PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा लडिरहेका ट्याक्सी चालकको स्टोरी : चिकित्सक र स्वास्थ्यकर्मीलाई नि:शूल्क सेवा



विधुर ढकाल

कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा लडिरहेका ट्याक्सी चालकको स्टोरी : चिकित्सक र स्वास्थ्यकर्मीलाई नि:शूल्क सेवा

काठमाडौं : कोभिड-१९ का कारण विश्व नै लकडाउनमा छ। हालसम्म २३ लाख २९ हजार बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। यसबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार सात सय १७ पुगेको जोन हप्किन्स विश्व विद्यालयको तथ्यांकमा उल्लेख छ।

संक्रमण फैलिँदै गर्दा अस्पताल भरिएका छन्। अस्पतालसम्म संक्रमित तथा शंकास्पद विरामीलाई पुर्‍याउनलाई एम्वुलेन्सहरु अभाव भएका छन्। नेपालमा त कस्तो सम्म भने एम्वुलेन्सका चालकहरुले अस्पतालमा विरामी मुर्‍याउन मानिरहेका छैनन्।

एम्वुलेन्स चालकहरुले संक्रमितहरुलाई ओसार्न नमानेपछि शंकास्पद विरामी आफै मोटरसाइकल चढेर अस्पतालसम्म पुगेका छन्।

तर, कतिपय देशमा त्यहाँका ट्याक्सी चालकहरु कोभिड-१९ विरुद्धको यो लडाइमा अग्रपंक्तिमा खटिइरहेका छन्।

यस्तै देश मध्ये स्पेन पनि एक हो।

स्पेनमा सरकारले मार्च १४ देखि आपतकालको घोषणा गर्‍यो। यससँगै शहरमा मुर्दा शान्ति छायो। व्यवसाय ठप्प भए। राइड सेयरिङको क्षेत्रमा काम गरिरहेको ट्याक्सी व्यवसाय पनि धारासायी बन्दै गयो। ९० प्रतिशतसम्म यात्रु घटे। मड्रिड शहरमा मात्र १५ हजार यस्ता ट्याक्सी सञ्चालनमा थिए। उनीहरु धारासायी भए। चालकहरु आर्थिकसँगै स्वास्थ्य संकटबाट पनि गुज्रिरहेका छन्।

दैनिक गुजारा चलाउन १६ घण्टासम्म काम गर्ने गरेका उनीहरुले अहिले दैनिक ४० युरो कमाउन पनि हम्मेहम्मे परेको छ।

यहाँ सञ्चालनमा रहेका उबर, क्याविफाइ जस्ता सेयर राइडिङ कम्पनीहरु पनि धारासायी बन्दै गएका छन्। तर, त्यहाँ यस्ता चालकहरु पनि छन् जो संक्रमितहरुको सेवामा नि:शूल्क खटिइरहेका छन्। उनीहरुले स्वास्थ्य अधिकारीहरुलाई संक्रमितहरुको घरसम्म पुर्‍याइरहेका छन्। मड्रिडमा रहेका २ सय ६६ क्लिनिकहरुमा उनीहरुले सेवा दिइरहेका छन्।

आवश्यक परे संक्रमितहरुलाई अस्पतालसम्म पुर्‍याइरहेका छन्, नि:शूल्क नै।

यस्तै एक ट्याक्सी चालकलाई अस्पतालका कर्मचारीहरुले पनि 'सर्प्राइज' दिएका छन्। चालकलाई अस्पतालमा विरामी लैजानका लागि भनेर बोलाइयो। चालक अस्पतालको ढोकादेखि अरु दिन जस्तै छिर्दै थिए। अस्पतालका कर्मचारी तथा चिकित्सकहरुलाई उनलाई तालीले स्वागत गरे।

उनी केही समय अलमलमा परे। आँखा भरिए। अस्पतालका कर्मचारीले उपहारसहित पैसाले भरिएको दुई वटा खाम दिए।

'यो हामीले चालकलाई दिएको सर्प्राइज थियो। उनले अस्पतालसम्म विरामीलाई नि:शुल्क पुर्‍याउँदै आएका थिए। हामीले उनीहरुलाई पैसासहितको खाम दियौं। उनको लगनशीलतालाई सम्मान,' अस्पतालका एक कर्मचारीले भनेका छन्, 'हामीले उनलाई विरामी लैजानका लागि बोलाएका थियौं। यो सम्मान पाउँदा उनका आँखाबाट आँशु झरिरहे।'

स्पेनमा ट्याक्सी चलाउनेहरु विदेशबाट गएका नागरिकहरु छन्।

पाकिस्तानका सेर्जा सैयद कामबाट घर फर्किएपछि कोरोना भाइरसकै डरका कारण आफ्ना तीन सन्तान र श्रीमतीलाई अंगाल्न सक्दैनन्। तर, पनि उनले ट्याक्सी चालकको रुपमा उच्च जोखिमको काम गरिरहेका छन्। उनीसहित यहाँ १ सय ९५ जना पाकिस्तानी ट्याक्सी चालकहरुले स्पेनको अर्को शहर बार्सिलोनामा स्वास्थ्यकर्मीहरुलाई नि:शूल्क सेवा दिइरहेका छन्।

मध्य मार्चमा स्पेनमा लकडाउन सुरु भएसँगै ६ जना पाकिस्तानी ट्याक्सी चालकहरुले यो अभियान थाले शहबाज अहमदको नेतृत्वमा। अहिले यो समूहमा झण्डै दुई सय स्वयंसेवक जोडिन पुगेका छन्।

उनीहरुले आफ्नो सम्पर्क हरेक अस्पतालमा छाडेका छन्। अस्पतालका कर्मचारीलाई आवश्यकता अनुसार उनीहरु सेवामा हाजिर हुन्छन्।

'स्वास्थ्यकर्मीहरुले घण्टौं काम गर्छन्। हामीले देख्यौं उनीहरु सार्वजनिक यातायात चढेर अस्पताल गइरहेका थिए,' यस्तै स्वयंसेवी चालक असिम गोन्डलले भने, 'उनीहरु मानवताको लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका छन्। यही कारण हामीले पनि उनीहरुलाई सेवा दिने सोच बनायौं। ता कि उनीहरुले सार्वजनिक यातायातमा खर्च गर्ने समय सेवामा खर्च गर्न सकुन्।'

उनी २० वर्ष देखि स्पेनमा बस्दै आएका छन्। उनलाई अब यो आफ्नै घर जस्तै लाग्छ।

चालकहरुले सुरक्षाका उपायहरु अपनाउँदै आएका छन्। उनीहरु मास्क लगाउँछन्। ग्लोब्स लगाउँछन्। कारलाई डिसइन्फेक्ट गर्छन्।

'हामीसँगै काम गर्नेहरु अस्पतालमा उपचार गराइरहँदा डर त लाग्छ नै। कतिपयले त मसँगै पनि खाएका थिए,' सैयदले भने। यहाँ पाँच जना पाकिस्तानी ट्याक्सी चालकलाई सुरुवातमा कोभिड-१९ को संक्रमण देखिएको थियो। उनीहरुले आफ्नो सेवा अन्त्यसम्म लैजाने बताएका छन्।

उनीहरुलाई हालसम्म कसैले पनि आर्थिक सहयोग गरेको छैन। उनीहरु आफ्नै खर्चमा यो सबै काम गर्दै आएका छन्। यसरी काम गर्नेहरु स्वरोजगार हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell