काठमाडौं : विश्व स्वस्थ्य संगठनको विज्ञ समूहमा कार्यरत डा. प्रकाश घिमिरेले कोभिड-१९ परीक्षणका लागि नेपालमा व्यापक रुपमा प्रयोग भइरहेको र्यापिड डाइगोनिस्टिक टेस्ट (आरडीटी)को औचित्य नरहेको दावी गरेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड-१९ विरुद्धको खोप बनाउन र संसारमा वितरण गर्नका लागि गठन गरेको विज्ञ समूहमा छन् डाक्टर घिमिरे। त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका पूर्व प्रमुख समेत रेहेका डाक्टर घिमिरे १३ वर्ष यता डब्लुएचओको तीन तहमा रहेर काम गरिसकेका छन्। कोरोनाको खोप विकास तथा गरिब देशका लागि पनि समानुपातिक उपलब्धताका लागि उनी सक्रिय छन्।
उनले सन् २००७ देखि २००९ सम्म इन्फ्लुइन्जा महामारीको बेला डब्लुएचओको केन्द्रमा बसेर महामारीविरुद्धको खोप विकास तथा उपलब्धताका लागि काम गरेका थिए।
कहिले आउला खोप
चीन, अमेरिका, बेलायत, सिंगापुरलगायत देशका विभिन्न कम्पनीले खोप बनाइरहे पनि खोप बजारमा आउन कम्तीमा डेढ वर्ष लाग्ने अनुमान छ। सामान्य अवस्थामा खोप विकासका लागि कम्तीमा १० वर्षसम्म लाग्ने, तर महामारीको आपतकालीन बेलामा पहिल्यै बनिसकेका प्लेटफर्ममा काम हुने भएकाले छिटो खोप विकास तथा स्वीकृति हुने हुँदा त्यति धेरै समय नलाग्ने घिमिरेको भनाई छ। जति चाँडो खोप विकास भए पनि क्लिनिकल ट्रायलको निश्चित प्रोटोकल पूरा गरी कोरोनाको सुरक्षित खोप पाउन डेढ वर्ष लाग्ने छ।
खोप विकासका लागि ८ वटा टार्गेट एन्टिजीनको पहिचान भइसकेको छ।
'आठ वटा टार्गेट एन्टिजीनमा काम गर्न १४० भन्दा बढी ट्रायल दर्ता भइसकेका छन्,' उनले भने, 'कुनै भ्याक्सिन ट्रायल हुन। कुनै थेराप्युटिक ट्रायल हुन्। थेराप्युटिक ट्रायल भनेको औषधिको रूपमा प्रयोग (ट्रायल) हो।'
पछिल्लो समय कोरोना लागेर निको भएका मानिसको प्लाज्मा कोरोना भाइरस लागेका व्यक्तिमा प्रयोग गर्न पनि थेराप्युटिक ट्रायल भइरहेका छन्।
प्रयोग सुरक्षित भएपछि मात्र खोप
चीनलगायतका देशले खोप बनाइरहेको भए पनि आधिकारिक एजेन्सीले प्रयोग गर्न उपयुक्त भएको सिफारिस नगरेसम्म खोप बजारमा आउँदैन। मान्छेमा भ्याक्सिन ट्रायल परीक्षण गर्ने चरण पनि १,२,३,४ हुँदै जाने घिमिरे बताउँछन्। उनका अनुसार पहिलो चरणमा सेफ्टी, दोस्रोमा इमुनोजेनिसिटी र तेस्रो इफिक्यासी अथवा प्रभावकारिता र चौथो चरण अन्य खराबी हेर्न पोस्ट मार्केटिङ सर्भिलियन्स हुने हो।
भ्याक्सिन निर्माणका लागि पहिला प्रयोगशालामा विकास गर्नुपर्छ। त्यसपछि जनावरमा प्रयोग गर्दा सुरक्षित भए/नभएको परीक्षण गरिन्छ। त्यसपछि बल्ल थोरै मानिसमा परीक्षण गरिन्छ। हालको आकस्मिक अवस्थामा दोस्रो र तेस्रो चरणलाई संयुक्त रूपमा गर्न सकिन्छ कि भन्नेमा विषय विज्ञहरूसँग विभिन्न चरणमा सल्लाह भइरहेको छ। कम्तीमा पनि तीनवटा चरण पार नगरी खोप बजारमा आउँदैन।
कुनै कम्पनीले भ्याक्सिन एजेन्ट तयार भएको जानकारी गराए पनि त्यसले अहिले विभिन्न चरण पार गर्नुपर्छ। सुरक्षित, इमुनोजेनिक र प्रभावकारी नभई कुनै पनि भ्याक्सिन बजारमा आउन नसक्ने घिमिरेको भनाई छ।
क्षमता अभिवृद्धि नभए विकासशील देशमा उपलब्ध हुन कठिन
खोप विकासका लागि मापदण्ड पूरा गरेर मात्रै हुँदैन। उत्पादन क्षमता पनि महत्त्वपूर्ण मानिने बताउँछन् घिमिरे। सुरुमै सबै हेरेर मात्रै लाइसेन्सिङ प्रक्रिया सुरु हुन्छ। 'प्रयोगशालामा विकास, जनावरमा सुरक्षित परीक्षणपछि सीमित मानिसमा भएको परीक्षणमा सुरक्षित इमुनोजेनिक र प्रभावकारी ठहरिएपछि मात्र उद्योगमा प्रोडक्सन फिजिबिलिटी हेरिन्छ,' उनले भने।
विभिन्न देशको नियमन नीति अनुसार पनि छुट्टाछुट्टै मापदण्ड तोकिएको हुन्छ। के कतिसम्मको क्षति बेहोर्ने भन्ने विभिन्न देशका छुट्टै मापदण्ड हुन्छन्।
कोरोना विश्वव्यापी भयो कसरी
घिमिरेका अनुसार इतिहासमा अहिलेभन्दा ठूल्ठूला महामारी पनि भएका छन्। प्रायजसो महामारी जनावरबाट मानिसमा जीवाणु वा विषाणु सरेर भएका छन्।
'ह्युमन एनिमल ब्यारिएर क्रस गरेर एनिमलमा भएको जीवाणु वा विषाणु मानिसमा ट्रान्समिट भएर एक आपसमा सर्न सक्यो भने पान्डेमिक भएको देखिन्छ,' उनले भने।
अहिले कोरोना भाइरसको बारेमा पनि विभिन्न अध्ययनहरू भइरहेको छन्। कोरोना पनि विश्वव्यापी महामारी हुनुमा यो पनि पशुपक्षी तथा जनावरबाट सरेको भाइरस भएको घिमिरेले बताए। इतिहासका ठूल्ठूला महामारी जनावरबाट मान्छेमा भाइरस सरेरै भएको घिमिरेको दाबी छ।
'प्लेग मुसाबाट मानिसमा आयो, स्पेनिस फ्लु कुखुराबाट आयो, १९५४ को हङकङ फ्लु कुखुराबाटै आयो, सार्स बिरालोबाट आयो, सन् २००९ को इन्फ्लुइन्जा पनि पशुपक्षीबाट मानवमा भनियो। जसलाई आखिरमा पान्डेमिक इन्फ्लुइन्जा २००९ भनियो,' उनले भने।
स्वास्थ्य विज्ञानमा भएका नयाँ-नयाँ प्रगतिले सन् १९१८ मा भएको महामारीको जति २००९ मा भएको महामारीमा मान्छे मरेनन्। चिकित्सा विज्ञानमा भएका विकासले मानिस नजिकै सुविधा सम्पन्न अस्पताल, मानव श्वासप्रश्वासका लागि सहयोगी प्रविधिको विकास, विभिन्न प्रकारका जैविक सुरक्षाका सामाग्रीको उपलब्धता र सञ्चारको विकासले गर्दा रोगबारे तुरुन्त जानकारी तथा सामाजिक दुरी जस्ता प्रयोगले अहिले पहिला-पहिलाका जस्तो मानवीय क्षति नभएको बताउँछन् घिमिरे।
'नेपालमा पहिला पनि कोरोनाको सर्कुलेसन थियो'
माइक्रो बायोलोजिस्ट घिमिरे कोरोना भाइरसका ४ परिवार अल्फा, बिटा, गामा, डेल्टामध्ये एउटा खालको कोरोना भाइरस नेपालमा पहिल्यैदेखि परिसंचरण (सर्कुलर)मा रहेको दाबी गर्छन्। उनका अनुसार जोन हप्किन्स विश्वविद्यालयले सन् २०११-१४ सम्म सर्लाहीमा गरेको अध्ययनले नेपालमा एक प्रकारको कोरोना भाइरस परिसंचरणमा रहेको देखाएको छ। नेपालमा कोरोनाको पहिलेदेखि परिसंचरणमा रहेको कारणले पनि नेपालीमा थोरै क्रस इम्युनिटी पावर विकास भएको हुन सक्ने उनको भनाई छ। जसकारण नेपालमै बसेका नेपालीमा पनि अहिलेसम्म गम्भीर संक्रमण नदेखिएको हुनसक्ने पनि बताउँछन्।
तर, यो यकिन हुन भने विस्तृत अनुसन्धान जरुरी हुने देखिन्छ।
डाक्टर घिमिरेले कोरोना लागेर ठीक भएका नेपालीकै रगतको प्लाज्मा अर्को बिरामीलाई दिन सकिने सम्भावना नेपालमै भएको पनि बताए। तर, यसमा औषधि व्यवस्था विभागको अनुमति लिनुपर्छ।
काम लाग्न सक्ने केही औषधि हुनु सुखद्
नेपालभित्रै संक्रमण भएर कसैको पनि हालसम्म मृत्यु भएको छैन। नेपालमा पहिले नै प्रयोगमा भएका र अहिले पनि प्रयोग हुनसक्ने मलेरियाको औषधि, एचआइभीको उपचारमा प्रयोग हुने ऐन्टिभाइरल र इबोलाको उपचारमा प्रयोग भएका ऐन्टिभाइरलसमेत प्रयोगबारे विभिन्न देशमा अनुसन्धान भइरहेका छन्। जसलाई आशाको ज्योति मान्छन् घिमिरे।
नेपाली आशावादी हुने अर्को ठाउँ पनि देख्छन्, घिमिरे। सरकारले सबै प्रदेशमा कम्तीमा १-२ वटा प्रयोगशालाको आवश्यकता महसुस गरी स्थापनामा जुटेको छ। जसले रोगको शीघ्र निदान भई उपचार हुनसक्ने सम्भावना बढेको छ।
संक्रमण भए/नभएको जान्न निम्न विधि जान्न आवश्यक छ
१, पहिलो, कुनै पनि भाइरसको संक्रमण भए/नभएको जान्न गोल्ड स्टान्डर्ड परीक्षण विधि भनेको भाइरसको कल्चर गरी गरिने पीआरएनटी हो।
२, दोस्रो पीआरएनटी परीक्षण विधि उपलब्ध नभएको अवस्थामा, पीसीआर सबैभन्दा उपयुक्त विधि हो। पीसीआर परीक्षण विधिमा भाइरसको आनुवंशिक तत्त्व भए/नभएको जाँचिन्छ। जुन आफैँमा एक अप्रत्यक्ष प्रमाणको जाँच हो।
३, तेस्रो, भाइरसको संक्रमण भएपछि मानिसको शरीरमा भाइरसका ऐन्टिजीन मापन गर्ने हो।
४, चौथो, भाइरसको संक्रमण भएपछि मानिसको शरीरले भाइरसविरुद्ध लड्ने क्षमता विकास गर्दा निर्माण गर्ने ऐन्टीबडी मापन गर्ने हो।
नेपालमा कोरोना भाइरस परीक्षणका लागि पीसीआर र आरडीटी प्रयोगमा ल्याइएको छ। पीसीआर परीक्षणबिना भाइरसको संक्रमण भएको भन्न नमिल्ने विज्ञहरू बताउँछन्। घिमिरे पनि नेपालको हकमा अहिले पीसीआर परीक्षण बढाउनुको विकल्प नभएको बताउँछन्। एन्टीबडी मापन गर्ने आरडीटी समाजमा कुनै समयमा संक्रमण भए/नभएको जान्न अनुसन्धान गर्न काम लाग्ने भए पनि अहिलेको महामारीमा बिरामीको रोग निदानमा भने काम नलाग्ने उनको दाबी छ।
