भक्तपुर : भक्तपुरका मस्जिदमा रहेकाहरुको कोरोना परीक्षण गरिएको छ। पछिल्लो समय वीरगंज र उदयपुरलगायतका जिल्लाबाट मस्जिदमा रहेका मुस्लिम समुदायका व्यक्तिमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा यहाँका मस्जिदमा रहेका सबैको आज भक्तपुर अस्पतालमा कोरोना परीक्षण गरिएको हो।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा तीन मस्जिद र एक मदरसामा रहेका आठ जनाको कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्टमा कोरोना नेगेटिभ आएको जानकारी दिइन्। प्रहरीको समन्वयमा अस्पतालको रेस्क्यु टोलीले उनीहरुलाई मस्जिदबाट अस्पताल ल्याएर कोरोना परीक्षण गरेको हो।
भक्तपुर नगरपालिकाको हनुमानघाटस्थित जामे मस्जिदमा रहेका छ जना मुस्लिम जमाती र बोडेस्थित जनीउपर मासअल्लाह मस्जिद तथा जरै अरकम मदरसामा रहेका दुई जना गरी आठ जनाको कोरोना परीक्षण गरिएका थियो।
दिल्लीमा भएको एक धार्मिकसभामा सहभागी मुस्लिम समुदायमा कोरोना देखिएपछि निश्चिन्त हुन जिल्ला प्रशासनले भक्तपुरभित्र रहेका मस्जिदमा आश्रय लिएर बसिरहेकाको कोरोना परीक्षण गरेको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले मस्जिदबाट ल्याइएकाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना नेगेटिभ आएको बताइन्।
अस्पतालमा द्रुत विधि (आरडिटी)बाट उनीहरुको कोरोना परीक्षण गरिएको थियो। डा गौतमका अनुसार भक्तपुर अस्पतालले आरडिटी र पिसिआर गरी हालसम्म ४०० को परीक्षण गरिसकेकामा सबैको रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए।
यसैबीच, उदयपुरको त्रियुगा नगरपालिका-३ झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका नागरिकमा कोभिड-१९ को संक्रमण पुष्टि भएपछि प्रहरीले झापामा रहेका ७० मस्जिदलाई उच्च निगरानीमा राखेको छ।
विर्तामोड र दमक नगरपालिकामा रहेका दुई जमादमा मुस्लिम समुदायका २० धर्मगुरु रहेका छन्। उनीहरुमध्ये १८ भारतीय नागरिक हुन्। जमादमा भारतीय धर्मगुरु बस्ने हुँदा कोरोनाको संक्रमण हुनसक्ने भन्दै प्रहरीले निगरानी बढाएको हो। जमादमा बस्ने सबै धर्मगुरुको शनिवार नै स्वास्थ्य परीक्षण गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विर्तामोडमा रहेको मामे मस्जित मुनवारमा नौ र दमकमा ११ मुस्लिम समुदायका धर्मगुरु बस्दै आएका छन्। उनीहरुको आज आरडिटी परीक्षण गरेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जीवन चम्लगाईंले जानकारी दिए। चम्लगाईंका अनुसार आरडिटी परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ। दमकमा रहेको मस्जिदमा बस्ने धर्मगुरुसहित तीन कर्मचारीको पनि स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत युवराज कट्टेलले जानकारी दिए।
झापामा ७० मस्जिद र ४९ मदरसा रहेका छन्। जिल्लामा रहेका सबै मस्जिद र मदरसा सञ्चालकसँगको समन्वयमा धार्मिक कर्म अहिले बन्द गराइएको विर्तामोडस्थित जामे मस्जिदका सचिव एजाज अहमदले बताए।
‘मुस्लिम समुदायमा जमाद आउने पराम्परा पुरानो परम्परा हो’, सचिव एजाजले भने, ‘झापामा दुई वटा मात्र जमाद छन्, जमाद अर्थात् मुस्लिम धर्मका अगुवाको समूह हो, उनीहरुले विभिन्न ठाउँमा रहेका मुस्लिम समुदायलाई मस्जिदमा आएर धार्मिक शिक्षा दिने गर्छन्।’
एजाजका अनुसार जमादमा आउनेहरुले धर्मप्रतिको विश्वास, नमाज पढ्न सिकाउने, धार्मिक शिक्षा हासिल गर्न लगाउने, ध्यान, आचरण शिक्षा, दायित्व, कर्तव्य र आफूले सिकेको ज्ञान अरुलाई सिकाउन प्रेरित गर्ने गरेका छन्।