PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एचआइभी संक्रमित बालबालिकालाई महासंघले औषधिसहित राहत वितरण गर्ने



पहिलोपोस्ट

एचआइभी संक्रमित बालबालिकालाई महासंघले औषधिसहित राहत वितरण गर्ने
Photo: Healthline.com

काठमाडौं : राष्ट्रिय एचआइभी/एड्स महासंघ नेपाल (एनएपिएन)ले एचआइभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई दुई महिनाको लागि राहत वितरण गर्ने भएको छ।

जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका देशभरका ६ सय ६८ बालबालिकालाई राहत वितरण गरिने महासंघले जनाएको छ। महासंघले प्रतिमहिना ८ किलो चामल, १ किलो दाल, १ किलो गेडागुडी, १० वटा अण्डा, १ किलो गहुँको पीठो, १ किलो चिनी राहत स्वरुप प्रदान गरिने एनएपिएनका अध्यक्ष राजेश दिदियाले जानकारी दिए।

यसैगरी दुध दुई लिटर, फलफूल एक किलो र खाने तेल एक लिटर वितरण गरिने उनले बताए। उक्त राहतसँगै यातायात खर्चवापत ८० रुपैयाँसमेत प्रदान गरिने उनले जानकारी दिए। महासंघको खर्च नहुने र भइपरी आउने बजेटबाट रकम छुट्याएर २ वर्षमुनिका ६ सय बालबालिकालाई राहत वितरण गरिने उनको भनाइ थियो।

एचआइभी संक्रमित ४५ वर्षमाथिका ७ सय ३२ जनालाई पनि बालबालिका सरह दुई महिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण सहयोग गरिने भएको छ। अभिभावक गुमाएका अति गरिब तथा विपन्न १२ वर्षमुनिका बालबालिका र ४५ वर्षमाथिका संक्रमितहरुलाई एनएपिएनमा आवद्ध ५९ वटा समुदायमा आधारित गैरसरकारी संघसंस्थाले बालबालिकालगायतलाई उक्त राहत वितरण गर्नेछन्।

नेपालमा १६ वर्षमुनिका एकहजार तीनसय ४५ जना बालबालिका एचआइभी संक्रमित रहेका छन्। जसमा सात सय ३० बालक र ६ सय १५ बालिका रहेका छन्। उनीहरुमा पनि एक अभिभावक गुमाएका बालबालिकाको संख्या पाँचसय ५० रहेको अध्यक्ष दिदियाले जानकारी दिए। एकसय ९१ बालबालिकाका दुवै अभिभावक छैनन्।

एनएपिएनको तथ्यांकअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी तीनसय दश बालबालिका एचआइभी संक्रमित रहेका छन्। त्यस्तै प्रदेश ५ मा दुई सय ९२, बागमती प्रदेशमा दुई सय ७४, प्रदेश २ मा एकसय ७२, गण्डकी प्रदेशमा एकसय ४८, प्रदेश १ मा ९७ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५२ जना एचआईभी संक्रमित बालबालिका छन्।

सरकारले ग्लोबल फण्डमार्फत एचआइभी संक्रमित बालबालिकालाई प्रत्येक महिना एकएक हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ। एनएपिएनले घरदैलो गरी कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले गरेको लकडाउनको समयमा घरदैलोमार्फत देशभरका एचआइभी संक्रमितको हातहातमा एआरभी औषधि पुर्‍याउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell