
झन्डै ५० वर्षयता लगातार आर्थिक वृद्धिको रफ्तारमा हिँडेको चीनको गति रोकिएको छ। चीनको आर्थिक वृद्धिमा पहिलो पटक ऋणात्मक परिणाम हात परेको हो। त्यहाँको राष्ट्रिय तथ्यांक विभागका अनुसार सन् २०२० को प्रथम त्रैमासिकले गिरावटको नतिजा दिएको छ। दुई आर्थिक वर्षको प्रथम त्रैमासिकमा चीनले ६.८ प्रतिशत गिरावट भोगेको हो। १४ ट्रिलियन डलरको अर्थतन्त्र रहेको चीनका लागि यो गिरावट सानो होइन।
कोरोना भाइरस संक्रमणका कारण अर्थ व्यवस्थामा परेको यस्तो असरसँगै चीनको करिव आधा शताब्दीको निरन्तर आर्थिक वृद्धि श्रृङ्खलाको अन्त्य भएको छ। यसअघि टियानानमेन स्क्वायर क्र्याक डाउन, सार्स माहामारी र विश्वव्यापी वित्तीय संकटमा पनि चीनको अर्थतन्त्रमा यति असर परेको थिएन जति कोरोना भाइरस संक्रमणका कारण पर्यो।
चीनले कोरोना भाइरस संक्रमणविरुद्ध उद्योग बन्द गरेर पनि सफलता हासिल गरेको छ। त्यहाँ जनवरीमै कलकारखाना ठप्प रहे। कार्यालयहरु संचालमा आएनन्। अधिकांश उत्पादन रोकिए। जसका बाबजुद फेब्रुअरीमा दशौं हजारौं चिनियाँ नागरिक कोरोना भाइरस संक्रमित भए। अवस्था नाजुक बन्यो।
यिनै कारण विश्व अर्थतन्त्रको 'एकमात्र पावर इन्जिन' मानिएको चीनलाई आर्थिक धक्का पार्यो। जसलाई फेरि उही आर्थिक ट्र्याकमा फर्काउनु चुनौतिपूर्ण रहेको न्यूयोर्क टाइम्समा जनाइएको छ। युरोप र अमेरिकामा फैलँदो कोरोना भाइरस, लकडाउन र त्यहाँको आर्थिक व्यवस्थामा पर्ने असरले पनि चीनलाई असर गर्ने जनाइएको छ।
चीनको तथ्याङ्क विभागले पनि यस परिस्थितिलाई सन् १९७६ पछिको पहिलो आर्थिक संकुचनको संज्ञा दिएको छ। त्यस वर्ष चीन सांस्कृतिक क्रान्तिको अन्तिम दिनहरुमा थियो।