'विभिन्न अध्ययनले हालसम्म, पीसीआरको पनि सेन्सेटिभिटी ६० देखि ९० प्रतिशत भएको देखाएको छन्। यो पनि शतप्रतिशत छैन,' उनले भने।
संक्रमण भएपछिको सुरुको एक हप्ता एन्टीबडी नदेखिने भएकाले आरडीटी परीक्षण गरेर कोरोना भाइरसमुक्त भन्नु गलत हुने उनको तर्क छ।
पीसीआरमा पनि एउटा सानो गल्ती भएमा रिजल्ट गलत आउन सक्छ। यस विधिमा स्याम्पल लिनेदेखि, भाइरसको आनुवंशिक तत्त्व एक्स्टेक्सन, मास्टर मिक्सिङ, विश्लेषण आदिमा सानोभन्दा सानो गल्तीले पनि नतिजामा ठूलो फरक पर्छ।
पीसीआर परीक्षण विधि प्रयोग गरी रोग निदान तथा परिणाम 'विश्लेषण गर्न शिक्षित तथा निपूर्ण माइक्रोबायोलोजिस्ट, भाइरोलोजिस्ट चाहिन्छ जुन त्रिभुवन विश्वविद्यालयले हरेक वर्ष उत्पादन गरिनै राखेको छ,' उनले भने, 'तर, हालसम्म देशमा यस्तो जनशक्तिलाई यथोचित उपयोगमा ल्याइएको छैन।'
विज्ञहरूको वैज्ञानिक सल्लाह अनुसार निर्णय हुने विकसित देशहरू (जर्मन, कोरिया, बेलायत) आदिमा शीघ्र निदान तथा उपचार भई अमेरिका, इटाली तथा स्पेनको दाँजोमा मृत्युदर कम भएको इंगित गर्दै उनले यस विषयमा मन्त्रालय बाहिरका विज्ञहरूको समेत संलग्नतामा वैज्ञानिक सल्लाहकारहरुको समिति निर्माण गरी सल्लाह अनुसार काम गर्नुपर्ने सुझाए।
विषय विज्ञहरूको अग्रिम सल्लाहमा कमी भएकाले दोहोरो खर्च गरेर नेपाल जस्तो देशमा आरडीटी र पीसीआर दुवै टेस्ट गरेर अनावश्यक खर्च बढेको टिप्पणी छ उनको।
'स्याम्पल नै एकैपटक लिने भए एकै पटक किन पीसीआर नगरेको? देशमा पच्चीस तीसवटा पीसीआर छन्। एकैपटक ९० वटा स्याम्पल रन गर्न सकिन्छ,' उनले भने, 'देशमा उपलब्ध टेक्निकल विषय विज्ञहरूसँग सल्लाह नगरी, देशमै भएका पच्चीस तीसवटा पीसीआर उपकरण उपयोग नगरी, एक पटकमा एउटामात्र स्याम्पल परीक्षण गर्न मिल्ने पीसीआर उपकरण किन्नेमा ध्यान केन्द्रित हुनु दुखद् हो।'
निगरानी बढाउ, पीसीआर गर
अहिले लकडाउन भए पनि निगरानी नबढाए यसको अर्थ नहुने घिमिरेको भनाइ छ। स्वास्थ्यकर्मीद्वारा घर-घरमा भएका मानिसमा ज्वरो आए/नआएको सबै निगरानी गर्ने र ज्वरो आएका मानिस छन् भने उसलाई तत्कालै परीक्षणको दायरामा ल्याउनुपर्ने उनले सुझाव छ।
'घर-घर तथा टोलटोलमा निगरानी गर्ने। त्यसमा कसैलाई ज्वरो आएको छ कि छैन त्यो पहिला यकिन गर्ने। ज्वरो आएको मान्छेलाई केस डेफिनेसन फिट भएको भए कोरोना निदान पीसीआर गर्नुपर्यो। अरूलाई अन्य रोग निदान तथा उपचार गर्नुपर्यो', उनले भने, 'ट्राभल हिस्ट्री, कम्युनिटी इन्भेस्टिगेसन गरेर ल्याब डाइग्नोसिस गर्नुपर्यो।'