PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कोरोना भाइरसबाट कोही गम्भीर रुपमा संक्रमित भए म मेरो प्लाजमा दिन तयार छु : प्रसिद्धि



पहिलोपोस्ट

कोरोना भाइरसबाट कोही गम्भीर रुपमा संक्रमित भए म मेरो प्लाजमा दिन तयार छु : प्रसिद्धि

काठमाडौं : २७ दिन भयो प्रसिद्धि श्रेष्ठले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेको हो।

फ्रान्सबाट फर्केर घरमा नै 'स्ट्रिक्ट सेल्फ क्वारेन्टाइनमा' बसिरहेकी उनलाई न त कोरोना भाइरसको कुनै लक्षण थियो न उनलाई कुनै गाह्रो नै महसुस भएको थियो। घर आएको चार दिनपछि उनको भियतनामी साथीलाई कोभिड १९ पोजिटिभ देखिएको थाहा पाउने बित्तिकै उनी टेकुस्थित अस्पताल पुगिन् र कोभिड १९ को परीक्षण गराइन्। परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आयो। त्यसयता अस्पतालकै आइसोलेसनमा बस्दै आएकी श्रेष्ठ आज डिस्चार्ज भएकी छिन्।

अस्पतालबाट डिस्चार्ज भएपछि उनकै अनुरोधमा स्वास्थ्य मन्त्रालयले उनलाई आफ्नो अनुभव सुनाउन भन्यो। अरु संक्रमितहरुलाई धैर्य गर्न भन्दै उनले भनिन्, 'मेरो पनि धेरै पटक टेस्ट गरेपछि नेगेटिभ आएको हो। एकैछिन समय लाग्छ। राम्रोसँग ख्याल राख्नु भएको छ भने आत्तिनु पर्दैन सबै ठीक हुन्छ।'

यस्तै, उनले नेपालमा हाल कोरोनाको गम्भीर विरामी नदेखिएको तर भविष्यमा कुनै सिकिस्त विरामी देखिएमा यसको उपचारको लागि आफ्नो रगतको प्लाजमा दिन तयार रहेको बताएकी छिन्।

'यो मेरो लागि ठूलो मौका हो। निको भएसँगै मेरो शरीरको प्लाजमामा एन्टीबडी रहेको छ। आवश्यक परेको अवस्थामा म मेरो प्लाजमा दान गर्न तयार छु। भविष्यमा कुनै गम्भीर बिरामी देखिएमा उनीहरुलाई मेरो प्लाजमाले सहयोग गरोस्,' उनले भनिन्।

कोरोनाबाट संक्रमित व्यक्ति निको भइसकेपछि उसको रगतको प्लाजमा अरु संक्रमितको उपचारमा सहयोगी हुने बारेमा हाल अध्ययन भइरहेको छ।

डिस्चार्ज हुँदाहुँदै उनले मिडियालाई पनि सयंमित भएर समाचरहरु प्रकाशन गर्न अनुरोध गरिन्। आफूमा कोभिड १९ पोजिटिभ देखिएपछि भाइरस फैलाएको आरोप लगाएकोप्रति इंगित गर्दै उनले भनिन्, 'अहिलेको महामारीको बेला कोरोना भाइरसको विषयलाई लिएर कसैलाई आरोप प्रत्यारोप लगाउने काम नगर्नुहोला। यसो हुँदा टेस्ट गर्नमात्रै होइन, मान्छेहरुलाई बोल्न समेत गाह्रो हुनसक्छ।'

प्रसिद्धिले कोरोना भाइरसलाई जित्न सेल्फ आइसोलेसनमा बस्नु निकै महत्वपूर्ण भन्दै सबैलाई त्यसको पालना गर्न समेत भनेकी छिन्।

नेपाल आएलगत्तै उनले विमानस्थलमा परीक्षणसमेत नभएको खुलासा गरेकी थिइन्। उनले विमानबाट बाहिरिएलगत्तै बसमा भिडभाड गर्दै बाहिर निकालिएकोसमेत बताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell