
कमाठीपुरा रेड लाइट एरियाको व्यवस्थापनदेखि माफिया डनको समेत परिचय बनाएकी गंगूबाई काठेवालीको रियल लाइफ 'हिरोइजम'लाई रिलमा उतार्दै छन् निर्देशक संजय लिला भंशाली। फिल्म 'गंगूबाई काठियावाडी’मार्फत् उनको गुजरातदेखि मुम्बईसम्मको यात्रा, असफल प्रेम कथा प्रस्तुत हुँदैछ। त्यसका लागि फिल्म सिटीमा भव्य सेट तयार थियो। छायांकन जारी थियो।
लकडाउनका कारण भने उक्त सेट खेर जाने देखिएको छ। संजयले कोरोना कहर चाँडै सकिने र केही साताको लकडाउनपछि पुन: काम सुरु गर्ने बताएका थिए। तर भारतमा लकडाउन लम्बियो र जडान गरिएको सेट बिग्रन सुरु भयो। जुन मनसुन सुरु भएपछि झन् धेरै प्रभावित हुने बलिउड हंगामामा बताइएको छ। त्यसैले त्यसअघि नै सेट भत्काउन सुरु गर्ने खबर सार्वजनिक भएको हो।
यस फिल्मको सेट सर्वाधिक ठूलो र ६ करोड महङ्गो भनिएको थियो। रिपोर्टमा लेखिएको छ 'जति महङ्गो भएपनि हरेक वस्तुको एक्सपाइरी डेट हुन्छ।'
आलिया भट्टको मुख्य भूमिका रहेको यस फिल्मको कथा हुसैन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित छ। यस फिल्ममा अभिनेता अजय देवगन अतिथिको भूमिकामा देखिनेछन्।
‘गंगूबाई काठियावाडी’ २०२० सेप्टेम्बर ११ मा रिलिज हुने बताइएको थियो। तर, अब भने अन्य फिल्महरुको जस्तै यस फिल्मको पनि रिलिज टार्गेट बद्लिने निश्चित छ।