनलाई पनि आरामै महसुस भयो। तर केही दिनमै उनले व्यस्त दैनिकी 'मिस' गरिन्। चुप लागेर बस्नु हुन्न भन्ने महसुस गरिन्। र थालिन् घर वरपर उपलब्ध किम्बुको परिकार बनाउन।

मधुमेह र पेटका रोगीलाई किम्बुले खुब फाइदा गर्छ भन्ने मेसो पाएकी रहिछन् उनले। त्यसैले किम्बुको कस्ता परिकार बन्छ भन्ने बारे खोजी पनि गरेकी रहिछन्। लकडाउनको समयलाई फाइदै भयो।

बिहान सबेरै बारीमा पुग्ने, पाकेर काला भएका किम्बु टिप्ने र ल्याएर केलाउने दैनिकी बन्यो।

बिहनको खाना खाएपछि उनी ती किम्बु पकाउन सुरु गर्छिन्। कहिले अचार बनाएर सिसिमा भर्छिन् त कहिले जाम बनाउँछिन्। दैनिक ३ देखि ४ बट्टा जाम या अचार तयार हुन्छ।

त्यसरी तयार बट्टाहरु के गर्ने त? 

जवाफ सहज रहेछ। भनिन्,'लकडाउन खुले पछि पर्यटकत आइहाल्छ्न् नि। घरमै बनाएको जाम र अचार खान दिन्छु। पैसा पनि जोगिने अनि पाहुना पनि खुसी हुने।'

कुनै फ्लेभर प्रीजर्भेटिभ नराखिएको आफ्नै जाम अनि अचारको स्वादमा खुब विश्वास छ उनलाई। पहिले पहिले पनि फूर्सदमा जाम नबनाएकी होइनन्। त्यसैले अहिले लकडाउनको सदुपयोग गर्दै उत्पादित यी सामाग्री एक वर्षसम्मका लागि खान योग्न हुने उनको अनुभव छ।

किम्बु मात्र नभइ सिजन अनुसार अन्य फलफूलको पनि उस्तै सदुपयोग गर्छिन् उनी। वर्खामा नस्पाती वाइन र जाम बनाउने गरेको उनले सुनाइन्। वाइन एक लिटरको ४०० मा आफ्नै होटलका पाहुनालाई मात्र बेच्छिन्। 'बजारमा पुर्‍याउने गरी धेरै उत्पादन गर्न कहाँ फूर्सद हुनु?'

नस्पातीको सुकुटी पनि बनाउने रहेछिन्। ती सुकुटी हाइकिङ जाने पाहुनालाई बाटो खाजा पठाउने गरेको उनले बताइन्।

दुई बेलायती र एक कोलम्बियन नागरिक भने लकडाउनका कारण उनकै होटलमा थिए। जसमध्य बेलायती नागरिक चाहिँ १२ दिन होटलमै बसे। त्यसपछि ब्रिटिस क्याम्पको सहयोगमा फर्किए। कोलम्बियन नागरिक नतलिया भने फूलमतीको होटलमै रहिन्।

अहिले उनी स्वयंसेवकको रुपमा होटलमा बसेकी छिन्। नतलिया घरको देखि बारिको काममा सघाउँछिन्। फूलमतीले खेती गर्ने तरिका सिकाउँदै छिन् उनलाई। नेपाली खाना औधी मन पराउने नतलिया माटोसँग खेल्न रमाएको बताउँछिन्।

फूलमती भन्छिन् – 'आफ्नो संस्कृति, भाषा र कृषिकर्म बिदेशीले चाख दिएर सिकेको देख्दा  निकै आनन्द आउँछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell