PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

कोरोनाको कहरलाई लिएर चीन र फ्रान्सबीच चर्को जुहारी, पश्चिमा मुलकसँग मिडिया वार



विधुर ढकाल

कोरोनाको कहरलाई लिएर चीन र फ्रान्सबीच चर्को जुहारी, पश्चिमा मुलकसँग मिडिया वार

कोभिड-१९ पान्डेमिकविरुद्ध विश्व यतिबेला जुधिरहेको छ। चीनको वुहानबाट गत डिसेम्बर अन्तिममा आउटब्रेक भएको कोभिड - १९ का कारण विश्वरभर १९ लाख ९१ हजार पाँच सय ६२ जना संक्रमित भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। बिहीवार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ७६ हजार छ सय ४७ जना संक्रमित भएका छन्। बिहीवार पछिल्लो २४ घण्टामा सात हजार आठ सय ७५ जनाको मृत्यु हुँदा मृतकको संख्या एक लाख ३० हजार आठ सय ८५ पुगिसकेको छ।

सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या युरोपमा छ। यहाँ १० लाख १३ हजार ९३ जना संक्रमित हुँदा ८९ हजार तीन सय १७ जनाको मृत्यु भएको छ। त्यस्तै अमेरिकामा सात लाख सात हजार एक सय २१ जना संक्रमित हुँदा ३० हजार दुई सय ४५ जनाको मृत्यु भएको छ।

संक्रमितको र मृतकको संख्या बढ्दै जाँदा पश्चिमा मुलुक र चीनबीच कुटनीतिक तथा 'मिडिया वार' नै चल्न थालेको छ।

कोभिड-१९ आउटब्रेक भएसँगै चीन र अमेरिकाबीच मिडिया वार जारी छ। अब यो युद्ध दक्षिण अमेरिका हुँदै युरोपेली मुलुकहरु तर्फ पनि प्रवेश गरेको छ। अप्रिल १२ गते पेरिस स्थित चिनियाँ दूतावासको वेबसाइटमा फ्रेन्च भाषामा एउटा लेख प्रकाशित भयो। लेखमा लेखकको नाम भने खुलाइएको छैन।

'विकृत तथ्यहरुको खुलासा- पेरिसस्थित चिनियाँ कूटनीतिज्ञको अवलोकन' शीर्षकमा प्रकाशित लेखमा पश्चिमा देशहरुको आलोचना गरिएको थियो।

विश्व माहामारी विरुद्ध लडिरहेको बेला केही पश्चिमा मिडियाहरु, वुद्धिजीवी भनिनेहरु तथा राजनीतिज्ञहरुले चीनविरुद्ध प्रचार गरिरहेको भन्दै त्यसको विरोध गरिएको छ लेखमा। सो लेखमा पश्चिमा मुलुकका नेताले भोटको राजनीति गरेको, मानिसहरुले मृत्युको मुखमा एक्लै छाडिरहेको, मानिसहरुलाई रोग र भोकले मर्न छाडिरहेको आरोप लगाइएको छ।

एयर क्राफ्ट क्यारियरका कमाण्डरले आफ्ना अधिकारीको सुरक्षाका लागि आवाज उठाउँदा बर्खास्त गरिएको लगायतका विषयमा सो लेखमा पश्चिमा देशहरुको आरोप लगाइएको छ। नर्सिङ होमहरुले विरामीको उपचार नगरेको वृद्धहरुलाई मर्न छाडिरहेको आरोपसमेत लेखमा लगाइएको छ।

दूतावासबाट प्रकाशित लेखसँगै फ्रान्सको विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई स्पष्टिकरण सोधेको छ। विदेशमन्त्री जिन यीभेस ले ड्रियनले दूतावासको वक्तव्य फ्रान्सेली राष्ट्रपति इमानुयल माक्रोन र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच रहेको विश्वास र मित्रताको सम्बन्ध विपरीत रहेको बताएको छ।

पेरिसस्थित चिनियाँ दूतावासले पछिल्लो पटक जनसम्पर्क अभियान नै चलाएको थियो। पश्चिमा मुलुकहरुबाट चीनको आलोचना भइरहँदा चिनियाँ दूतावासले त्यसको विरुद्धमा अभियान छेडेको हो।

दूतावासको वेबसाइटमा प्रकाशित लेखको विषयलाई लिएर फ्रेन्च सिनेटका सदस्यहरुले त्यसलाई हटाउनुपर्ने भन्दै विदेश मन्त्रालयलाई दबाब दिएका छन्। आइतवार प्रकाशित लेखसँगै दूतावासको आलोचना भएपछि दूतावासले लगातार रुपमा ट्विट गर्दै पश्चिमा मुलुकहरुको आलोचना गरिरहेको छ।

उक्त लेखमा पश्चिमा नर्सिङ होमहरुले जिम्मेवारीबाट पन्छिएर मानिसहरुलाई मर्न छाडिरहेको भन्दै नर्सिङ होमहरुको फ्रेन्च ट्रम इएचपीएड प्रयोग गरिएको छ। यही शब्दलाई लिएर आलोचना भइरहेको छ।

