PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

चार्टर फ्लाइटबाट भुटान फर्किइन् २ नम्बरीकी अभिनेत्री उगेन छोदेन



पहिलोपोस्ट

चार्टर फ्लाइटबाट भुटान फर्किइन् २ नम्बरीकी अभिनेत्री उगेन छोदेन

काठमाडौं : भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएकी छिन्। उनी नेपाली फिल्म '२ नम्बरी'मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन्।

उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमान ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो। काठमाडौंबाट बिहान ९:०० बजे विमान भुटानको पारो विमानस्थल फर्केको थियो।

अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारन्टाइन सुरु भइसकेको छ। त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन्। उनी थिम्पुकै वासिन्दा हुन्।

दीपेन्द्र लामाद्वारा निर्देशित र किरण नेपाली निर्माता रहेको फिल्म '२ नम्बरी'को गत चैत ८ गतेसम्म कास्कीको घाचोकमा छायांकन भएको थियो। निर्देशक लामाका अनुसार अझै ७५ प्रतिश छायांकन बाँकी छ।

लकडाउन खुलेर स्थिति सामान्य भएपछि फिल्मको छायांकन अघि बढ्नेछ। उगेन पनि फिल्मको बाँकी छायांकन सिध्याउन भुटानबाट आउनेछिन्। फिल्ममा उगेनले दयाहाङ राईको जोडी भएर अभिनय गरेकी छिन्। आठवटा भुटानी फिल्ममा अभिनय गरिसकेकी उगेनको यो पहिलो नेपाली फिल्म हो।

'लामो समयपछि भुटान फर्किन पाउँदा खुसी छु, अब क्वारनटान अवधिभर फिल्महरु हेर्नेछु र केही किताब पढ्नेछु,' उगेनले पारोस्थित होटेल ओलाथाङ पुगेर भनिन्, 'अहिलेसम्म भुटानबाहिर सबैभन्दा लामो समय बिताएको यही नै हो। अब परिवारसँग समय बिताउँछु र कामना गर्छु, चाँडै नेपाल फर्केर काम सिध्याउन पाउँ।'

लकडाउनको समय उगेनले काठमाडौंको एक होटेल र आफन्तको घरमा बिताएकी थिइन्।

'२ नम्बरी'मा अभिनय गर्नका लागि उगेनले कलाकार विजय बरालसँग विशेष प्रशिक्षण लिएकी थिइन्। पल शाह र वर्षा राउतको जोडीलाई पनि मुख्य भूमिकामा हेर्न पाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell