PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

थानकोटमा फेरि थपिए घर जान हिँडेका २ सय, अब गर्ने के?



प्रकाश भण्डारी

थानकोटमा फेरि थपिए घर जान हिँडेका २ सय, अब गर्ने के?

काठमाडौं : देशका विभिन्न भागबाट पैदल यात्रा गर्दै आएका २ सय बढी थानकोटमा जम्मा भएका छन्।

सांसदहरुको रोहवरमा हिजो ३ सय भन्दा धेरैलाई बसमा चढाएर पठाइएपछि फेरि २ सय भन्दा बढी त्रिभुवन पार्कमा जम्मा भएको थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

'हिजो घर पठाएपछि फेरि २ सयजति जम्मा भएका छन्, ' उनले भने।

उनका अनुसार हिजो रातिपछि विभिन्न ठाँउबाट आएर पार्कमा बसेकालाई के गर्ने भन्ने बारमा कुनै निर्णय भएको छैन।

'अहिलेसम्म के गर्ने भन्नेबारे यकिन भएको छैन। छलफलमै छौं,' श्रेष्ठले भने।

उनीहरु जम्मा भएको ठाउँ चन्द्रागिरी नगरपालिकामा पर्छ। तर, नगरपालिका यसरी मानिसहरुलाई राख्न तयार छैन।

चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरीले थानकोटमा उनीहरुलाई राख्न नसकिने बताए। उनले सयौं मानिसलाई राख्दा नगरपालिकालाई खतरा हुने बताए।

'हिजो पनि चार सय मान्छेलाई राख्न सकिँदैन यसमा मेरो संलग्नता छैन भनेको थिएँ। पछि माननीयले घरतिर पठाइदिनु भयो। फेरि पनि नगरपालिका भित्र राख्न सकिँदैन,' उनले भने।

आज बस्ने उपत्यकाका मेयरको बैठकमा अलपत्र परेकालाई घर पुर्‍याउनुपर्ने कुरा राख्ने बताए।

'दुई चार सय मान्छेलाई राख्दाखेरि समस्या आउने देखियो। भोलि समस्या आयो भने कसले जिम्मेवारी लिने?,' उनले भने, 'भोलि केही भइहालेमा जिम्मा लिने त नगरपालिकाले हो। त्यसैले राख्न सक्दैनौं भनेका हौं।'

धेरै नगरपालिकाका मान्छेहरु आएर एउटै ठाउँमा बस्दा विकराल अवस्था आउने गिरीको भनाई छ।

उनले चन्द्रागिरीमा कोरोना परीक्षण गर्दा कसैलाई अहिलेसम्म पोजेटिभ नदेखिएकाले संक्रमण नभएको बताए।

'हामीले त संकास्पद सबैको चाज गरेका छौं। तयारीका हिसाबले पनि हामीले सबै तयारी गरिसक्यौं। त्यसैले अहिले सुरक्षित भएको ठाउलाई असुरक्षित त बनाउनु भएन नि,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell