
काठमाडौं : काठमाडौंमा कोरोना देखिएकी पहिलो किशोरी उपचारपछि घर फकिएकी छिन्। शनिवार उनी टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमाबाट २७ दिनपछि फर्किएकी हुन्।
२७ दिन अस्पतालमा रहेकी उनको कोभिड १९ रिपोर्ट लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका महानिर्देशक डाक्टर सागर राजभण्डारीले बताए।
'यसअघि पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो। आज पनि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो,' उनले भने।
चैत १० गते स्वास्थ्य मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा संक्रमण देखिएको जानकारी दिएको थियो। फ्रान्सबाट चैत ४ गते मंगलवार उनी दोहा हुँदै काठमाडौं आएकी थिइन। त्यसको तीन दिनपछी उनमा संक्रमण देखिएको थियो।
उनीसँगै कतार एयरलाइन्सबाट आएका १ सय ५६ जनाको सम्पर्कमा आइसकेका छन्। नेपालमा अहिलेसम्म ३० जनामा कोरोना संक्रमण देखिएको छ। उनीसँगै दुई जना उपचारपछि घर फर्किएका हुन्। यसअघि एक युवक उपचारपछि घर फर्किएका थिए।
उनमा संक्रमण देखिएकै दिन नेपालमा लकडाउनको घोषणा भएको थियो।