PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

लकडाउनका कारण वीरगंजमा औषधि अभाव, समस्या समाधानका लागि प्रहरी र सानो पाइलाको सहकार्यमा ‘हेल्थ डेस्क’



राधेश्याम पटेल

लकडाउनका कारण वीरगंजमा औषधि अभाव, समस्या समाधानका लागि प्रहरी र सानो पाइलाको सहकार्यमा ‘हेल्थ डेस्क’

वीरगंज : वीरगंज-१० रानीघाटका बद्रीप्रसाद साह उच्च रक्तचापका बिरामी हुन्। उनले भारतीय कम्पनीको ‘ओमेन सिटी’ नामक औषधि खाने गरेका छन्। तर, चैत ११ गतेदेखि नेपालमा जारी लकडाउनका कारण उनको औषधि वीरगंजमा पाउन छाड्यो।

वीरगंजको विभिन्न औषधि पसलमा धाउँदा पनि औषधि नपाएपछि उनी चिन्तित छन्।

उनले भने, ‘लकडाउनले धेरै औषधिहरु वीरगंजमा पाइरहेको छैन, रक्सौल जाने कन्डिसन पनि छैन। त्यसकारण कहाँबाट औषधि ल्याउने विषयमा चिन्तित छु। ’

वीरगंज २१ लिपनीविर्ताकी सुगान्धी देवीले पनि आफना ५ वर्षीया छोरा राजा बाबुको छारे रोगको औषधि वीरगंजमा नपाएर हैरान भएको बताइन्। उनी ‘लिभेरा’ र ‘फिनोटोइन’ नामक सिरप वीरगंजमा नपाएको गुनासो गरिन्।

यसरी दैनिक सयौँ बिरामी वीरगंजमा औषधि नपाएर निराश बन्ने गरेका छन्। उनीहरुलाई प्रशासनले रक्सौल जान दिएको छैन अर्को तर्फ औषधि नपाएर उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको बताएका छन्।

वीरगंज अलखियामठ नजिकै रहेको भवानी मेडिकलले वीरगंजमा नपाउने औषधिको लागि जिल्ला प्रहरी कार्यालय पर्साले स्थापना गरेको हेल्थ डेस्कले रक्सौलबाट ती औषधिहरु दैनिक रुपमा मगाउने गरेको बताए।

जिल्ला प्रहरी कार्यालय पर्साले अत्यावश्यक औषधि रक्सौलबाट ल्याउन हेल्थ डेस्क स्थापना गरेको र सोही हेल्थ डेस्कमा वीरगंजको सानो पाइला संस्थाले रक्सौलबाट दैनिक रुपमा अति आवश्यक औषधिको आपूर्ति गरेर सर्वसाधारणलाई उपलब्ध गराइरहेको छ।

सानो पाइलाका स्वयंसेवक दिपेश गुप्ताका अनुसार दैनिक रुपमा ३ सयजनाले ९८५५०३६१४४ ह्वाट्सएप नम्बरमा सम्पर्क वा औषधिको फोटो पठाएर अर्डर दिइरहेको बताए। संस्थाका केही स्वयंसेवकहरु मितेरी पुलमा पुगेर रक्सौलका केही स्वयंसेवकको सहयोगमा औषधि ल्याइरहेको उनले बताए।

उनले औषधिको मूल्य भन्दा १.४ प्रतिशत बट्टा जोडेर भारतीय औषधि बिक्रेताहरुले औषधि बिक्री गरिरहेको जानकारी गराए। अत्यावश्यक औषधि चाहिएको खण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा अथवा सो नम्बरमा सम्पर्क गर्न उनले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell