खस्यौली : कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले एकीकृत भिडियो संवाद गरेका छन्। दाङस्थित राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र नागरिक समाजका अगुवासँग भएको संवादमा स्वास्थ्य सामग्री उपलब्ध भएकाले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा लाग्न सघाउन उनले आग्रह गरे।
सो अवसरमा उनले स्थानीय श्रमलाई प्रयोग गरेर गर्ने काम र विकास निर्माणका काम नरोक्न निर्देशन दिँदै स्थानीय तहलाई कोरोनाविरुद्धको काम अघि बढाउन रकम पठाइएकाले स्थानीय तहका काम प्रभावकारी बनाउने गरी सहयोग गर्न आग्रह गरे।
दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न र त्यो एकद्वार प्रणालीबाट अघि बढाउन मुख्यमन्त्री पोखरेलले आग्रह गरे। दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्नलगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएकाले आवश्यक व्यवस्थापनका लागि मिलेर अघि बढ्न तथा पीडितले पाउने व्यवस्था मिलाउन र राहतको दुरुपयोग रोक्न शुरुदेखि निगरानी गर्नुपर्नेमा जोड दिए।
प्रदेश सरकारले रुपन्देहीका बुटवल र भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निर्माण गरेको र त्यहाँ सघन उपचार कक्षसहितको उपचारको व्यवस्था रहेको जानकारी दिँदै उनले भैरहवामा प्रयोगशाला परीक्षण शुरु गरिएको तथा नेपालगञ्ज र दाङमा प्रयोगशाला सञ्चालनको तयारीमा रहेको बताए।
सर्वपक्षीय भिडियो संवादमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपाली, नेकपा दाङ इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टीकाराम खड्का र नागरिक समाजका संयोजक चन्द्रराज पन्त सहभागी थिए।