PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

चीनमा मृतकको संख्यामा संशोधन : वुहानमा एकै दिन कसरी बढे पचास प्रतिशत मृतक?



पहिलोपोस्ट

चीनमा मृतकको संख्यामा संशोधन : वुहानमा एकै दिन कसरी बढे पचास प्रतिशत मृतक?
वुहानको हुवेईमा काममा जुटेका श्रमिकको न्युक्लिक एसिड परीक्षण गरिँदै।

चीनले कोभिड-१९ बाट मृत्यु हुनेको संख्यालाई संशोधन गरेको छ। बिहीवारसम्म चीनमा मृत्यु हुनेको संख्या तीन हजार तीन सय ५२ थियो। शुक्रवार चीनले यो संख्या संशोधन गर्दै एक हजार दुई सय ९० बढाएको छ।

यो संख्या सबै हुवेइमा बढेको हो। चीनमा मृत्यु हुनेको संख्या वुहानमा मात्र तीन हजार आठ सय ६९ पुगेको छ।

चिनियाँ अधिकारीहरुले गत मार्चको अन्त्यमा कोभिड १९ बाट वुहान र हुवेइ प्रान्तमा मृतकको संख्या अद्यावधिक गर्नका लागि समिति बनाएको थियो। विभिन्न स्रोतबाट आएका सूचना र तथ्यांक दोहोरिएका र केही छुटेको भन्दै संख्या एकिन गर्नका लागि गठन गरिएको समितिले मृतकको संख्या पुन: मुल्यांकन गर्दै एक हजार दुई सय ९० बढाएको हो।

वुहानमा यसअघि मृतकको संख्या दुई हजार पाँच सय ७९ थियो। यो संख्या बढेर तीन हजार आठ सय ६९ पुगेको हो।

अधिकारीहरुले संक्रमण भए पनि अस्पताल नपुगी मृत्यु भएकाहरु र कोभिड-१९ को लक्षण नदेखिइ मृत्यु भएकाहरुको संख्या सुरुवाती चरणमा गणना हुन नसकेको भन्दै अध्ययन गर्दा छुटेका एक हजार दुई सय ९० पनि कोभिड-१९ बाट मृत्यु भएको जानकारी दिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यता चीनले विभिन्न शहरमा लक्षणविनाका संक्रमितको तथ्यांक संकलन गर्न इपिडिमियोलोजिकल सर्भे सम्पन्न गरेको छ।

वुहानमा मात्र दुई लाख ७० हजार बढीको न्युक्लिक एसिड टेस्ट सम्पन्न गरेको चाइना डेलीले जनाएको छ। जसमध्ये १८२ मा कोभिड-१९ को संक्रमण देखिए पनि उनीहरुमा लक्षण भने देखिएको छैन।

कोभिड-१९ ले सबैभन्दा बढी प्रभावित वुहानमा अप्रिल ८ देखि अप्रिल १५ सम्म सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा सहभागीहरुको न्युक्लिक एसिड टेस्ट गरिएको थियो। यो संख्या दुई लाख ७५ हजार चार सय रहेको थियो। जसमध्ये एक सय ८२ मा लक्षण विना कोभिड-१९ को संक्रमण देखिएको जनाएको छ। जुन संख्या १० हजार जनामा ६.६ हो। वुहान म्युनिसिपल हेल्थ कमिसनका अनुसार लकडाउन पछि काममा फर्किएका कामदार तथा वुहानबाहिर काममा जाने तयारीमा रहेकाहरुको परीक्षण गरिएको हो।

हाल वुहानमा ५३ वटा न्युक्लिक एसिड टेस्ट गर्ने ५३ वटा संस्थाले दुई सय ११ स्थानबाट नमुना संकलन गरिरहेका छन्। यहाँ दैनिक चालिस हजार जनाको टेस्ट गरिँदै आएको छ।

यसरी लक्षणविना संक्रमित देखिएकाहरुको रिपोर्ट तयार गरी २४ घण्टाभित्र उनीहरुलाई संक्रमण गराउनेहरुलाई समेत ट्रेस गरिएको छ।

चीनको स्टेट काउन्सिलले लक्षण विनाका संक्रमितहरुलाई १४ दिनसम्म स्वास्थ्य अधिकारीहरुको निगरानीमा क्वारेन्टाइनमा राखिने र लक्षण देखिए कन्फर्म केसका रुपमा राखेर उपचार गरिने मापदण्ड बनाएर सर्वेक्षण गरिरहेको छ।

१४ दिनसम्म कुनै लक्षण नदेखिए र दोस्रो न्यक्लिक एसिड टेस्टमा नेगेटिभ देखिए उनीहरुलाई निगरानीबाट निकालिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell