
काठमाडौं : जलपरी एवं स्वर्ण पदकधारी पौडीबाज गौरिका सिंहका पिता डाक्टर पारस सिंहलाई कोरोना भाइरसको संक्रमण देखिए पनि उनको अवस्था सुधार भएको छ।
बेलायतस्थित लण्डनको रोयल फ्री हस्पिटलमा युरोलोजिस्टका रुपमा कार्यरत डा. सिंहको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।
'मेरो स्वास्थ्यमा सुधार हुँदै गएको छ। संक्रमण भएको १५ दिनभन्दा बढी भइसक्यो। ज्वरो आउन कम भएको छ। अलि कमजोरी महसुस भइरहेको छ। अरु त ठीक हुँदै गएको छ,' उनले भनेका छन्।
उनले कोरोना संक्रमण हुँदा अलिकति सुख्खा खोकी लागेको तर, श्वास फेर्न गाह्रो नभएको अनुभव सुनाए।
'सबैलाई गाह्रो हुन्छ भन्ने हुँदैन। तर, कोरोनालाई हल्का रुपमा लिनुहुँदैन। म घरमा अलग्गै क्वारेन्टाइनमा बसिरहेको छु। सिटामोल, भिटामिन सी लगायत अन्य कुरा लिइरहेको छुँ,' उनले भने।
डाक्टर सिंहले लकडाउनलाई हल्का रुपमा नलिन आग्रह गरे। 'घरमै बसेर पनि निको हुने भएकाले नआत्तिनुस्। तर, सतर्क रहनुस्,' उनले थपे।
बेलायतमै परिवारसँग बसिरहेकी गौरिकाले पनि घरमै बसेर कोरोनाविरुद्धको लडाईं लड्न आह्वान गरेकी छिन्।
'घरमै बसौं, लकडाउन हाम्रै लागि हो। किनभने हाम्रो सुरक्षाका लागि नै सरकारले लकडाउन गरेको हो,' उनले भनिन्, 'अलिकति दु:ख होला। तर नेपालको कन्डिसन अहिले राम्रो देख्दा खुशी लागेको छ।'