विश्वव्यापी पान्डेमिकका रुपमा फैलिरहेको कोभिड-१९ को प्रकोप दक्षिण एसियातिर बढ्दै गएको छ। विश्वभर २१ लाख ५९ हजार चार सय ५० जनालाई संक्रमित बनाइसकेको कोभिड-१९ बाट एक लाख ४५ हजार पाँच सय ६८ जनाको मृत्यु भइसकेको जोन हप्किन्स विश्व विद्यालयको तथ्यांकमा उल्लेख छ।
चीनको वुहानबाट आउटब्रेक भएको कोभिड-१९ पहिलो पटक जनवरी २७ मा दक्षिण एसियामा पहिलो पटक देखिएको थियो। श्रीलंकमा पहिलो पटक जनवरी २७ मा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। जनवरी ३० मा भारतमा पनि पहिलो संक्रमण पुष्टि भयो।
अप्रिल १६ सम्म आइपुग्दा कोभिड-१९ बाट दक्षिण एसियामा २३ हजार १४१ जना संक्रमित भइसकेका छन्। फेब्रुअरी २४ पहिलो केस अफगानिस्थानमा दर्ता भयो। त्यसको अर्को दिन फेब्रुअरी २५ मा नेपालमा पहिलो केस दर्ता भयो। फेब्रुअरी २६ मा पाकिस्तानमा एकै पटक दुई केस दर्ता भए। भुटानमा मार्च ६ मा पहिलो केस दर्ता भयो।
मार्च ८ मा मालदिभ्समा एकै पटक चार केस दर्ता भए। सोही दिन बंगलादेशमा पनि एकै पटक तीन केस पुष्टि भयो।
हालसम्म आइपुग्दा दक्षिण एसियामा सबैभन्दा बढी भारतमा संक्रमित देखिएका छन्। विश्वमा कोभिड-१९ को प्रभाव क्षेत्रको रुपमा भारत १५ औं नम्बरमा उक्लेको छ। यहाँ अप्रिल १६ सम्म संक्रमित हुनेको संख्या १३ हजार चार सय ९५ पुगेको छ भने चार सय ४८ जनाको मृत्यु भइसकेको छ।
भारतमा पहिलो केस जनवरी ३० अनि फेब्रुअरीको अन्त्य सम्म तीन केस मात्र दर्ता भएका थिए। मार्च १५ सम्म आइपुग्दा यो संख्या १ सय १३ पुग्यो। मार्च ३१ मा संक्रमितको संख्या १४ सय नाघ्यो। अप्रिल १६ सम्म १३ हजार चार सय ९५ पुगिसकेको छ। यो तथ्यांक हेर्दा कोभिड-१९ को संक्रमितको ग्राफ उकालो चलेको छ।
भारतपछि दक्षिण एसियामा बढी संक्रमित देखियो पाकिस्तानमा। अहिले विश्वमा संक्रमितहरुको सूचीको २७ औं स्थानमा पुगेको छ यो मुलुक। यहाँ सात हजार २५ जना संक्रमित भइसकेका छन्। फेब्रुअरी २६ मा एकैपटक दुई केस देखिएको पाकिस्तानमा त्यसको तीन दिनपछि फेब्रुअरी २९ मा चार पुग्यो। मार्च ३१ सम्म यो संख्या बढेर एक हजार ९ सय नाघ्यो। अप्रिल १६ सम्म आइपुग्दा सात हजार नाघेको छ। पाकिस्तानमा मृत्यु हुनेको संख्या एक सय ३५ पुगेको छ।
बंगलादेशमा मार्च ८ मा पहिलो पटक तीन केस देखिएकोमा मार्च ३१ सम्म पुग्दा संक्रमितको संख्या ५१ पुग्यो। जुन अप्रिल १६ सम्म आइपुग्दा गुणांकमा बृद्धि हुँदै एक हजार ५ सय ७२ पुगेको छ। यहाँ कोभिड १९ बाट मृत्यु हुनेको संख्या ६० पुगिसकेको छ। बंगलादेश संक्रमित देशहरुको ग्राफमा ६१ औं स्थानमा छ अहिले।
त्यस्तै यो ग्राफमा ७८ औं स्थानमा रहेको अफगानिस्तानमा अप्रिल १६ सम्म आइपुग्दा संक्रमितको संख्या आठ सय ४० पुगेको छ। यहाँ मृत्यु हुनेको संख्या ३० छ। फेब्रुअरी २४ मा पहिलो केस पुष्टि भएको अफगानस्थानमा मार्च ८ मा तीन केस देखिएर ४ पुग्यो। मार्च ३१ मा यो संख्या १ सय ७४ पुग्यो। अप्रिल १६ मा आइपुग्दा आठ सय ४० पुग्यो।
विश्वव्यापी संक्रमणको यो ग्राफमा श्रीलंका १ सय ११ औं स्थानमा छ। जनवरी २७ मा पहिलो केस देखिएको श्रीलंकामा हालसम्म एक सय ३८ जना संक्रमित भएका छन्। यहाँ मृत्यु हुनेको संख्या सात छ। यहाँ दोस्रो केस मार्च ११ मा देखिएको थियो। मार्च १४ मा संक्रमितको संख्या १० पुग्यो। मार्च ३१ मा यो संख्या १ सय ४३ पुग्यो। अप्रिल १६ सम्म आइपुग्दा यो ग्राफ दोब्बरले उकालो लाग्यो दुई सय ३३।
दक्षिण एसियाको अर्को देश मालदिभ्स संक्रमणको ग्राफमा १ सय ५१ औं स्थानमा छ। मालदिभ्समा हालसम्म २५ जनामा संक्रमण भएको पुष्टि भएको छ। मार्च ८ मा एकै पटक ४ केस मार्च ३१ मा १८ मार्च १६ मा २५ पुग्यो।
संक्रमणको यो ग्राफमा १ सय ६३ औं स्थानमा रहेको नेपालमा हालसम्म १६ केस पुष्टि भएका छन्। फेब्रुअरी २५ पहिलो केस दर्ता भएको नेपालमा एक महिनापछि दोस्रो केस देखा पर्यो मार्च २३ मा। तेस्रो केस मार्च २५, चौंथो केस २७ र पाँचौं केस २८ मा पुष्टि भयो।
अप्रिल २ मा छैटौं केस देखा परेको नेपालमा अप्रिल ४ मा एकैपटक तीन केस दर्ता भए। अप्रिल १२ मा आइपुग्दा १२ जनामा नै कोभिड-१९ को संक्रमण पुष्टि भयो। अप्रिल १३ मा थप २ र १४ मा थप दुई केस पुष्टि भए।
नेपालमा हालसम्म एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी १५ जना उपचारकै क्रममा रहेका छन्।
मार्च ६ मा पहिलो केस दर्ता भएको भुटानमा भने यो संख्या ५ मा नै रोकिएको छ।
चीनको वुहान हुँदै इरान, दक्षिण कोरियामा संक्रमण फैलाउँदै युरोप पुगेको कोरोना भाइरस यतिबेला युरोप र अमेरिकमा फैलिरहेको छ। दक्षिण एसिया तथा अफ्रिक्री सव साहरा क्षेत्रमा यसको प्रभाव तुलनात्मक कम देखिन्छ।
अल्प विकसित तथा अति कम विकसित देशहरुमा संक्रमणको संख्या न्युन देखिएको छ। यस विषयमा विज्ञहरुले विभिन्न कारणहरु औंल्याएका छन्। जसमध्य पहिलो कारण भनेको परीक्षणको अभाव हो।
विश्व स्वास्थ्य संगठनले पनि कोभिड-१९ को नियन्त्रणका लागि परीक्षण परीक्षण र पुन: परीक्षणमा जोड दिएको छ।
त्यस्तै, संक्रमण कम पुष्टि हुनुको अर्को कारण भनेको बाहिरी विश्वसँगको एक्सपोजरमा कमी हुने सक्ने बताइएको छ।
कोरोना भाइरस पहिले जहाँ जहाँ पुगेको छ त्यस क्षेत्र वा देश भनेको चीनसँगको सम्पर्क बढी भएका देश हुन्। चीनसँग युरोप र अमेरिकाको यात्रा सम्पर्क पक्कै पनि अन्य कम विकसित देशहरुको तुलनामा बढी रहेको छ। त्यसैले पनि यसको प्रभाव बढी परेको हुने हावर्ड विश्वविद्यालयका इपिडिमियोलोजिस्ट मेगन मुरेले बताएका छन्।
त्यस्तै मृतकको संख्या पनि अल्प विकसित अफ्रिकी तथा एसियाली मुलुकहरुमा कमी छ। मृत्यु हुनेको अधिकांश ६० वर्ष माथिको उमेर समूहका छन्। अफ्रिकाको जनसंख्याको ६० प्रतिशत २५ वर्ष मुनिका छन्। त्यस्तै जम्मा पाँच प्रतिशत ६० वर्षको उमेर समूहको छ। एसियामा १२ प्रतिशत जनसंख्या ६० वर्ष माथिका छन्। त्यही युरोपमा २४ प्रतिशत र उत्तर अमेरिकामा २१ प्रतिशत ६० वर्ष माथिको जनसंख्या छ।
कोरोना भाइरसको संक्रमण फैलुनुमा अर्को कारण भनेको जनघनत्व हो। यसैको उदाहारण अहिले भारतमा लिन सकिन्छ। त्यस्तै पाकिस्तानमा पनि शहरी क्षेत्रमा संक्रमण बढी देखिएको छ। कम विकसित देशहरुमा केही शहरबाहेक ग्रामीण इलाकामा जनघनत्व कम छ। अहिले विश्वभर सामाजिक दुरी कायम गर्ने अभियान चलिरहेको छ। ग्रामीण इलाकामा जनघनत्वको कमीले आफैमा सामाजिक दुरी काम रहँदै आएको छ। त्यसैले दक्षिण एसियामा भारत र पाकिस्तान र बंगलादेशमा यसको प्रभाव देखिन्छ। यहाँको जनघन्त्व बढी हुँदा संक्रमितको संख्या पनि बढ्दै गएको छ।