PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

उदयपुरमा कोरोना संक्रमित भेटिएपछि खोटाङ प्रवेशमा कडाइ



रासस

उदयपुरमा कोरोना संक्रमित भेटिएपछि खोटाङ प्रवेशमा कडाइ
Photo: google.com/maps

खोटाङ : खोटाङसँग सिमाना जोडिएको उदयपुरमा कोभिड–१९ का संक्रमित फेला परेपछि नाकामा कडाइ गरिएको छ। छिमेकी जिल्लामा शुक्रवार १२ जना कोरोना संक्रमित एकैसाथ फेला परेसँगै खोटाङ र उदयपुर आवतजावत गर्ने नाकामा कडाइ गरिएको हो।

उदयपुर जिल्लासँगको सिधा आवतजावतका कारण खोटाङमा पनि कोरोना भाइरसको संक्रमण फैलने सम्भावना बढेकाले रसुवाघाट, फोक्सिङटार, बुवाँजोरघाट, धाप्लाङघाटलगायत दर्जन बढी नाकामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताए।

‘आवतजावतमा कडाइ गर्न उदयपुर र खोटाङ जोड्ने नाकामा प्रहरी परिचालन गरिएको छ’, उनले भने, ‘कोरोना भाइरस फैलिनसक्ने खतरालाई ध्यानमा राखेर केही दिन खाद्यान्न तथा तरकारी ढुवानीका साधनसमेत सञ्चालनमा रोक लगाइएको छ।’

गम्भीर किसिमका बिरामीका लागि औषधि उपचारबाहेक अन्य काममा हुने सिधा आवतजावतमा कडाइ गरिएको प्रजिअ पौडेलले बताए। नाकामा हुने आवतजावतमा कडाइ गर्न माथिल्लो क्षेत्रमा रहेका प्रहरी चौकीका सुरक्षाकर्मीलाईसमेत परिचालन गर्ने तयारी गरिएको जनाइएको छ।

राजधानी काठमाडौंलगायतका शहरबाट भित्रिने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको जयरामघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। यसबाहेक उदयपुरको सिमाना नजिक पर्ने रेग्मिटार, रमाइलो, रसुवाघाट, चमेरेघाट, बङ्शिलाघाट, कम्पुघाट, धाप्लाङघाटलगायतमा स्थानीय प्रहरी चौकीबाट टोली परिचालन गरिएको छ।

छिमेकी जिल्ला उदयपुरमा कोरोना संक्रमित फेला परेसँगै खोटाङमा पनि संक्रमण फैलिन सक्ने त्रास बढेको छ। छिमेकी जिल्लामा कोरोना संक्रमित फेला परेसँगै हलेसी तुवाचुङ नगरपालिकाले उदयपुरसँगको नाकामा हुने आवतजावतमा रोक लगाउन सबै वडा कार्यालयलाई निर्देशन दिएको छ।

छिमेकी जिल्ला प्रवेश गर्ने नाकासँगै एउटा वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन प्रत्येक वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताए। यसैबीच हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न कामका सिलसिलामा जिल्लाभन्दा बाहिर गएर बसिरहेका अवस्थामा गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका नगरवासीलाई घरसम्म ल्याउने भएको छ।

नगरपालिकामा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले विभिन्न कामका सिलसिलामा काठमाडौं, विराटनगरलगायतका ठाउँमा पुगेको अवस्थामा ‘लकडाउन’ हुँदा मारमा परेका नगरवासीलाई संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरेर घर ल्याउने तयारी थालेको हो।

अहिले बसिरहेको ठाउँमा आयमूलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको गुनासो आएकाले उनीहरुलाई नगरपालिकाले घरसम्म ल्याएर होम क्वारेन्टाइनमा राख्ने तयारी गरिएको नगर प्रमुख राईले बताए।

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन्। विदेशबाट फर्किएका ५५ जनामा गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट ‘नेगेटिभ’ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell