PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

कटहरीका ऋषिदेवहरू सोध्छन्, ‘सरकारले कि राहत देओस्, कि काम, के हामी भोकै मर्नु?’



अनन्तराज न्यौपाने

कटहरीका ऋषिदेवहरू सोध्छन्, ‘सरकारले कि राहत देओस्, कि काम, के हामी भोकै मर्नु?’

विराटनगर : मलक्याइन (मालिकनी)ले लकडाउन छ भन्दै गेट खोल्नै मानिनन्। मालिकले सापटीमा भए पनि केही रकम देलान् र चामल किनेर ल्याउँला भन्ने रत्नी ऋषिदेवको सपना चकनाचुर भयो।

एउटा रित्तो झोला बोकेर हिँडेकी रत्नी कटहरी चौकबाट रित्तै झोला लिएर घर फर्किइन्। घर भन्नु के छ र, नहरका डिलमा एउटा सानो चुहिने झुपडी।

यहाँ रत्नी, उनका श्रीमान् शम्भु र छोरी निशा ओत लागेर दिनरात काट्छन्। छेउकै खोल्सामा हात गाडीगाडी निशा माछा खोज्दैथिई। तीन जनालाई थोरै तिहुन पुग्ने माछा त उसले चार घण्टामा फेला पारी तर के सित मुछ्ने माछा? उपाय छैन।

गहुँ काटिएको खेतमा बिहानभरि रत्नीले सिला खोजेकी थिई। दुई मुठा गहुँ जम्मा भएको रहेछ। आजको रात त्यही गहुँ पोलेर उनीहरू ‘ओह्रा’ खानेछन् र साथमा भुटेको माछा।

‘गाउँपालिकाले दिएको राहत सकियो’, रत्नीले भनिन्, ‘शम्भु बिहानै काम खोज्न निस्केका थिए, आइपुगेका छैनन्। केही लिएर आउने आशा छैन। हिजो पनि छुच्छै (केही नलिई) फर्किएका थिए।’

शम्भु र रत्नीका २ छोरी र २ छोरा छन्। बिहान देखि कसैले केही खाएका छैनन्। साँझ ओह्रा र माछा खाएर पानीले पेट भर्नेछन्।

मनेत्रीको ७ वर्षको छोरो नीरज र ५ वर्षकी छोरी राधिका थालमा भुजा खाइरहेका छन्। थालमा भुजामात्र छ, तरकारी केही छैन। मनेत्री र उनका पतिका सन्तान ४ छोरी र ३ छोरा हुन्। जेठी भूमिका चुलामा माछा भुट्दैछिन्। दिनभर लगाएर भूमिकाले नहरमा माछा खोजिन्। आधा किलोजति निस्कियो। उनीहरूको आजको रात भुजा र माछा खाएर बित्छ।

मनेत्रीको ९ जनाकै परिवारले शुक्रवार बिहानदेखि केही खाएको छैन। उनका श्रीमान् पनि शम्भुसँगै काम खोज्न एकाबिहानै निस्किएका हुन्। उनले आफ्नो श्रीमानको नाम भन्न मानिनन्। भनिन्, ‘हामीले आफ्नो मरद (श्रीमान्)को नाम भन्नु हुँदैन। पाप लाग्छ।’

विराटनगर महानगरसित सिमाना जोडिएको कटहरी गाउँपालिका वडा नम्बर २ स्थित नहरका डिलमा मुसहर (ऋषिदेव) परिवारका २५ परिवार छन्। यहाँका लोग्ने मान्छेहरू असंगठित क्षेत्रका मजदुर हुन्। कोही कसैको हली बसेका छन्, कोही माटोको काम गर्छन्, कोही धान, गहुँ काट्छन्। बेलाअनुसार जे भेट्टायो त्यही काम गर्छन् र पेट पाल्छन्।

कसैका घरमा खाना बनाउने ग्यास चुला छैन। स्टोभ पनि यहाँ बल्दैन। सबैले झुपडीबाहिर आगँनमा वा झुपडीको दलानमा माटाको एउटा सानो चुला बनाएका छन् तर दाउराको ठूलो अभाव छ। उनीहरू धेरै जसो पराल बालेर भात पकाउँछन्। इन्धनका लागि गाउँघरमा झिक्रा खोज्छन्।

दाल, भात, तरकारी उनीहरूका घरमा कहिल्यै पाक्तैन। भातमा अलिकति नुन, एउटा खुर्सानी र एक टुक्रा प्याज भयो भने थाक टर्छ। रोटीमा पनि नुन र तेल भयो भने पुग्छ। अरू कहाँ पाउनु?

सुको ऋषिदेवकी बबिता सुकेको उखुको ढोड बालेर खिचडी पकाउँदै थिइन्। राहतमा मिलेको चामल, दाल, आलु र नुन एकै ठाउँमा हालेर उनले खिचडी पकाइन्।

‘राहतले आजसम्म त पुग्यो’, सुकोले भनिन्, ‘भोलिदेखि हामी र हाम्रा ३ छोरीले कसरी हातमुख जोर्ने थाहा छैन। मरद जहिले पनि कामको खोजीमा जान्छ र छुच्छै (रित्तै) फर्किन्छ।’

उनले थपिन्, ‘सरकारले कि हामीलाई पुग्ने राहत देओस्, कि काम देओस्। हामी काम गरेर खाने मुसहरहरू हौँ। के हामी भोकै मर्नु?’

कटहरी गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषित भए पनि कसैका घरमा चर्पी छैन। शौचका लागि सबै नहर वा खेततिर जान्छन्। पानीको स्रोतका लागि गाउँभरि एउटा ट्युबवेल छ। केटाकेटी रमाउने ठाउँ पनि यही ट्युववेल हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell