
काठमाडौं : लकडाउनका कारण आर्थिक रुपमा प्रभावित मजदूरहरुको पक्षमा सञ्चार माध्यमदेखि सामाजिक सञ्जाल तातिएको छ। आर्थिक चपेटामा परेकाहरु अनेक समस्या झेल्दै सयौं किलोमिटर दूरी पैदल नै पार गरिरहेको खबरहरु सार्वजनिक भएपछि मजदूरको पक्षमा आवाज उठेको हो।
सरकारले दैनिक ज्याला मजदूरी गरेर खाने वर्गका लागि उचित व्यवस्थापन बीना लकडाउन लागू गरेकाले आलोचना समेत भइरहेको छ। दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको पक्षमा नेपाली कलाकारहरुले पनि आवाज उठाउन थालेका छन्।
कलाकार नाजिर हुसेनले सामाजिक सञ्जालमार्फत् मजदूरहरुको पक्षमा ऐक्यवद्धता जनाएका छन्। उनले ‘कि खान देउ, कि जान देउ’ भन्ने नारासहित तस्विर सेयर गरेका छन्। जसमा उनले मजदुरहरु पनि सुरक्षित रहन आवश्यक रहेको समेत जिकिर गरेका छन्।
सामाजिक सञ्जालमा यसरी चौतर्फी विरोध भएपछि सरकारले उपत्यका छाडेर यात्रा गर्न नदिने निर्णय गरेको छ। साथै समस्यामा परेकालाई खाना खुवाउने बताइएको छ।
शुक्रबार कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकबाट सो निर्णय भएको हो। प्रधानमन्त्रीको निर्देशनमा उक्त निर्णय भएको बताइएको छ।