सो लेखमा ताइवानी अधिकारीहरुको समर्थन पाएका ८० जना संसदहरुले विश्व स्वास्थ्य संगठनका प्रमुखलाई नश्लीय गालीसहित 'नेग्रो' शब्दको प्रयोग गर्दै हस्ताक्षर गरेको भन्दै आलोचनासमेत गरिएको छ।

'म अहिलेसम्म बुझ्न सकिरहेको छैन कि फ्रान्सका यी सबै जननिर्वाचित प्रतिनिधिहरुको दिमागमा के छ,' उक्त लेखमा भनिएको छ।

यता, चिनियाँ विदेश मन्त्रालयले भने आफ्ना कूटनीतिज्ञको बचाउ गरेको छ। बुधवार नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिआनले यसबीच चीन र फ्रान्सका राष्ट्रप्रमुखले तीन पटक टेलिफोन वार्ता गरेको र एक अर्कालाई कोभिड-१९ विरुद्ध लड्न सहयोग गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरेका छन्।

'दुई देशका जनताहरु कोभिड-१९ लाई परास्त गर्नका लागि मिलेर काम गरिरहेका छन्। हाम्रो उच्चस्तरीय सम्बन्धका विषयमा लिएर आएका अभिव्यक्तिहरुले हाम्रा जनताको मन छोएको छ,' उनले भनेका छन्, 'पश्चिमा मिडिया, स्वघोषित विज्ञहरु तथा राजनीतिज्ञहरुले पान्डेमिकको विषयमा गलत सूचना फैलाइरहेका छन् र चीनलाई आक्षेप लगाइरहेका छन्। चीन फ्रान्सको सम्बन्धको विषयमा पनि कुरा गरिरहेका छन्।'

पेरिसस्थित दूतावासले यस्ता गलत आक्षेपहरुको खण्डन गरिरहेको भन्दै प्रवक्ता चाओले दूतावासकै शैलीमा पश्चिमा जगतको आलोचना गरे।

'हामीलाई आशा छ फ्रान्सेली पक्षमा रहेको गलत बुझाइ हट्ने छ। चीनले फ्रान्सको महामारी विरुद्धको अभियानको कहिले पनि आलोचना गरेको छैन र गर्ने पनि छैन,' उनले भने।

पछिल्लो समय चिनियाँ कुटनीतिज्ञहरु पश्चिमा मिडिया तथा विश्लेषणहरुको खुला रुपमा आलोचना गर्दै आएका छन्।

'तपाईँसँग अहिले नयाँ ब्रान्डका चिनियाँ कुटनीतिज्ञहरु छन्। जो एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन्,' पेरिसस्थित इन्स्टिच्युट अफ मोनटाइग्नेका एसिया मामिलाका सल्लाहकार फ्रानसिस गोडमेन्टले भने, 'कूटनीतिज्ञहरुले उनीहरु ट्रोल भएजस्तै गरेर व्यवहार देखाइरहेका छन् जुन कुरा आफ्नो दूतावासको वेबसाइटमा हुनुपर्ने हो त्यो कुरा उनीहरुको व्यक्तिगत सामाजिक सञ्जालमा हुनुपर्ने हो।'

वुधवार नै फ्रान्सको सिनेटका सदस्यहरुले यस विषयमा विदेशमन्त्रीसँग छलफल गरेका थिए। छलफलका क्रममा चिनियाँ राजदूतले स्पष्टिकरणमा के भने भन्दै सोधिएको थियो। तर, विदेशमन्त्रीले चिनियाँ विदेश मन्त्रालयकै भाषामा चीनले फ्रान्सको विरोध नगरेको र नगर्ने बताएका थिए।

फ्रान्सेली विदेश मन्त्रालयमा स्पष्टिकरण दिएर आएका चिनियाँ राजदूत लु सायले लामो वक्तव्य निकाल्दै दुई देशबीचको सम्बन्धमा कुनै असर नपर्ने र भाइरस मानवताको साझा दुस्मन बताएका छन्। वक्तव्यमा उनले २००३ मा सार्स महामारी रहँदै गर्दा फ्रान्सका प्रधानमन्त्रीले चीनको भ्रमण गरेको र यसपटक कोभिड-१९ महामारी रहँदै गर्दा दुवै देशका राष्ट्रप्रमुखहरुले पटक पटक संवाद गरेको सम्झिएका छन्।

चीनको कोभिड-१९ विरुद्धको अभियानमा वुहानस्थित फ्रान्सेली कन्सुलर जनरल ओलिभर गुयोनाभर्च ७६ दिनसम्म वुहानमै बसेको भन्दै आभार प्रकट गरेका छन्। उनले कोभिड-१९ विरुद्ध फ्रान्स सरकारले चालेको कदमको प्रसंसा गर्दै विदेश मन्त्रीले कोभिड-१९ लाई लिएर हुने असमानता र विभेद नगरिने प्रतिवद्धता जनाएको भन्दै प्रशंसा गरे।

'यद्दपि, फ्रान्समा महामारीको अवस्था अझै गम्भीर छ। तर पनि हामीलाई विश्वास छ कि फ्रान्सले यसलाई जित्ने छ,' उनले अगाडि भनेका छन्, 'हामी फ्रान्ससँग दुई देशका नेताहरुबीच महामारीविरुद्ध लड्न भएको सहमतिलाई कार्यान्वयनका लागि मिलेर काम गर्न चाहन्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell