काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने मानिसको सङख्या आइतवार एक्कासी आधाभन्दा बढीले घटेको छ। लकडाउन सुरु भएदेखि दैनिक बिहान ८ बजेसम्म प्रहरीको रिपोर्ट अनुसार औशत १४ सय मानिस पक्राउ पर्दै आएका थिए। तर, आइतवार बिहान भने ६ सय जना मानिसमात्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यसरी पक्राउ पर्नेहरुमा ४ सय ७३ जना पुरुष र १ सय २७ जना महिला रहेका छन्। उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा सडकमा नै जनचेतना दिएर छोड्ने गरेको छ। प्रहरीले लकडाउन उल्लंघन गर्ने मानिसको सङ्ख्या बढेपछि सुरक्षा व्यवस्था थप कडा बनाएको छ।
शनिवार ११ सय ५ जना मानिसलाई नियन्त्रणमा लिएको थियो। शुक्रवार पनि यो उल्लङघन गर्नेको सङख्या ११ सय नै थियो। बुधवार भने बिहान ८ बजेसम्म २३ सय ३८ जनालाई नियनात्रणमा लिइएको थियो। मंगलवार १३ सय, सोमबार १७ सय र आइतवार १३ सय ६६ जनालाई समातिएको थियो।
यसैगरी ६८ वटा सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिने सवारी साधनको पनि सङ्ख्यामा कमी आएको हो। शनिवार १ सय ५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो।
कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको घोषणा गरेको छ।