PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अब पार्टी प्यालेसबाट तरकारी किन्ने, भिड कम गराउन नयाँ रणनीति



पहिलोपोस्ट

अब पार्टी प्यालेसबाट तरकारी किन्ने, भिड कम गराउन नयाँ रणनीति

काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी बजार दुई सातादेखि बन्द छ। भिडभाडका कारण कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम भएपछि तरकारी बजार बन्द गरिएको हो। तरकारी बजार बन्द हुँदा उपभोक्ता तथा व्यापारी मर्कामा छन्।

भिडभाड, उपभोक्ताको मागलाई मध्यनगर गर्दै कालीमाटी तरकारी बजारले केही दिनदेखि विभिन्न पार्टी प्यालेसलाई प्रयोग गरेर तरकारी बिक्री वितरण गरिरहेको छ। काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय काठमाडौं,कालिमाटी फलफूल तथा तरकारी बजार, बल्खु तरकारी बजारसहित विभिन्न पार्टी प्यालेस संचालकसँगको संयुक्त छलफलपछि पार्टी प्यालेसको ठाउँ प्रयोग गरेर बिक्री थालिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप निर्देशक विनय श्रेष्ठले जानकारी दिए।

'कालीमाटीमा भिडभाड भएपछि केही खुल्ला ठाउँ खोजेका थियौं। पार्टी प्यालेस व्यवसायीहरुले बिक्री गर्न सहमति दिएपछि त्यहीँबाट बिक्री थालिएको हो,'उपनिर्देशक श्रेष्ठले भने।

सुरुमा स्थानीय प्रशासनले विभिन्न ११ वटा ठाउँमा अस्थायी बिक्री केन्द्र तोकेको थियो। तर, त्यहाँ बिक्री गर्न असहज भएपछि केही व्यापारीले बिक्री नै बन्द गरेका थिए। केही व्यापारी कालिमाटी तरकारी बजारमा नै फर्किएका थिए।

'व्यापारीका लागि पानी चाहिन्‍छ, बिजुली चाहिन्छ। शैचालय जानु पर्छ। त्यसैले हामीले पार्टी प्यालेसलाई रोजेका हौं। भित्रको भाग होइन, बाहिरी क्षेत्र मात्र प्रयोग गर्ने हो,' उप निर्देशक श्रेष्ठले भने।

कालीमाटी, बाफल,स्वयम्भू चोक, वनस्थली, वसुन्धरा, गोपिकृष्ण हल नजिकैका पार्टी प्यालेसमा बिक्री थालिएको हो। त्यस्तै बल्खुका तरकारी व्यवसायीहरुले कोटेश्वर, रत्नपार्क, लैनचौर, तीनकुने क्षेत्रमा रहेका पार्टी प्यालेसमा बिक्री थालेको उपनिर्देशक श्रेष्ठले जानकारी दिए।

लकडाउनको समयमा कालीमाटी तरकारी बजारमा भिड बढेपछि स्थानीय प्रशासनले तरकारी बिक्री गर्न रोक लगाएको थियो। सामान्य समयमा कालीमाटी तरकारी बजारमा दैनिक साढे ८ सय टन तरकारी आउने गरको थियो। तर, लकडाउनपछि भने साढे ३ सय देखि ५ सय टन तरकारी आउने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell