PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

किरिया बसेकालाई ल्याउने गोलमटोल प्रकृया, गृह मन्त्रालय भन्छ : सिडिओबाट पत्र आएपछि परराष्ट्र पठाउँछौं



कमलराज भट्ट

किरिया बसेकालाई ल्याउने गोलमटोल प्रकृया, गृह मन्त्रालय भन्छ : सिडिओबाट पत्र आएपछि परराष्ट्र पठाउँछौं

काठमाडौं : भारतीय भूमिमा किरिया बसिरहेका वासुदेव भट्टलाई नेपाल फर्काउने विषयलाई राज्यले 'गोलमटोल' तरिकाले 'डिल' गरेपछि उनी फर्किने विषय अनिश्चित बनेको छ।

भारतीय भूमिमा किरिया बसिरहेका दार्चुला शैल्यशिखर नगरपालिका १ का भट्टलाई नेपाल ल्याउन चर्को जनदवाव परे पनि गृह प्रशासनले दोहोरो चरित्र देखाउँदै ल्याउन आलटाल गरेको हो। गएको बुधवार नै गृह मन्त्रालयले उनलाई ल्याउन दिने निर्णय गरेको थियो। तर, त्यही मन्त्रालय अहिले जिल्ला प्रशासन कार्यालय दार्चुलाले कुनै पत्राचार नगरेको भन्दै चुपचाप बसिरहेको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले दार्चुलाबाट पत्र आए परराष्ट्र मन्त्रालयमा पठाइने जानकारी दिए।

'जिल्ला प्रशासनले पठाएको पत्र आजै परराष्ट्रमा जान्छ। परराष्ट्रले दिल्लीस्थित एम्बेसीलाई भन्छ,' उनले भने, 'मैलै सिडिओलाई पत्र तुरुन्त गृहमा पठाउनुस् भनेको छु।'

आमा बितेको सात दिन पुग्न लाग्दा पनि उनी बालुवाकोटस्थित भारतीय क्वारेन्टाइनमै बसेर आमाको किरिया गरिरहेका छन्। दार्चुलाबाट उनी ४ सय मिटर पारी बालुवाकोटमा छन्। बीचमा दत्तुको झोलुङ्गे पुल पर्छ। ४ सयको दुरीमा झोलुङ्गे पुलबाट उनी दार्चुला आउन सक्छन्। तर, प्रक्रिया सुरु भएको ५ दिन भइसक्दा समेत उनलाई ल्याउन सकिएको छैन।

गृह मन्त्रालय जिल्ला प्रशासनको चिठ्ठीको प्रतीक्षामा छ। परराष्ट्र मन्त्रालयलाई भने यसबारे जानकारीसमेत रहेनछ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल यसबारे आफूलाई जानकारी नभएको बताए। गृह मन्त्रालयबाट पत्र आए परराष्ट्रले दिल्लीसँग कुरा गर्ने उनको भनाई छ।

त्यसो त परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले यसबारे जानकारी नगराएका होइनन्। 'भारतीय अधिकारीले पठाउन ढिलाई गरेपछि हिजो परराष्ट्रमन्त्रीसँग सिडिओसापको कुरा भयो। अब दिल्लीबाट हुन्छ होला। दिल्लीमा कुरा भयो भने प्रेसर हुन्छ,' सहायक सिडिओ टेकसिंह कुँवरले भने।

मन्त्रीसँगको कुराकानी भने मन्त्रालयका प्रवक्ताको जानकारी रहेनछ।

भारतीय पक्षले आउन नदिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएको छ।

'भारतीयहरुले ठगे, कहिले आज हुन्छ, कहिले भोलि भन्छन्। कहिले भन्छ, प्रदेशमा पठाएका छौं - देहरादुन। कहिले दिल्ली पठाएको भन्छ। अब हिजो यहाँको एसडीएमले मुस्किलजस्तो लाग्यो भन्यो,' दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले भने।

प्रमुख जिल्ला अधिकारी पौडेलले वासुदेवलाई घर ल्याउन केन्द्रबाटै दिल्लीमा पहल हुनुपर्ने बताए। यसका लागि जिल्ला प्रशासन कार्यालयले आज गृह मन्त्रालयमा दिल्लीमा पहलका लागि पत्र पठाउन लागेको हो।

उनका अनुसार भारतको पिथौरागढका डिएमले पहिला छोड्छु भनेको र पछि अनुमतिका लागि दिल्लीमा पत्र पठाएकाले घर फर्काउन समस्या भएको हो।

दार्चुलाका पत्रकार भोजराज जोशीले सबै कुरा दिल्लीमा अड्किएको बताए।

'पारीको एसडीएमले डिएमलाई पत्राचार गरेको र डिएमले दिल्लीमा पत्राचार गरेको र सबै कुरा दिल्लीमा रोकिएको बुझिएको छ। दिल्लीबाट कुनै खबर नआएकाले वासुदेव घर आउन पाएका छैनन्। उनी बालुवाकोटमै क्वारेन्टाइनमा आमाको किरिया गरिरहेका छन्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell