PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

उदयपुरमा देखिएका १२ जना कोरोना संक्रमित घुमेका थिए पाँच जिल्ला : विवाहदेखि धार्मिक पर्वमा सहभागी, 'आरडीटीको नतिजा लुकाइयो'



प्रकाश भण्डारी

उदयपुरमा देखिएका १२ जना कोरोना संक्रमित घुमेका थिए पाँच जिल्ला : विवाहदेखि धार्मिक पर्वमा सहभागी, 'आरडीटीको नतिजा लुकाइयो'

काठमाडौं: शुक्रबार उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमित चार महिनाअघि नै नेपाल आएर विवाह समारोहमा सहभागी भएको खुलेको छ। भारत उत्तर प्रदेशको एक जना बहेक ११ जना दिल्लीका हुन्। उनीहरुको समूहमा मोरङको जोगबनीबाट चार जना थपिएका थिए। १६ जनाको समूहमा चार जना नेपालीमा भने संक्रमण देखिएको छैन। संक्रमित २१ देखि ४० वर्षसम्मका छन्।

उनीहरु चार महिनाको अवधिमा सप्तरी, सिराह, मोरङ, सुनसरी र उदयपुरका विभिन्न ठाउँमा पुगेको देखिएको छ।

मंसिरमै नेपाल प्रवेश

उदयपुर बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार उनीहरु मंसिरमै नेपाल आएका हुन्। डिसेम्बर ११ अर्थात मंसिर २५ मा भारतबाट नेपाल प्रवेश गरेको थापाले बताए। भारतबाट बिराटनगर आएका १२ जनाको समूहमा मोरङको जोगबनीबाट नेपाली मुस्लिम थपिएका हुन्। उनीहरु त्यसपछि केही दिन सुनसरीको जुबीस्थित दुबी मस्जिदमा बसेका थिए।

इज्जटी पर्वमा सहभागी

उनीहरु फागुन ३ देखि ५ गतेसम्म सप्तरीमा बसेका थिए। सुनसरीबाट सप्तरीको बोदे बसाइन नगरपालिकाको जाजर गाउँमा २ दिन बसेका हुन्। त्यहाँ बस्दा मुस्लिमहरुको इज्जटी पर्वमा सहभागी भएको देखिएको छ। थापाले उनीहरू सप्तरीमा धेरै दिन बसेको बताए। 'उनीहरु विवाह समारोहमा पनि सहभगी भए र धेरै दिन बसेको देखिन्छ', उनले भने।

लकडाउनले आएनन् जन्ती

१६ जनाको समूह सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरमा विवाह समारोहमा पनि सहभागी भएको खुलेको छ। तर त्यहाँ लकडाउनले गर्दा भारतबाट जन्ती आउन नसकेको मेयर थापाले बताएका छन्।

मदरसा पनि पुगे

सप्तरीपछि उनीहरू सिराहा गएको देखिएको छ। सिराहामा हुँदा चौदन्डी नगरपालिका ५ मा रहेको एक मदरसमा सहभागी भएका थिए। त्यहाँ रहँदा पनि उनीहरु विवाह समारोहमा सहभागी भएको देखिएको मेयर थापाले बताए।

चैतमा उदयपुर पुगे

चैत महिनामा १६ जना मुस्लिमको समूह उदयपुर प्रवेश गरेको देखिन्छ। त्रियुगा नगरपालिका स्थित जामे मस्जिदमा रहेका १६ जनाले आफूहरू लकडाउनले गर्दा फर्कन नपाएको बताएका थिए। तर स्थानीय प्रशासनलाई भने भारतीय लुकेर बसेको सूचना पाएको बताएको थियो। वैशाख १ गते स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

आरडीटी नतिजा गुपचुप

प्रहरीको रोहबरमा वैशाख २ गते ८ जनाको आरडीटी गरिएको थियो। 'उनीहरुमध्ये ८ जनाको आरडीटी गरिएको हो। पछि अरु पनि बिरामी छन् भनेपछि मात्र सबैको परिक्षण गरिएको हो,' थापाले भने। थापाले आरडीटीमा नतिजा पोजेटिभ भए वा नगेटिभबारे थाहा नदिएको बताए। उनले त्यतिबेला पनि आरडीटी पोजेटीभ भएको हल्ला फैलिएको बताए।

बिराटनगरपछि काठमाडौंमा पीसीआर

विराटनगरमा पीसीआर परिक्षण गरिएका उनीहरुको नतिजा पोजेटिभ आएपछि राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो। बिहीबार राति उनिहरुको नमूना संकलन गरेर परीक्षण गरिएको थियो। मेयर थापले प्रदेश १ सरकारको सामाजिक मन्त्रालयको अग्रसरताले पीसीआरको नतिजा चाँडो भएको बताए। मन्त्रालयले एम्बुलेन्समा नतिजा काठमाडौं पठाएको थियो। हिजो राति साढे ८ बजे कोशी अञ्चल अस्पतालमा पठाइएको हो। उनिहरुको आइसोलेसना उपचार भइरहेको छ।

१४५ को कोरोना टेस्ट हुने, मस्जिद आसपासका क्षेत्र सिल

थापाले संक्रमितको सम्पर्कमा आएका विभिन्न १૪५ को आरडीटी टेस्ट हुने बताए। 'त्रियुगा नगरको भुल्केमा रहेको जामे मस्जिद आसपासका क्षेत्र सिल गरिएको हो। त्यस क्षेत्रका सबैलाई जो जहाँ छ त्यहीँ बस्न भनिएको छ,' उनले भने।

कोरोनाको नयाँ तथ्य कि लोकल ट्रन्समिसन?

मंसिरमै नेपाल आएका उनीहरु त्यसपछि भारत गएको ट्राभल हिस्ट्रीमा छैन। उनीहरु मंसिरमै नेपाल आएको र भारत नगएको भए यतै सरेको हुनसक्ने मेयर थापाले बताए। 'उनीहरुमा अहिले आएर मात्र लक्षण देखिनुले कि लोकल ट्रान्समिसन हो कि त कोरोनाको केसमा नयाँ तथ्य हुनसक्छ',उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell